Friday, July 13, 2018

विपश्यना (आफैँलाई प्रेम गर्ने साधना)

 
             
पृष्ठभुमी
उसले धेरै दिन मलाई अनलाइन देखेन । अनि मेसेज गरेको रहेछ ।
ऊ – पे्रमिका जी ! कता हराउनुभयो ?
उसले कहिले पठायो म्यासेज थाहा भएन । अनलाईन आउनेबित्तिकै रिप्लाई गरे । हम ।
उसले मेसेज गर्यो । भुत ......................... भुत.....
धेरै पछि रिप्लाई गर्दा ऊ यसै भन्छ मलाई । राती अनलाईन देखे पनि यसै भन्छ ।
म – मुसुक्क हाँस्दै लेख्छु हाहा ।
ऊ – यत्रो दिन कता प्रेमिका जी ?
ऊ प्रेमी हुनुको हक जोताउँदै भन्छ ।
म –विपश्यनामा थिए ।
ऊ – विपश्यना ? विपश्यना भनेको ?
म – मेडिटेशन ।
ऊ – आश्चर्यचकित भएको इमो पठाउँछ । मेडिटेसन गर्न कता जानुभाको थियो ?
म – खासमा मलाई यस्तो प्रश्नमा अल्झनु थिएन । लेखेँ । मिसिङ यु ब्याड्ली ।
ऊ – अलि खरो म्यासेज गर्छ । कता जानुभाथ्यो भनिराछु । कता जानुभाथ्यो मेडिटेशनको लागि ।
म – म उता शिवपुरी
ऊ – को सँग गाको ?
म – सायद प्रेमी हुनुको अस्तित्वबोध गरिराछ कि उसले । मनमनै सोच्छु । अनि गह्रौ मनले टाइप गर्छु एक्लै ।
ऊ – शिवपुरी भनेको कता हो ?
 प्रश्नको झटारो फालिराख्छ मलाई ।
म – प्रभु ! हजुर आइस्यो न ल । म घुमाउँछु बरु । काठमाडौँ भित्रै हो । दिक्क लाग्छ उसको प्रश्नले ।
ऊ – मलाई लाग्यो पर छ होला । शिवपुरी नेशनल पार्क सुन्या छु के ।
ऊ दिमागमा रहेको रहेलपहेल सुचनाको आधारमा भन्छ ।
म – उम । त्यहीँ नजिकै ।
ऊ – ल ल । अब त धार्मिक अनि ध्यानस्थ हुनुभएछ ।
म – उम । तिम्रो मायाले यस्तो गरायो ।
ऊ – वैरागी जीवनप्रति लगाव बढ्यो होला नि अब त ।
म – प्रेमी टाढा भएसी बढ्ने भयो नै ।
ऊ – अब मान्छेप्रति माया जाग्दैन त तपाईलाई । ईश्वर र परमात्माप्रति मात्र माया, श्रद्धा र आस्था जाग्छ ।
म – अत्ति के । जेपिटी सोच्न नपाई ।
ऊ – हो के । हामीलाई नास्तिक नसम्झनु है ।
मलाई तनाव बढिराथ्यो दही खाएर । मैले उसलाई मख्ख पार्ने र छुट्टिने किसिमले म्यासेज गरे ।
म – हस् । माई लब । मिसिङ यु अ लट । टेक केयर ।
ऊ – अनि कि एउटा जिज्ञासा थियो । ध्यान गर्दा फेसबुक चलाउँन दिदैनन् शिवपुरीमा ?
अनलाईन आइराख्ने मान्छेलाई बाह्र दिन अनलाईन नदेख्दा उसलाई हुटहुटी भएछ सायद । चलाउँन दिएनन् या मैले चलाइन भनेर ।
म – नाई म दिदैँनन । दिक्क लागेर टाइप गर्छु ।
ऊ – मलाई फकाउने हिसाबले हासेँको इमो पठाउँछ र भन्छ । परम्परावादी रहेछ प्रेमिका जी !
