Wednesday, August 19, 2020

बुवाकी राजकुमारी

 


यो विशाल ब्रम्हाण्ड बुवाकै फैलावट लाग्छ । संसारमा भएका सबै पुरुषमा कतै न कतै बुवाको अंश छ भन्ने लागिरहन्छ । त्यसकारणपनि म कसैलाई झट्टै खराब भनेर इन्कार गर्न सक्दिनँ । केही वर्ष अगाडिसम्म म यस्तो सपना बारम्वार देखिरहन्थेँ– म प्रेमीको अँगालोमा बाँधिएको हुन्थेँ या उसको नजिकै पुगेर चुम्बन गर्न खोज्दै हुन्थेँ । त्यसबेला प्रेमीको स्वरुप बदलिएर बुवाको स्वरुप देखिन्थ्यो । म झसङ्ग हुँदै ब्युँझन्थेँ । राती प्रेमीको कल्पना गरेर सुत्यो, सपनामा ऊ मेरो पिताको रुपधारण गरेर किन धम्क्याउन आइराख्थ्यो मैले कहिल्यै बुझिनँ । अहिलेपनि कुनै पुरुषको कल्पना गरेर निदाउने आँट गर्नै सक्दिन । धन्न, मैले सपना नदेखेको वषौं भइसक्यो । सपना नदेख्दा भने आनन्द भएको छ ।

बुवाको डर कति लाग्छ भन्ने मसँग कुनै जवाफ छैन । बुवा नजिक भएपनि टाढा भएपनि उहाँसँग लाग्ने डर र उहाँको कारणले लाग्ने आड उस्तै छ । दुरीले प्रेममा केही फरक पर्दैन । प्रेम कसैसँग भएको छ भने मलाई बुवासँगै भएको छ । मैले बुवालाई कहिल्यैपनि दुख पर्दा सम्झिएर रोएको याद छैन तर ओठमा मुस्कान हुने बित्तिकै मलाई उहाँको सम्झना आउँछ । उहाँलाई मेरो मुस्कान र चञ्चलपन कति प्रिय लाग्ला भन्ने लागिरहन्छ ।

कुनै प्रसङ्ग विशेषले मैले ट्वीटरमा यस्तो लेखेको थिए, ‘एउटा पिताले आफ्नी छोरीलाई भन्दा बढी प्रेम उसकी प्राणप्यारी प्रेमिकालाईपनि गर्दैन । तिमीले मेरो मन दुखाउनु अघि विचार गर्नु, म कसैकी छोरी हुँ ।’ एउटा पिताको लागि छोरी नै सर्वस्व हुन्छे । जब छोरी ठूली हुन्छे, उसले प्रेमी वा श्रीमान्मा पिताको प्रेम खोजिरहेकी हुन्छे । माथि मैले भनेको सपनाले मेरो अवचेतन मनमा रहेको बुवाप्रतिको प्रेम नै प्रेमीमा खोजिरहेको हो भन्ने लाग्छ । छोरीलाई कमजोर बनाएर उसको आँसु पुछिदिने बुवाहरु मेरालागि कहिल्यै प्रियकर लागेन । ‘छोरी भएरपनि रुने ?’ भन्ने संस्कारमा बुवाले हामीहरुलाई हुर्काउनुभयो ।

हाम्रो आँशुलाई जस्तो बुवाले आमाको आँसुलाई कहिल्यै अपशकुन मान्नुभएन । बुवालाई ममी सधैँ कमजोर भएकै मनपर्छ भन्ने कुरा मैले विस्तारै बुझ्न थालेँ । बुवाले हामीलाई कहिल्यै केही कुराको कमी हुनदिएको महशुस अहिलेसम्मै मैले गर्न पाएको छैन । जीवनमा म केही व्यक्तिको लागि असल र कामलाग्ने बन्न सकेछु भने बुवाकै कारण हुनेछ । केही काम नलाग्ने भएछु भने त्यसको अभिभारा म आफैँ लिन्छु । बुवाले दिएको स्वतन्त्रता, प्रेम र अभिभावकत्वप्रति म सधैँ ऋणी छु । बुवाको छत्रछायाँमा रहनपाउँदा म ढुक्कको महसुस गर्छु । तर के आमाले मैले जस्तै महसुस गर्नुहुन्छ ? मैले यस विषयमा केही वर्ष अघि आमालाई सोधेको थिएँ ।

