Friday, November 27, 2020

लेनदेन जिन्दगी

https://shikshapatra.com/2020/09/26/88128?fbclid=IwAR2C1xqxR9kgyBiaDMvj57mYr3VFGqmmoQoJZAXuvUoEyEiq6w_iOwLoUrI            ‘केटी, तिमी सबै कुरामा ठिक छौ तर एउटा कुरा नबिर्सनु, तिमी आफुमा व्यस्त रहनु । आफैंलाई खोज्ने, बुझ्ने कोसिस गर्नु । अरूले खुसी बनाउँछ भनेर बाहिरतिरको खोज बन्द गर्नु । यति गर्ने बित्तिकै तिमीलाई प्रेम गर्नेहरू आफैं तानिएर आउँछन् ।’ उहाँसँग भइन्जेल मैले यी कुराहरू कहिल्यै बुझिनँ । के भनेको होला ? म उहाँको प्रेम महसुस गर्नसक्ने गरी ठूली भइसकेको थिइनँ सायद ।

कोरोनाले विश्वभरि लकडाउन भयो । बाहिर निस्कन नपाएको छटपटीमा केही महिना बिताएँ । मनको स्वभाव त्यस्तै हो, चञ्चल÷चञ्चल, छुकछुक÷छुकछुक । खुसी अरूको कारणले हुने हो, दुखी पनि । मलाई आफैंभित्र सुख र दुःखका अनुभूतिहरू हुन्छन् भनेर स्वीकार्न निकै समय लाग्यो । म पटकपटक आफ्नो जिम्मेवारीबाट भागिरहेँ । जिम्मेवारी आफ्नो काँधमा लिनु भनेको गाह्रो काम हो ।

भगवान् बुद्धले भन्नुभएको छ, अप्पो दिप भवः अर्थात आफ्नो दिप आफैं बन्नु । मैले धेरै समयसम्म यो कुरालाई नकारिरहेँ । लकडाउनले मलाई र मेरो वरिपरिको वातावरणलाई गहिरिएर हेर्ने अवसर दियो । (अहिले लकडाउन खुलेपनि मनको डर चाहिँ पूरा खुलिसकेको छैन ।) प्रेमले बाँधिएको भनिएको सम्बन्धमा मैले लेनदेन बाहेक केही देखिनँ । हाम्रो सामाजिक संरचना नै त्यसरी बनेको छ । तपाईं जति कमाउन सक्नुहुन्छ, त्यही अनुसारको केटी छानी–छानी विवाह गर्ने अधिकार छ । अनि केटी जति सुन्दर हुन्छे, उसलाई त्यही अनुसार धनी केटा छान्ने अधिकार छ । जसको शक्ति उसको भक्ति भने जस्तो समाज चलिरहेको छ । कमजोरलाई कसले वास्ता गर्ने ? उनीहरू झन्–झन् कमजोर बन्छन् ।

समानताको विरोध गर्नेहरू विरोध गरिरहन्छन् । विरोध गर्दैमा मान्छेको चेतना आजको आजै वा आजको भोलि कहाँ परिवर्तन हुन्छ ? तर, हामीले कानुनको डर देखाएर केही हदसम्म ज्यादतीको अन्त्य गर्न सक्छौं । यो छुट्टै कुरा भयो । मैले चेतनाको मात्रै कुरा गरेको । विचार निर्माणको कुरा गरेको । विचार निर्माणको लागि समय लाग्छ नै ।