म – हाहा । उम् के ।
ऊ – ल ल । जेसुकै होस् । यत्रो दिनपछि हाम्रो यो फेसबुकको संसारमा आइदिनुभो, हामी धन्य भएका छौ । अनि हजुरलाई स्वागत छ । बधाई छ ।
म – हस् । थ्याङ्क्यु ।
ऊ – वेलकम ।
म लामो सास फेर्छु । अब मज्जाले सुत्छु । टाउको दुखिराछ । म उसलाई लबको इमो पठाएर फेसबुक लग आउट गर्न खोज्छु । उसले फेरि म्यासेज गर्छ ।
ऊ – मरण अवश्यंभावी छ ।
म – उम ।
ऊ – किताबहरु पढ्दै हुनुहुन्छ ?
म – नाई । बल्ल त आउँदै छु ।
ऊ – हवस् । अनि त्यसरी मेडिटेशन गर्न किन जानुभयो ?
म – मन लाग्यो अनि ।
ऊ – कति दिन बस्नुभयो त्यहाँ ।
म – १२ दिन ।
ऊ – मेडिटेशन बाहेक अरु के गर्नुहुन्थ्यो त्यो ठाममा ?
म – मात्रै त्यहीँ ।
ऊ – अब वास्तविकतामा ध्यान गर्न सक्नुहुन्छ ?
केटा मान्छे त झन् शंकालु । म बाह्र दिन ध्यानमा गएर आए भनेर उसलाई पत्याउनै मुस्किल परिराछ ।
म – उम ।
ऊ – एक प्रश्न सोधे है प्रेमिका जी ! त्यसो भए । छोटकरीमा ध्यान के हो ?
म – आफुलाई प्रेम गर्ने साधना ।
ऊ – आफुलाई अप्रेम गर्ने साधना पो ध्यान हो त । आफैँले आफैँलाई प्रेम गर्नुभयो भने त ध्यान गर्नै सकिदैँन नि ।
उसलाई लागिराथ्यो म बाझुम् । तर्कवितर्क गरुम् । मलाई ऊसँग तर्क गर्नु थिएन । म खुबै जान्ने छु भनेर देखाउँनु थिएन । बस् त्यतिबेलाको आवश्यकता ओछ्यानमा पल्टनु थियो फेसबुक बन्द गरेर । मन त थियो लेख्न । हामी प्रेम आफैँलाई गर्छौ । तर प्रेम गर्ने पनि तरिका हुन्छ । हामी आफुलाई पनि प्रेम ठिक तरिकाले गर्न जान्दैनौँ र त दुखी छौ । मनमा यिनै कुरा खेलाए । अनि लेखेँ ।
म – हवस् ।
ऊ – हैन कुरा के हो ? ध्यान मेरो सधैँ चासोको विषय हो भन्नु न ।
ऊ जानीजानी अटेर गर्छ । उसलाई पनि थाहा छ मलाई बोल्ने मन छैन । र पनि तर्कवितर्क गरिदिम् म उसँग भन्ने चाहन्छ ।
म – भने त आफुलाई प्रेम गर्र्ने साधना ।
ठिकसँग आफैँलाई प्रेम गर्ने साधना लेखुम् जस्तो लागेर पनि लेखिन । फेरि ठिकसँग कसरी गर्ने भन्यो भने कुरा लामो भइजान्छ । म सकेसम्म छोट्याउने प्रयास गर्छु शव्दका भावहरु ।
ऊ – हवस् ।
ऊ जवरजस्ती हवस् भन्छ । सोध्न त उसलाई धेरै मन लागिराछ । म बुझ्छु । अनि लेख्छु ।
म – म तिमीलाई लामो म्यासेज लेखेर पठाउँछु बेलुकातिर । पर्खिए ।
ऊ – कस्तो म्यासेज ? ध्यान सम्बन्धी ?
फेरि आत्तुरी देखाउँछ ।
म – वेट न । अब चार घण्टा ।
मलाई सुत्न हतार थियो । ऊ अल्झाइराख्छ मलाई ।
ऊ – विषय पनि नभन्ने ।
म – नो ।
ऊ – एकैछिनमा भनिस्यो न त ल प्रेमिका जी !
म – उफ् । नो त्यतिबेलै ।
ऊ – ओके जस्ट वेटिङ ।
म – हासेँको इमो पठाउँछु ।
चारपाँच घण्टापछि ..........................