छोरी भइन्जेल बुवाको काखमा लुटुपुटु गरिरहने र विवाह भएपछि बुवाकै केही अंश बोकेका ससुरा, लोग्ने, देवर वा भनौँ पितृसत्तात्मक समाजले गर्ने व्यवहारले मलाई कहिल्यै कसैकी श्रीमती बन्ने आँट दिँदैन । बुवाकी राजकुमारी बनेर बसिरहेकी म कसरी श्रीमान्को नोकर्नी बन्नु ? मेरा आमा, हजुरआमा कहिल्यै मालिक्नी बन्नुभएन ।

‘आमा तपाईंलाई बुवाले माया गर्नुहुन्छ ?’

‘तिमारुलाई गरे भयो नि । मलाई किन गर्नुपर्यो ?’

सोध्न मन लागेको थियो ‘तपाईंलाई माया चाहिँदैन र ?’ तर मनमै रोकेँ । आमाको उत्तर मलाई केही अनौठो लाग्यो । त्यही दिनदेखि मैले बुवामाथि शंका गर्न सिकें । बुवा आफैँपनि भन्नुहुन्थ्यो, सन्देह गर । प्रश्न गर । जसले जे भन्यो, चुपचाप मान्ने काम नगर ।

बुवालाई मैले यति धेरै आदर्श मान्थेँ कि बुवालाई कुनैदिन छोरीको नजरबाट गिर्नुपर्छ को पीडा महसुस भयो होला । त्यही भएरै पटक–पटक भन्नुहुन्थ्यो, ममा कमजोरी छ । मान्छे कमजोरीसहितै जन्मन्छ । तर उहाँ कमजोरी सुधार्ने क्रममा हुनुहुन्छ भन्ने मलाई जहिल्यै लाग्छ ।

घरमा बिहेको कुरा चलेपछि मेरो डर भनेको सुहागरातको बेलामा गर्नैपर्ने यौनक्रिडा र कुमारित्वको जाँचको बारेमा थियो । मैले डराइ–डराइ आमालाई सोधेँ– ‘तपाईंले बिहे गरेको कति दिनपछि….. मतलब भित्रिएकै दिन बुवासँग सुत्नुभयो हो ?’ पहिला त आमा भन्न अन्कनाउनुभयो अनि पछि अलि लाज मानेझैँ गरी भन्नुभयो– ‘तीन महिनापछि बल्ल हो, कहाँ अहिलेजस्तो समय थियो र त्यो ?

मनमा गडिरहेको अर्को प्रश्न सोधेँ–

म– हप्तामा या महिनामा कति दिन सँगै … ?

आमा– तेरो बुवा भगवान् हुन् । अरुको कस्तो कस्तो सुनिराख्छु । मैले त्यस्तो भोग्न पाएकै छैन । के नचाहिने कुरा गरिरा ?

म– भन्नु न ?

आमा– हप्तामा एकचोटी ।

म– तपाईंलाई मन हुन्छ ?

आमा– बुढोलाई मन भएपछि गर्नु परेन त ? तेरा बाऊ आनन्दका छन् । कतिले जबरजस्ती गर्छन् । हप्ताको एकचोटी त हो नि । दिनकै कति चोटी चाहिन्छ लोग्नेमान्छेलाई । बिहे गरेपछि मान्नैपर्यो । नभए….निस्केर जा भन्छन् । के भयो र उनीहरुलाई ? धन्न तेरा बाऊ..

प्रष्टसँग सोध्न मन थियो, हप्तामा एकचोटीचाहिँ बुवाले जबरजस्ती गर्छन् हो ? मआफैँ भित्रबाट कापेँ । मेरा बा ले कहाँ त्यस्तो गर्लान् । छोरीहरुले खोकेको सुन्नपर्दा भुइँचालो आएजस्तो मान्ने, आँखाबाट आँसु झर्दा रगताम्य भएजस्तो गर्ने बाबुले कसरी आफ्नी जीवनसंगिनीलाई दुख दिन सक्लान् ? यो कुरा मेरो कल्पनाभन्दा बाहिरको थियो ।

हामीलाई सधैँ राजकुमारी बनाएर हुर्काएपनि आमाले महारानीको हैकम कहिल्यै जमाउन पाउनुभएन । सधैँ नोकर्नीको भूमिकामा वैवाहिक जिन्दगीका २४ वर्ष बिताउनुभयो । के छोरीका लागि जिन्दगी नै समर्पित गर्ने पिता आफ्नी जीवनसंगिनीको बारेमा त्यति कठोर हुन्छन् ?