पहिलो कुरा, विभेद छ भनेर बुझ्नुपर्यो । कहाँ–कहाँ कस्ता–कस्ता विभेद छन् भन्ने नबुझी विभेदको अन्त्य गर्न सकिदैँन । दोस्रो, विभेद किन छ ? यो बुझ्नुपर्यो । विभेदको जरा पहिल्याउन सक्नुपर्यो । यसको जरा थाहा नपाइ हाँगा मात्रै छिमलेर केही हुनेवाला छैन । तेस्रो, विभेदको अन्त्य कसरी गर्ने भनेर योजनावद्ध ढङ्गले लाग्नुपर्यो । हामीलाई समस्या छ जस्तै लाग्दैन । समस्या छ भन्ने लागे पनि किन लाग्यो भन्ने थाहा छैन । सबै यसरी चलिराछन्, यस्तै हो भन्ने हामीलाई लाग्छ । तर अहिले शिक्षाले अवस्था अलिकति फरक भएको छ । विभेद छ भन्ने महसुस भएको छ ।

गौतम बुद्धले भन्नुभएको छः संसारमा दुःख छ । दुःखको कारण छ । दुःख निरोधको उपाय पनि छ । दुखको निवारण मार्ग छ । संसारमा दुःख छ भन्ने नबुझी हामी कारणको खोजी गर्दैनौं । कारण फेला पारेपछि बल्ल दुःख हटाउने उपाय थाहा हुन्छ । अनि दुःख हटाउने मार्गमा लागिन्छ । पहिलो कुरा हामीले बुझ्नुपर्छ, हाम्रो दुःखको कारण हामी नै हौँ । यो कुरा अनुभूतिको स्तरमा अनुभव नगरुन्जेल जानेर, मानेर मात्रै केही हुँदैन । हामीले आफ्नो दुःखको कारण आफैँ हो भनेर अनुभूति गर्ने बित्तिकै धेरै समस्या र सम्बन्धहरू सुमधुर भएर जान्छन् ।

म मेरै कुरा जोड्छु ।

प्रेम गर्ने नाममा म अर्को व्यक्तिबाट त्यहीँ अपेक्षा गर्थें । उसले मेरो ख्याल गर्ने सन्चो विसन्चो सोध्ने, केही अप्ठ्यारो परेको बेलामा सहयोग गर्र्ने यस्तै यस्तै….. । यी अपेक्षा पूरा भए प्रेम नभए स्वार्थ । कतिपय अवस्थामा यस्तै साना–साना लेनदेनको हिसाबकिताब नमिल्दा सम्बन्ध टुटेको हुन्छ । आफ्नो लागि संसारमा सबैभन्दा सुन्दर मान्छे आफैँ हो । आफूलाई दोषी देख्ने कुरा भएन । हामी आफ्नो जति भलो अरूको सोच्न सक्दैनौं । लेनदेनको सिद्धान्त बुझेपछि म धेरै स्वार्थी र अरूलाई दुःख दिने रहेछु भन्ने लाग्यो । कस्तो खराब म ! गहिरिएर विचार गरेको त सबै मै जस्ता । आमाबुवाले भनेको भन्दा विपरित जानेवित्तिकै त्यो सन्तानले आमाबुवाबाट पाइरहको माया पाउँदैन । मायाभन्दा पनि सुविधा भनौं । हामी एक–अर्कालाई सुविस्ता बनुन्जेल मात्रै नजिक हुँदा रहेछौं । जुनबेला अरूको कारणले आफू धेरै अप्ठ्यारोमा परेको महसुस गर्छौं, हाम्रो प्रेम सकिहाल्छ । हामी फेरि अर्को मान्छे खोज्न थाल्छौँ । अनि यो लेनदेनको शृङ्खला चलि रहन्छ । यसरी नै लेनदेनको जगमा हाम्रो समाज बनेको छ ।