म आफुलाई तनाव महसुस गर्छु । दही खान हुन्नथ्यो । कति लापरबाही गरेको आफ्नै स्वास्थ्यप्रति । आफैँलाई गाली गर्छु । फेसबुक खोल्छु मन भुलाउने बाहानामा ।
ऊ – प्रेमिका जी ! तपाईले दिनुभएको चार घण्टाले डाँडा काटिसक्यो । अब पाऊँ त ।
म – सरी डियर । आज मलाई गाह्रो भाछ । स्टाटस त लेख्न सकिनँ दही खाथेँ दिउँसो । गाह्रो भयो ।
ऊ – के चाँही लेख्नुहुन्छ र ? अघि लङ म्यासेज पठाइदिन्छु भनेको के चाँही सब्जेक्ट हो ?
म – मेडिटेसन ।
ऊ – एई । स्टाटस राख्नलाई फेसबुकमा ?
म – नाई । तिम्रो लागि । तिम्लाई हो के ।
ऊ – पर्दैन । छोडिदिनु । टेक रेष्ट । टेक केयर ।
म – हस् ।
ऊसँगको यस्तो वार्तालापपछि मलाई लागिरह्यो विपश्यनाको बारेमा आफुले जानेको, बुझेको कुरा किन अरुलाई नसुनाऊ । शान्ती त सबैलाई चाहिएकै छ । आज लेख्नपर्छ भन्ने लाग्यो । शुभ काममा किन ढिलो गर्नु ? उसको जिज्ञासा, कौतुहलताले मलाई यति लेख्नैपर्छ भन्ने लाग्यो ।

विषय प्रवेश
विपश्यना भनेको विशेष प्रकारले हेर्नु भन्ने बुझिन्छ । विशेष प्रकारले हेर्नु भनेको के हो ? कसरी हेर्ने ? केलाई हेर्ने ? विपश्यना भनेको आफैँलाई हेर्ने एक कला हो । आफ्ना संवेदनालाई सचेत पुर्वक नियालिरहने अभ्यास हो । आफ्नो सासलाई जानिराख्ने मन्त्र हो । जिन्दगीको दौडमा हामी यति व्यस्त हुन्छौ कि हामीले सास तानिराछौ कि फालिराछौ भन्ने थाहा पाउँन बिरामी हुनैपर्छ । कि त सास फेर्न गाह्रो हुनुपर्छ । संसारको सबसे सजिलो काम सास फेर्नु हो । र गाह्रो काम पनि । जुन दिन सास फेर्दाफेर्दै सासले सास फेर्न रोकिन्छ हाम्रो दौड पनि समाप्त हुन्छ । हामीले आफुलाई नहेरी आफुलाई गुमाउँछौ ।
   विपश्यना आफैँलाई हेर्न सिकाउँने अभ्यास हो । आफैँलाई प्रेम गर्ने साधना हो । प्रेम पनि ठिकसँग गर्न जान्नुपर्छ । खाना खानेबेला जसरी सबै खानेकुरा ताजा, स्वास्थवद्र्धक र शरीरलाई चाहिने मात्रामा खानु जरुरी छ । ठिक त्यसैगरी प्रेम पनि मिलाएर गर्न जान्न पर्छ । आफ्नै शरीरलाई आभाष दिलाउन सक्नुपर्छ । प्रिय शरीर ! म साँच्चै तिमीलाई प्रेम गर्छु । अब रह्यो । आफैँलाई प्रेम ठिकसँग कसरी गर्ने ?