सत्र, अठार वर्षमै बिहे गर्ने मेरा संगीहरुलाई यौन चाहना महिलाकोपनि हुन्छ भन्ने थाहा छैन । उनीहरुले बच्चा तीन, चार वर्षको बनाइसके । जिन्दगीको महत्वपूर्ण र आवश्यक पाटो यौन आनन्दपनि हो तर यो आनन्द पुरुषले मात्रै महसुस गरेका छन् । महिलाको चाहना नहुँदा नहुँदै गरिएको यौनक्रिडाले कस्तो आनन्द दिन्छ म जान्दिनँ ।

म नौ कक्षामा पढ्दा एकजना साथीले मेरो कानमा आएर चर्कोसँग कराएको थियो । त्यो दिन म रुदैँ घर पुगें । बुवाले उल्टै दुई झाप्पु हानेर त्यो केटालाई त्यसरी नै हान्नको लागि भन्नुभएको थियो । ‘त्यो नाथे, चिचिलालाई मर्नेगरी हान्न सकिनस् र रुदैँ आएकी ? शिक्षकलाई गुहार्ने, साथीलाई गुहार्ने होइन । मर्नेगरी बजाइदेन । मरिहालेछ भने म जिम्मा लिउँला तर पिन्चे भएर मेरो अगाडि देखानपर ।’ बुवालाई उहाँकी प्राण प्यारी राजकुमारीको आँसुले धेरै नै रिस उठाएको थियो । मेरो आँखामा आँसु देख्यो कि उहाँ कहिलेकाहीँ खाँदाखाँदैको खानापनि हुर्‍याइदिनुहुन्थ्यो ।

तर आमालाई भने उहाँले पटक–पटक दुखाइरहनुहुन्थ्यो । उहाँ रोएकोमा बुवालाई खाना नरुच्ने कहिल्यै भएन । खाना हुर्‍याइदिने कहिल्यै गर्नुभएन । बरु आमाको रुवाइले बुवाको अहमतालाई मल्हमको काम गथ्र्यो होला क्यार !

म भित्र कोठामा बसेर पढिरहेको थिए । दिदीको साथी कुरा गर्न आउनुभएको थियो । उहाँले दिदीलाई भन्नुभएको थियो, अरु बेला असाध्यै असल छन् मेरा बुढा तर ओछ्यानमा पुगेपछि उनलाई के हुन्छ के ? मनपरी गर्छन् ? शुरुमा त असाध्यै गाह्रो भएको थियो, अहिले त बानी परिसक्यो मलाई त । आफूलाई गर्न मनै हुँदैन तर लोग्नेमान्छेको मनै त्यसैमा अडिएको हुँदो रहेछ ।

मैले यसपछि बुवाजस्तै प्रेमी पाउने सपना त्यागिदिएँ । बुवा सबैलाई प्रिय लागेजस्तै प्रेमी वा श्रीमान किन प्रिय लाग्दैन होला ? विवाह गर्ने, साथसाथ बिताउने रहरले मलाई लोग्ने मान्छे देख्नेबित्तिकै डराउनपर्ने हुनसक्छ भन्ने जहिल्यै लाग्छ । बुवालाई आदर्श देखाउने काम आमाले नै गर्नुहुन्छ । आमाले बुवाका बारेमा आजसम्म नराम्रो भनेको याद छैन । सधैँ भगवान् भन्नुहुन्छ । तर मलाई बुवा भगवान लागेन । आमाका कुनै ईच्छाको कदर नहुने, बुवाको ईच्छा मात्रै सर्वोपरी हुने ?