मेरो प्रेमको खोज नरोकिनुको कारण लेनदेनको तराजु तलमाथि परेरै रहेछ ।

विवाहमा त्यस्तै लेनदेन छ । लेनदेनको तराजु एकातिर बढी नै ढल्कियो भने त्यो वैवाहिक सम्बन्ध टुक्रने खतरा बढेर जान्छ । धन्न ! हामी लेनदेनलाई प्रेम भनेर बसिरहेका छौं । नभए यस्तो बनावटी समाज कहाँ हेर्न पाउनु ? सबैभन्दा स्वार्थी तपाईं आफैं हुनुहुन्छ । म छु । समस्या हामीमा छ । ममा छ । यो कुरा नबुझेको कारणले हामी अरूलाई चोर औँला देखाएर पख भनिरहन्छौं । कति भ्रमपुर्ण छ संसार । थोरै मान्छेहरू मात्रै इमान्दार हुन्छन् र सिधै भन्छन् – म प्रेम गर्दिनँ । हामी यस्ता मान्छेलाई मन पराउँदैनौं किनकी हामीलाई प्रेम गर्ने मान्छे चाहिएको छ । अझ भनौं, आफ्नो स्वार्थ परिपूर्ति गरिदिने मान्छे । दुवैजनाको साझा स्वार्थ भएमा मात्र सम्बन्ध अगाडि बढ्छ ।

मायामा स्वार्थ मिसिएको हुन्छ तर प्रेममा हुँदैन । भगवान्ले प्रेम गर्नुहुन्छ किन भनिएको रहेछ भने सबै तृष्णाबाट मुक्त व्यक्तिबाट मात्रै प्रेम सम्भव हुने रहेछ । हामी भगवान् बन्न नसके पनि प्रयास गर्न सक्छौं ।

लोभ, मोह, क्रोध, काम, वासनालाई जित्न सक्ने र आफूलाई आफ्नै वशमा राख्नसक्ने मान्छेलाई फेरि प्रेम खोज्दै हिड्नुपर्ने आवश्यकता भएन । भित्रबाट खुसी र आनन्दित मान्छे कहाँ बाहिर रुमल्लिदै बस्छ ? आफैंमा व्यस्त मान्छेलाई अरू खोज्ने फुर्सद नै कहाँ ?

हामी सबैको मामिलामा के हुन्छ भने हामी व्यक्तिसँग जोडिएको सपनालाई प्रेम गछौं । सम्बन्ध छुट्नेबित्तिकै सपनाहरू पनि टुट्छन् । भत्किसकेको हाम्रा सपनाका महलहरूलाई फेरि त्यत्तिकै बनाउन अर्को मान्छेको सहारामा जग खन्न थाल्छौं । जग पूरा भएर महल बनिसकेको अवस्थामा जति हामी टुक्रिन्छौं, जग बनिरहेको अवस्थामा त्यो व्यक्ति टाढा हुँदा दुख कम लाग्छ । आफ्नो सपनाका लागि कोही न कोहीको सहारा लिइरहेका हुन्छौं । हामीलाई सहारा चाहिएको कारणले नै हामी कमजोर भएका हौं । कमजोर भएको कारणले नै सहारा चाहिएको हो । जे भन्नुस् ।

मैले बुवाबाट सुनेको यो श्लोकले नारीहरूको अवस्था देखाएको छ । नारीहरू आफैंमा सक्षम हुँदैनन् । उनीहरूको सपना पुरुषसँग जोडिएको हुुनुपर्ने र उनीहरू समर्पित हुनुपर्ने कुरा पनि यस श्लोकबाट प्रष्ट हुन्छ । (तपाईं यो मान्यता तोड्नको लागि जन्मनुभएको हो ।)

नारीका हातमा लागे चुराका हतकडीहरू,
नीलमणी, मुँगापोते खुट्टामा नेलकल्लीका
दाउने पशुका जस्ता नाक औ कान छेडिए
परे बन्धनमा नारी बुलाकी मुन्द्री झुण्डिए ।
हो त्यसै दिनबाट नारीका ढाड भाँच्चिए
आफैं उठ्न नसक्ने ऊ लहराझैं हुन थाली ।