हामीलाई आफ्नो बारेमा के थाहा छ ? हामी आफ्नो नाम भन्न सक्छौ ? आफ्नो परिवारको बारेमा भन्न सक्छौ । आफ्नो प्राप्तिको बारेमा भन्न सक्छौ । प्रेमीले दिएको पीडा महसुस गर्न  सक्छौ । बुवाले दिएको गाली सम्झेर रुन सक्छौ । हाम्रो मन कोमल छ । हामी आफुलाई मन नपर्ने चीज भयो कि रुन थाल्छौ । हामी त्यसबेला आफुलाई खुप माया गर्छौ । बुवाले गरेर म दुखी भए । बुवा एकदम खराब छन् । बुढेसकालमा बुढालाई यसको सब बदला लिन पर्छ । यस्तै सोचेर मनलाई भुलाउँछौ । प्रेमीले छोडेको पीडाले रन्थनिएर खुप सराप्छौ उसलाई । साले ! मरे पनि हुने नि । प्रेमीले उसैगरी सराप्छ कस्ती राक्षस्नी रचे । मेरो सब पैसा खाइदिई । अहिले त मसँग बिहे गर्छु भनेर हत्ते गर्छे । सम्बन्धमा भएपछि त्यस्तो हुनु के नौलो भयो र ? जसको नि हुन्छ नि । प्रेम पो गर्छु भनेथेँ बिहे गर्छु त भन्या थिइनँ नि । कि त्यो मरोस् । कि बिहे भैजाओस् त्यसको । अनि बल्ल आनन्द हुन्छ । अनि हामी कतै बाइकमा हुइँकिरहेका हुन्छौ । एउटाले स्वाट्ठ बाटो काटिदिन्छ । हामी रिसले चुर हुँदै आफ्नो बाटो लाग्छौ । साला ! खुप हिरो पल्टदो रैछ । मिल्ने भए गएर झाप्पु हान्दिन्थेँ । कुन दिन मर्छ यो ।
हेर्नुस् त विचरा । आफैँसँग रिसाएर हानी गरिरहन्छौ हामी । र भ्रम छर्छौ खुप माया गर्छौ आफुलाई । हामी रिसाको अर्को मान्छेलाई थाहै हुदैँन र पनि रिसाइरहन्छौ । बुवाममी टाढा हुनुहुन्छ र पनि बुवाममीको गाली सम्झेर पटकपटक रुन्छौ हामी । प्रेमिका बिहे गरेर बच्चासँग रमाइरहेकी हुन्छे । हामी यता उसैको फोटो हेरेर दाह्रा किट्छौ । राक्षस्नी रचे । त्यसले छाडेसी अरु केटीहरु जिन्दगीमै आएनन् । के तन्त्रमन्त्र गरेर गइछे र हो ?
विचरी उसलाई थाहै हुँदैन उसको प्रेमी उसको फोटो हेरेर उसलाई सराप्दै छ । हामी दुखी कस्को कारणले भइराछौ ? एकचोटी आफैँलाई ननियाली । आफैँलाई नछामी कसरी थाहा हुन्छ ?
अब हामीले आफुले आफैँलाई कसरी छाम्ने ? आफुले आफैँलाई कसरी हेर्ने ?
हाम्रो सास आयो या गयो । बुझिराख्नपर्छ । जब तपाईलाई रिस उठ्छ । जब तपाई आफ्नी प्रेमिकालाई सुन्दर ड्रेसमा परैबाट देख्नुहुन्छ । या जागिरमा तपाईँको प्रमोसन हुन्छ । आफ्नै सासलाई हेर्नुस् त । आफनै सासलाई महसुस गर्नुस् त । जब तपाईले काम बिगार्नुहुन्छ । जब तपाई अध्याँरोमा एक्लै हिड्दा कतै ठोक्किनुहुन्छ । त्यतिबेला आफ्नो चलिरहेको सासलाई हेर्नुस् त । अनि तपाई सामान्य अवस्थामा पढिरहँदा आफ्नै सासलाई हेर्नुस् त । यहिँबाट फरक पाइहाल्नु हुन्छ । फेरि रिसाउँदा आफैँलाई छाम्नुस् त । रामराम कति तातो हुनुभाको हैन त ? जब सास स्वभाविक हुन्छ । फेरि आफैँलाई महसुस गर्नुस् । छटपटि छैन । बेचैनी छैन । कम्तीमा हामीले आफुलाई माया गर्छौ भने सासलाई त स्वभाविक बनाउन पर्यो नि त । हामी हाम्रो मुटुलाई कति दुख दिन्छौ । कहिले मुटुले लामो सास तान्नपर्ने हुन्छ । कहिले चिटचिट पसिना निकाल्ने गरी पम्प गर्न पर्ने हुन्छ ।