‘तेरी आमाले मेरो अत्याचार नसहेकी भए कहाँ यस्तो हुन्थ्यो हाम्रो परिवार ?’ बुवालाई अत्याचार गरेको थाहा छ । पुरुष भएको घमण्ड बोकेकोपनि थाहा छ तरपनि बुवाको ममीप्रतिको व्यवहार सधैँ उस्तै देख्छु । कतिलाई पुरुष भएको कारणले पाएको छुटले महिलामाथि आफूले गरिरहेको अत्याचारको बारेमापनि थाहा हुन्न । आमा माइतमा रहँदा बुवाकी प्यारी हुनुहुन्थ्यो । छोरीले दुख नपाओस् भनेर उहाँको बुवाले गरेका संघर्षका कथाहरुको ठेलीपनि विशाल छ । तर, आमाको आमा फेरि उस्तै अत्याचारमा पर्नुभएको थियो । छोरी भइन्जेल बुवाको काखमा लुटुपुटु गरिरहने र विवाह भएपछि बुवाकै केही अंश बोकेका ससुरा, लोग्ने, देवर वा भनौँ पितृसत्तात्मक समाजले गर्ने व्यवहारले मलाई कहिल्यै कसैकी श्रीमती बन्ने आँट दिँदैन । बुवाकी राजकुमारी बनेर बसिरहेकी म कसरी श्रीमान्को नोकर्नी बन्नु ? मेरा आमा, हजुरआमा कहिल्यै मालिक्नी बन्नुभएन ।

सत्र, अठार वर्षमै बिहे गर्ने मेरा संगीहरुलाई यौन चाहना महिलाकोपनि हुन्छ भन्ने थाहा छैन । उनीहरुले बच्चा तीन, चार वर्षको बनाइसके । जिन्दगीको महत्वपूर्ण र आवश्यक पाटो यौन आनन्दपनि हो तर यो आनन्द पुरुषले मात्रै महसुस गरेका छन् । महिलाको चाहना नहुँदा नहुँदै गरिएको यौनक्रिडाले कस्तो आनन्द दिन्छ म जान्दिनँ । यसैलाई बहादुरीको हतियार बनाएर नेपाली समाज अगाडि बढिरहेकै छ । एउटा पिताले आफूले श्रीमतीप्रति गरेको अत्याचारले गर्दापनि छोरीलाई बिहे गरोस् भन्ने फिटिक्कै चाहन्न । उसलाई थाहा छ, सबै पुरुष ऊजस्तै ढोँगी हुन्छन् । आफ्नी छोरीलाई प्राणभन्दा धेरै प्रेम गर्ने र बिहे गरेर ल्याएकी अर्काकी छोरीमाथि सधैँ पुरुषत्वको अहम् र बहादुरीता देखाइरहने कारणलेपनि उसले छोरीले बिहे गरोस् भन्ने चाहँदैन ।

पुरुषलाई म पिताको रुपमा सधैँ सम्मान गर्छु । सन्तानलाई बनाउन गरेको उसका संघर्षलाई कर्तव्यको पासोमा हालेर बाध्यात्मक र तुच्छ मानियो । बुवाका संघर्ष अनि आमाले बुवालाई आदर्श देखाउन गरिरहने नाटकमा समाज यति अभ्यस्त भइसक्यो कि यो हाम्रो संस्कार बनिसक्यो । आमाले बुवाले गरेका कर्तुतहरु किन खोल्दिनन् ? तेरो बुवा भगवान् हुन् नभनेर बुवाको अत्याचार छोराछोरीलाई बताउने बित्तिकै कति परिवारहरु ध्वस्त होलान् ? कति सन्तानको मन टुक्रिएला ? छोराछोरीले सधैँ मिलिजुली देख्ने, आदर्श मान्ने आमाबुवाको जोडीलाई त्यति सुन्दर बनाउनको लागि आमाले खेपेका पीडा कहिल्यै सोधिएन । सोधेपनि आमाले भन्न कहिल्यै आँट गर्नुभएन । छोरीको लागि समाजसँग लड्न सक्ने र छोरीको नराम्रो सुन्न नसक्ने पिताश्री किन आमाको नराम्रो र बैगनु सुन्न मन पराउँछन् ?

If you want go to link 

 https://shikshyapatra.com/2020/08/19/86252

प्रकाशित : भाद्र ३, २०७७

No comments:

Post a Comment