मलाई सुरुमा नारी मात्रै पीडित छन् भन्ने लाग्थ्यो । तर हाम्रो समाज पीडाहरूको सन्तुलित समाज हो । कसैलाई कुनै दुःखबाट छुटकारा छैन । अज्ञानताले खुसी पनि दिन्छ तर दुःख छ भन्ने ज्ञान हुनेवित्तिकै त्यो दुख दोब्बर भइजान्छ । मेरो ममीलाई बुवाको कुरामा हो मा हो मिलाउनु मै, उहाँको पदचापमा आफ्ना पाइलाहरू मिलाउने दुःख थियो । यो सहजताको सुख हो । सबैको यस्तै छ भनेर चल्नु भनेको दुःखलाई स्वभाविक रूपमा लिनु हो । दुःख सहने र स्वभाविक लागेपछि मान्छेले दुख बिर्सन्छ । यस्तै हो भन्छ, जिन्दगी गुजार्छ । यो भनेको घरभित्र फोहोरको डङ्गुर भएर पनि नगन्हाउने अवस्था हो ।

मन केही क्षणको लागि सफा हुँदा यस्तो गन्ध कहाँबाट आइराछ भन्ने लाग्छ । तर फोहोर खोजेर सफा गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन । फोहरमै रहने बानी छ । दुःखमै रमाउने अभ्यास भइसक्यो । बाहिरको संसारमा अल्झने । एक महिनामा दुई दिन खुसी हुने कारण फेला पर्यो भने मान्छे त्यहीँ खुसीको झिल्कोलाई साँचेर महिनाभरी खुसी हुने प्रयत्न गर्छ । यत्ति गरिब भइसक्यौ हामी । म पहिलेभन्दा धेरै खुसी हुन थालें भने, केही गडबढ भइराछ भन्ने लाग्छ किनभने मलाई दुःख स्वभाविक लागिसक्यो । दुःख संसारको शास्वत नियम हो भने दुःखबाट छुटकारा पाउनु तपाईंको अधिकार हो । तर हामीलाई फुर्सद कहाँ ? लेनदेनको तराजु मिलाउँदैमा ठिक्क छ ।

मैले कसैलाई जन्मदिनको शुभकामना दिएँ, कसैलाई कुनै सहयोग वा कुनै उपहार दिएँ भने मैले सट्टामा त्यहीँ पाउने आश गरिरहेको हुन्छु । चेतन मनले आश गर्नहुन्न भने पनि अवचेतनमा आश रहिरन्छ । म बिरामी भएको बेलामा कसैले फोन गरेर यस्तो गर, त्यस्तो नगर भनेको छ भने ऊ बिरामी हुँदा मैले त्यस्तो गर्नुपर्यो । हस्पिटल पुर्याइदिएको छ भने आफूले पनि हस्पिटल पुर्याइदिनुपर्यो । गरिएन भने सम्बन्ध सकियो वा गाँठो पर्ने भयो । अरूको असहजता बुझ्ने मन कहाँ छ हामीसँग ?

तपाईंलाई लागिसक्यो, आफूले दिने मात्रै अरूबाट आश नगरेपछि कसरी चल्छ व्यवहार ? हो, व्यवहार चलाउन यो आवश्यक हुन्छ तर यसैलाई लिएर म तलाई कत्ति माया गर्छु । कत्ति प्रेम गर्छु भनेर ब्ल्याकमेलिङ्ग किन गरिरहने ? अलिक अगाडिको कुरा, मैले उसलाई फोन गरेर दुख दिइरहन्थेँ । यत्ति भन्नलाई कि मलाई उसको धेरै याद आउँछ । उसले भन्यो– ‘ठिक छ, तर तिमीले मलाई सम्झदाँ मैले किन दुःख पाउनुपर्ने ?’ फोन राखेपछि सोचिराखेँ– त्यही त किन थाहा दिनपर्यो ? होइन, होइन, मैले सम्झेको उसले थाहा पाएन भने मैले सम्झेको कुनै मूल्य भएन । उसले पनि सम्झनुपर्यो । यसो भनेर आफूलाई निर्दोष साबित गरेँ । हेर्नुस् त लेनदेनको मामिला । यहाँ प्रेम कहाँ छ ?