विपश्यना भनेको आफ्नो शरीरमा के भइराछ ? कस्ताकस्ता संवेदनाहरु भइराछन् । भनेर जान्ने अभ्यास मात्रै हो । यदि हामीले हामीभित्र के भइराछ भनेर खोजी नै गरेनौँ भने नियन्त्रण कसरी गर्न सक्छौ आफ्ना दुखलाई । हामी आफुलाई प्रेम गर्छौ भने यो तीन हातको शरीरभित्र कहाँकहाँ के के भइराछ बुझ्नैपर्छ । बुझिसकेपछि न किन भयो भनेर सोच्छौ त हामी । कसैले स्वाट्ठ बाटो काटेको कारणले हामी रिसायौ । अनि हामीलाई मन परेन शरीरले प्रतिक्रिया गरिहाल्यो । व्याकुल हुन्छ । सासले स्वभाविकता छोड्छ । शरीर तात्छ । विचरा हतार थियो होला । हतारमा उसको ज्यान नजाओस् । सोचम् त । फेरि शरीर चिसिन्छ । सास स्वभाविक भइहाल्छ । हामी दुखी पनि हुँदैनम् ।
विपश्यना गरेपछि हामीले आफुले आफैँलाई माया गर्न थाल्छौ । आफैँभित्र सुध्रन्छौ हामी । आफैँभित्र अध्यारो अनुभव गरेर बाहिर कहाँ पाइन्छ र प्रकाश । हामी आफैभित्र दुखी भएर बाहिर अरु खुशी देखेर रमाउन कहाँ सक्छौ र ?
लेखक गनेस पौडेल बेलाबेलामा स्टाटस लेखिरहनुहुन्छ । उहाँको एउटा स्टाटस मलाई खुप मनपर्छ – कहिलेकाहीँ आफैँलाई देखेर अति माया लाग्छ । कहिले अति दया लाग्छ । कहिले अचाक्ली रिस उठ्छ आफैँसँग । कहिले बेस्मारी घिन लाग्छ । देख्छु अरु मान्छेका सम्बन्ध अन्य व्यक्तिसँग तलमाथि भएका हुन्छन् तर मलाई भने आफैँसँगको सम्बन्ध सुधार्दैमा फुर्सद छैन । उफ् म र मेरो मसँगको सम्बन्ध ।
आफैभित्र हराउने मान्छेलाई आफैसँगको सम्बन्ध सुधार्दैमा फुर्सद हुन्न । विपश्यना भनेको आफैँसँगको सम्बन्ध बलियो बनाउने साधना हो । अभ्यास हो । आफुसँग सम्बन्ध राम्रो हुने मान्छेको बल्ल अरुसँग पनि सम्बन्ध राम्रो हुन्छ । आफैँभित्र खुशी मान्छेले मात्रै अरुलाई खुशी बनाउन सक्छ । हामीले केही कुरा दिदाँ हामीसँग जे छ त्यो पो दिन सक्छौ । नभएको कुरा कसरी दिन सकौँला र ? दुखी मान्छेले अरुलाई पनि दुख बाँढ्छ । आफु पनि दुखी हुन्छ । अरुलाई नि दुखी बनाउन चाहन्छ । मान्छेको स्वभाव फेरि अरुको दुख सुनेर खुप खुशी हुन्छ । यसलाई पनि त दुख रैछ भनेर । हाय ! मनुष्य लिला ।

शिविरभित्र मेरो अनुभव
    जब म विपश्यना गए । मैले आफैँलाई महसुस गर्न पाए । दश दिनसम्म आर्र्यमौन पालना गर्दा म आफैँभित्र खुप बोलिरहेकी थिए । आर्यमौन भनेको हातको इशाराले, आँखाको इशाराले, लेखेर, संकेत गरेर पनि अरुसँग बोल्न नपाउने भनेको हो । पुर्णरुपमा मौन । अरुसँग बोलेको पो देख्छन् मान्छेहरु । आफैँसँग बोल्न कस्ले रोकोस् । अरुसँग बोल्दाबोल्दा हामीलाई कहिले फुर्सद हुन्न । जब हामी आफैँसँग बोल्न थाल्छौ । अनि थाहा हुन्छ । आफ्नो वास्तविकता । हामी कति नराम्रो सोच्छौ अरुको बारेमा । कति स्वार्थले भरिएका छौ थाहा पाउँछौ । म दश दिनसम्म खुप बोले आफैँसँग । आफ्ना गुनासाहरु आफैँलाई सुनाए । आफ्ना पीडाहरु आफैँलाई बुझाए । आफ्ना बाध्यताहरु, असफलताहरु सबैसबै आफ्नै मनलार्ई सुनाए । खुप कुरा गरे आफैँसँग । साथमा सासलाई जानिराखे । आइराछ या गइराछ भनेर । जब रिसको कुरा सम्झन्थेँ । सास लामोलामो हुन्थ्यो । चिटचिट पसिना आउँथ्यो । जब बुवाममीको गाली सम्झन्थेँ सास छोटोछोटो हुन्थ्यो । मुटु कामेजस्तो हुन्थ्यो । फेरि म बुवाममीको माया सम्झन्थेँ कति बेला भेटुम् जस्तो हुन्थ्यो । खुप ढुकढुक हुन्थ्यो मन । व्याकुल हुन्थे । निसासिन्थेँ त्यो वातावरणमा । सास पनि खुप छिटो आउने जाने गरिरहन्थ्यो । सास आउँदा सासले स्पर्श गर्ने ठाममा पनि नियाल्थे । कहिले चिसो हुन्थ्यो । कहिले तातो । बस् जानिराख्थेँ । भनिएकै यहीँ थियो । सासलाई जानिरहनु । सासलाई जानीरहनुलाई आनापाना भनिन्छ ।
         तीनदिनसम्म आनापाना गरेपछि चौथो दिन विपश्यना सिकाइन्छ । विपश्यना गर्दा आँखा बन्द गरेर आफ्नो शिरमा के के भइराछ । अनुहारमा के के भइराछ भन्ने जान्न पर्छ । यसैगरी शिरदेखि पैतालासम्म जान्नपर्छ केके संवेदनाहरु भइराछन् । ती संवेदनाले हामीलाई पीडा दिइराछ कि सुविस्ता । त्यसरी बस्दा घरी टाउकोमा खस्य्राकखस्य्राक गथ्र्यो । घरी कमिलाले टोकेजस्तो लाग्थ्यो । टाउको छामी हेर्दा केही हुन्नथ्यो । यसैगरी अनुहारमा पसिना आएजस्तो कहिले सरसर भएजस्तो कहिले फटफट भएजस्तो हुन्थ्यो । शरीरमा जेजे भएपनि चुपचाप केही प्रतिक्रिया नगरिकन संवेदना हेरिरहे । कतिबेला सकिएन र प्रतिक्रिया गरे । भनिएकै यहीँ थियो । संवेदना हेर्दाहेर्दा कुनै संवेदना सुक्ष्म त कुनै स्थुल हुन्थे । पछि यी संवेदनाहरु धाराप्रवाहिक रुपमा महसुस हुन थाले । जब संवेदना हेर्दाहेर्दा मन दौडेर प्रेमीको काखमा अल्झन्थ्यो । या त प्रेमीले छोडेको पीडाले बल्झन्थ्यो । फेरि मन समातेर सास हेर्ने काममा लगाइरहन्थेँ । अनि जब सास हेरिरहन्थेँ फेरि संवेदना महसुस गर्थे । अनि संवेदना महसुस गरिरहन्थे । तीन हातको शरीरभित्र कहाँ कहाँ कता कता के के भइराछ भनेर । मन भड्कियो भने सास हेरिरहनु । सासलाई जानिरहनुपर्छ भनिएको थियो । त्यहीँ गरे । यसरी दश दिनसम्म विपश्यना गरेपछि दशौँ दिनको नौ बजेपछि मंगलमैत्री गर्न सिकाइन्छ । सबको मंगलको, भलोको कामना गरिन्छ । वातावरण नै खुशीले सुसेलीरहेजस्तो अनुभव भयो मलाई । दश दिन दश बजेपछि म आफैँभित्र यति शान्त भइसकेको थिए कि मलाई कसैसँग बोल्नु नै थिएन । बडो आनन्द महसुस गरिराथेँ । हल्का महसुस गरिराथेँ । अरुसँग बोलेर पो अशान्त हुन्छम् कि क्या हो जस्तै लाग्यो ।

शिविरपछिको परिवर्तन