मैले उसलाई आई लब यु वाला म्यासेज पठाउन बन्द गरेँ । बौद्ध धर्ममा पञ्चशीलमध्ये एउटा शील झुठो नबोल्नु भन्ने छ । रुद्राक्ष लगाएको मान्छेले झुठो बोल्न भएन । उसलाई मैले झुठो पठाएर के पाउनु ? मैले उसलाई प्रेम गर्दिनँ भन्ने थाहा पाउँदा दुःखी भएँ । मैले भनिरहेको प्रेम, वास्तवमा प्रेम नभएर लेनदेन थियो । यत्ति बुझ्नको लागि कोरोना आउनुपर्यो । घरभित्र थुनिनपर्यो । लेनदेनको सिद्धान्त बुझ्नको लागि विश्व नै लकडाउन हुन पर्यो । (मेरो कुरा गरेको है ? तपाईंले कुन सिद्धान्त बुझ्नुभयो मलाई थाहा छैन ।)

हामीले प्रकृति र मानिसबीचको लेनदेन भुलिसकेका थियौँ । हामीले प्रकृतिलाई दोहन गरिरहेका थियौँ, छौँ । हामीले लिनेवाला तराजुले भुइँ छुनै लागेको थियो र त प्रकृतिले लेनदेनको तराजु सन्तुलन बनाउन सुक्ष्म भाइरस पठायो । हामीले प्रेम र करुणाको सिद्धान्त बुझेको भए प्रकृतिले आफ्नो शक्ति प्रदर्शित गर्दैनथ्यो । हामीले आफ्नो बाहेक अरू प्राणीको अस्तित्व देखेनौँ । अरूबाट पाइरहने आशा मात्रै गर्यौ । करुणा हामीलाई रुखले गरिदिनुपर्ने, प्रकृतिले, भुगोलले, चराचुरुङ्गीले गरिदिनुपर्ने । उनीहरूले हामीलाई सहजता प्रदान नगर्नेबित्तिकै वा हामीले उनीहरूलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्न नपाउँदा मार्ने । हामी अरूबाट कसरी फाइदा लिन सक्छौं ? अरूबाट केके प्राप्त गर्न सकिन्छ ? भनेर हिसाबकिताब गरिहाल्छौं । हामी त्यतिबेला मात्रै सहयोग गर्छौं जब हामीले गरेको सहयोगभन्दा धेरै फाइदा प्राप्त हुन्छ ।

लेनदेनको जुन प्राकृतिक चक्र छ, यो धेरै कमजोर भइसकेको हुनाले प्रकृतिले सन्तुलन बनाउन कोसिस गरिरहेको छ । हेर्नुस् न, कोरोना मान्छेलाई मात्रै लाग्छ । यो तपाईंले पढिरहनु भएको छ । किनभने केही विशेष छ कि भन्ने तपाईंलाई लागिराछ । तपाईंले पढेर राम्रो भन्नुहुन्छ वा अझै राम्रो लेख्नु भनेर शुभकामना दिनुहुन्छ भनेर मैले लेखिरा छु । यहाँ पनि लेनदेन छ । यो लेनदेनको तराजु असन्तुलित हुनेवित्तिकै तपाईं मैले लेखेको पढ्नुहुन्न । म लेख्न छोड्छु । लेनदेनको शक्ति……………… ।

लेनदेन जिन्दगी……………….।

के रे… के रे…. । होइन नि । अपेक्षा नराखिनकन दिने अनि लिनेले कृतज्ञ भएर लियो भने जिन्दगी प्रेमिल बन्छ । यो संसार हेर्न कस्तो चस्मा लगाउनुहुन्छ, त्यसले फरक पार्छ । अब लेनदेनको चस्मा लगाएर हेर्नुहुन्छ कि प्रेमको ? यो तपाईंको हातमा छ ।

प्रकाशित : आश्विन १०, २०७७

No comments:

Post a Comment