म पहिले खुप रिसाउँथे । अहिले रिस एकदम कम उठ््छ । उठे पनि एकैछिनमा शान्त हुन सक्छु । अरुको कारणले आफैँलाई खुप सजाय दिन्थे म । अरुको हानीको बारेमा सोचिबस्थेँ । अहिले आफ्नै हानी हुन्छ भनेर सोच्छु । केही काम गर्न पर्यो भने खुप आत्तिन्थेँ । अहिले त्यतिधेरै आत्तिन्न । रिसाएको बेला आफ्नै सासलाई हेर्छु । अनि अस्वभाविक भयो भनेर फेरि शान्त हुन्छु । मैले पहिले पनि आफुलाई प्रेम गर्थे । तर ठिकसँग गर्दैनथेँ । अहिले आफैँलाई प्रेम गर्ने कला सिकेर आए जस्तो भइराछ । गुरु रविन्द« आनन्दलाई म सोधिरहन्थेँ – मलाई थाहा छ म गलत संगतमा छु । र पनि म यो त्याग्न सक्दिनँ क्यारुम ? उहाँ भन्नुहुन्थ्यो – जे हुन्छ हुन देऊ । तर आफुलाई नविर्सनु । नहराउनु । आफुलाई जानिरहनु ।
हामी कतिपय मान्छेहरु शान्त छौ । काममा यति व्यस्त हुन्छौ कि अशान्त रहन फुर्सद नै हुँदैन । त्यो भनेको मृत शान्ती हो । मसानघाटमा मान्छे उसै शान्त हुन्छ । असली शान्ती त्यो हो जुन काम गर्दागर्दै पनि मिल्छ । खाँदाखादैँ मिल्छ । हिड्दाहिड्दै मिल्छ । हामीलाई पानीको प्यास लागेको छ । दही, मोही खाएर केही छिनलाई प्यास त मेटिएला तर पानी त चाहिन्छ नै ।
विपश्यना भनेको गौतम बुद्दले पच्चीस सय वर्ष अगाडि पत्ता लगाएको विद्या हो । जुनको वर्णन पुरानो धर्मग्रन्थ ऋग्वेदमा पनि पाइन्छ । मान्छे आफैँभित्र प्रवेश गरेर भित्रको सत्य जान्नु नै विपश्यना हो । यो एकप्रकारको ध्यानविधि हो । ध्यान भनेको एकाग्र हुनु हो । आफैँभित्र लीन हुनु हो । आफैँभित्र हराएको मस्त मान्छेले जोडि खोज्दै हिड्दैन । ध्यान भनेको आफैँलाई पुर्ण गराउने अभ्यास हो । धर्म भनेको सार्वजनिक हुन्छ । न त्यो बौद्ध हुन्छ । न हिन्दु । धर्म भनेको प्रकृतिको नियम हो । हामीले अरुको कुभलो सोच्ने बित्तिकै प्रकृतिले हामीलाई दण्ड दिन सुरु गरिहाल्छ । हामी व्याकुल हुन्छौ । अरुको भलो सोच्ने बित्तिकै प्रकृतिले हामीलाई पुरस्कार दिन सुरु गरिहाल्छ । हामी आनन्दित रहन्छौ । प्रकृतिको नियमलाई बुझौँ ।

अन्तमा,
  हामी कहिलेकाहीँ बडो खुशी हुन्छौ । बडो आनन्दित हुन्छौ । जस्तै परीक्षामा टप भइयो रे । त्यो खुशीको झिल्का कहाँबाट आउँछ र लुप्त हुन्छ फेरि ? जब आत्मा निर्मल हुन्छ । खुशीको प्रकाश हाम्रो मनसम्मै आइपुग्छ । विपश्यना मनलाई निर्मल बनाउने, आत्मालाई निर्मल बनाउने साधना हो । आफैँलाई खुशी राख्ने अभ्यास हो । हामी आफैँलाई प्रेम गरौँ । आफैँमा मस्त रहौँ । आफ्नो मंगल गर्नेले मात्रै अरुको मंगल गर्न सक्छ । भलो गर्न सक्छ ।
सबको मंगल होस् । भलो होस् ।
भवतु सब्ब मंगलम् ।

If You want : (Go to link )
https://www.onlinekhabar.com/2018/07/690916?utm_source=Facebook&utm_medium=fbshare







2 comments: