Saturday, May 16, 2020

विचारमा के छ ?

Thoughts on Thoughts – Podcast – Podtail

विचारको शक्ति कस्तो हुन्छ ? यसले कसरी काम गर्छ भनेर म भन्न गईरहेको छैन । विचारको शक्तिबारे बताउनको लागि म को हुँ र ? विचारबारेमा विस्तृत ज्ञान लिन मन छ र सुरुवात गर्न चाहनुहुन्छ भने खप्तड बाबाको विचार विज्ञान एकदम उपयोगी हुनसक्छ । बरु म तपाईँलाई केही अनुभवहरु बाँड्न गईरहेको छु । जसले गर्दा तपाईँले यसको शक्ति पनि महसुस गर्न सक्नुहुनेछ । 
अनुभव १
लकडाउनले हामीमा एकप्रकारको त्रास भरिदिएको छ । हातमा सर्टिफिकेट बोकेर जागिर खोज्न भौँतारिएका आत्माहरु अहिले बन्द कोठाभित्र चुपचाप छन् । कति गाउँघरतिर बसेर केही गर्न नसकेकोमा दिक्क मानिरहेछन् । पढाई सकेपछि जागिर खानैपर्ने, टाईसुट लगाएर अफिस जानपर्ने एकखालको मानसिक चित्र दिमागमा बोकेर हिडिरहेका छौँ । त्यसले गर्दा गाउँमा कुटो, कोदालो समात्न हामीलाई दिदैँन । 
पढेर पनि गाउँमै फर्किनुपर्ने ? गाउँमा खेती,किसानी गर्नुभएपछि पढाएको के काम ? भनेर आमाबुवाहरु पनि छोराछोरीले शहरमा दश हजार मात्रै कमाएपनि गाउँमा बसेर आफ्नो जस्तै दुख गरोस् भन्ने चाहदैँनन् । 
मलाई लकडाउनको बेलामा यस्तै तनाव आईलाग्यो । के गर्ने ? 
जे सम्झियो त्यहीँ गाह्रो । सजिलो काम के नै छ र ? लगभग एकहप्ताको चिन्तापछि बाहिर निस्किएपछि मैले महसुस गरेँ, हामीले तनाव लिन मात्रै सक्छौँ । यो लकडाउनमा केही गर्न सक्दैनौँ । तनाव किन लिईरहनु । जे हुन्छ । हुन्छ । 
आजसम्म आईपुग्दा मैले चाहेर भएको कुरा एकदम थोरै छन् । तर चाहेकै कुरा भए पनि मान्छे त्यत्ति मै सन्तुष्ट भएर बस्न कहाँ सक्छ ? यस्तो हो भने तनाव लिएर के गर्नु ? अनावश्यक मनमा कुरा खेलाएर टोलाईरहनुको के अर्थ ? 
अर्थहिन कुराहरु गरेर अर्थात अर्थहिन विचारहरुले तनाव मात्रै दिन्छन् ।


अनुभव २
काठमाडौँमा बहिनी र म मात्रै छौँ । सनसिटी नजिकै । काठमाडौँको सबैभन्दा पहिले कोरोना यहीँ देखिएको थियो । बैशाख १ गते ।
त्यो दिनदेखि डर र तनावले यति अस्तव्यस्त बनायो कि हामीलाई यो कुरा लेखेरै सक्दिनँ म । तनाव लिदाँलिदाँ थाके । जति तनाव लिए पनि कोरोना झन् फैलिएको छ । फैलिराखेको छ । 
कोरोनाको माहामारी पश्चिमी देशहरु बढी चपेटामा छन् । तेस्रो युद्ध गर्नको लागि जम्मा गरेको रकमहरु सब प्रयोगशाला अर्थात कोरोनाको रिसर्चमा खन्याउँदा पनि भ्याक्सिन पत्ता लगाएर कोरोना ठिक पार्न सकेका छैनन् । हामीलाई हाम्रो सामथ्र्य थाहा छदैँ छ । हामीसँग एउटै उपाय हो, आफूलाई जोगाउनु । घरभित्रै बसिरहनु । 
अनुभव ३
बैशाख १ गते उसलाई मैले भेटेको थिएँ । कोरानाको भन्दा पनि पुलिसहरुको धेरै डर लागिरहेको थियो । घरभित्र बसिरहनुपर्नेमा हामीले भेट्ने दुस्साहस गरेका थियौँ । म एकदम डराएँ । सायद उसलाई पनि धेरै डर लागिरहेको थियो । हाम्रो त्यो डरले के भयो ? 
पुलिसले अनावश्यक दुख दियो । अझै बढी डराएर घर आईपुग्दा म अघि समाचार घरभित्र पसिसकेको थियो–‘सनसिटीमा कोरोना भेटियो ।’
अनुभव ४
बुद्धपूर्णिमाको दिन ऊ र म बौद्ध जाने भयौँ । जाँदा र आउँदा लगभग एक घण्टा मात्रै लाग्थ्यो । हामी बौद्ध जाँदै गर्दा बाटाबाटामा बर्दी लगाएका प्रहरीहरु देखेर म डराएँ । उसले भन्यो–‘डरायो भने झन् उनीहरुले सोधेर अझै डर देखाउँछन् । नडराऊ । केही हुन्न ।’ मैले आफ्नो डरलाई लुकाएर प्रहरीको आँखामा आँखा जुधाएरै हिडेँ । विस्तारै मेरो डर कम भयो । 
बौद्धभित्र कसैलाई छिर्न दिइएको थिएन । हामीले अनुरोध गरेर भित्र छिर्यौ । केही फोटोहरु खिच्यौँ र निस्कियौँ । 
अनुभव ५
मैले हिजो एउटा बुद्धले बताउनुभएको एउटा कथा सुनेको थिएँ । कथाको सार यस्तो थियो– राजालाई कुनै ठाउँ पार गर्नै लाग्दा क्रोध उत्पन्न हुन्छ । जहिलेपनि त्यस्तै हुन्छ । त्यो ठाउँ नजिकै एउटा दोकान हुन्छ । एकदिन मन्त्रीले त्यो दोकानका मान्छेलाई भेट गर्छन् । उसले राजाको बारेमा नराम्रो कुरा गर्छ । मन्त्रीले त्यहाँबाट केही सामान खरिद गर्छ राजाको लागि । दोकानदारले आफ्नो दोकानमा मन्त्री आएको कुराले खुशी भएर राजाको लागि केही उपहार दिई पठाउँछ । केही दिनपछि केही असर्फी बोकेर मन्त्री दोकानदारकहाँ पुग्छ । दोकानदार पनि खुशी हुन्छ । राजा राम्रो मान्छे भएको कुरा उसले स्वीकार्छ ।
केही महिनापछि राजा त्यहीँ बाटो हिड्छन् । उनी दोकान नजिकै पुगेपछि मुस्कुराउँछन् ।
हाम्रो विचार नै हाम्रो मार्गदर्शन हो । 
यसपछि अस्ति झगडा परेर बोलचाल बन्द भएको दिदीको बारेमा राम्रो राम्रो सोचिबसेँ दिनभरी । अचम्म, बेलुका दश बज्नै लाग्दा दिदीको फोन आएको  रहेछ । बिहान उठ्दा थाहा पाएँ । फोनमा कुरा भयो । उहाँले पनि हामीबीचको मनमुटाव भुलिसक्नुभएको थियो । 
अनुभव ६
कहिलेकाँही नानी र म झगडा गरिबस्छौँ । झगडा गर्नुको पनि मज्जा छ । दुबै जना रिसाएर बस्ने अनि दुबैले आआफ्नो गल्ती स्वीकारेर अँगालो हाल्दै रुने । म हाम्रो झगडापछि दोहोरिरहने यो रुवाईलाई लिएर सधैँ झगडा गर्न उत्साहित हुन्छु । तर झगडा एक्लै हुँदैन । उसले साथ दिएपछि कहिकाँही झगडा हुन्छ । कति छिटो मिल्छौ भने बिहानको खाना खाईसकेर गरेको झगडा खाजा खानुअघि टुङ्गिसक्छ । 
अनुभव ७
भुँइचालोको बेला थियो । सबैजना आफन्तकोमा जाने, सुरक्षित रहने गरिरहेका थिएँ । बुवाआमा टाढा रहनुभएकोले पनि मैले झट्ट अंकललाई सम्झिएँ । यो बेला मलाई सम्झिनुपर्ने ? भन्ने सोचिराथेँ । अहँ । फोन, म्यासेज केही आएन । 
अलिक बेलुकीपख अंकल आफैँ मलाई लिन आईपुग्नुभयो । मैले अंकललाई बताएँ । मैले सम्झिएकै बेला अंकललाई छोरी लिन जानुपर्ने भन्ने लागेछ । यस्तो पनि हुन्छ ? म अचम्म भएँ । 
मसँग यस्ता अनगिन्ती अनुभवहरु छन् । 
मैले टिन्डर भन्ने डेटिङ एप्स चलाएको थिएँ । एकजना केटा यति नजिक जसरी बोल्यो कि मलाई मनमा लाग्यो । यसको र मेरो थर एउटै नभए गोत्र एउटै हुनुपर्छ । यो विचार मिलिक्क आयो र गईहाल्यो । हामी लगभग आधा घण्टाजति कुरा गर्यौ । नभन्दै टिन्डरबाट दाजुबहिनीको साईनो लगाएर हामी छुट्टियौँ । 
हामी हाम्रा अहमहरु, हाम्रा ईष्र्याहरु, हाम्रा नकरात्मक विचारहरुलाई जति कम गर्दै जान्छौँ, त्यति हाम्रा विचारहरु सङ्लिदैँ जान्छन् । आफ्नो विचार सङ्लिनु भनेको अरुको विचारसँग एकाकार हुनु पनि हो । 
एउटा साधारण उदाहरण ः
आँखा चिम्म गर्नुस् । तपाईँलाई मनपरेको मान्छेको कल्पना गर्नुस् । गर्नुभयो नि ? को आयो ? भन्नुपर्दैन । सम्झनुस् । भेट भईसकेको भए भेट सम्झनुस् । नभएको भए ऊ नजिकै बसेर तपाईँ आँखा चिम्लेको देखिरहेको छ भनेर कल्पना गर्नुस् त । के भयो ? साँच्चै यतै कतै नजिक भएको आभास भएन ? भयो नि ? 
जे कल्पना गर्नुस्, त्यसले तत्कालै आफ्नो प्रतिक्रिया देखाउँछ । ती विचारको प्रभाव धेरै या थोरै देखिन्छ नै । हामीलाई कति थाहा हुन्छ । कति थाहा हुँदैन । फिल्म हेर्दै गर्दा रुवाउने सिन आउँदा तपाईँका आँखा किन रसाउँछन् ? रोमान्टिक सिन आउँदा किन रोमान्टिक बन्नुहुन्छ ? फिल्मको कारणले भन्दा पनि तपाईसँग जोडिएका स्मृतिहरुको सम्झनाले त्यस्तो बनाउँछ । रोमान्टिक हुँदा फिल्मकै हिरो सम्झेर रोमान्टिक बन्नुभएको पक्कै होइन । आफ्नै हिरो सम्झेर रोमान्टिक बन्नुभएको हो । 
फिल्ममा हिरोले हिरोईनलाई जिस्काईरहँदा तपाईँ कसलाई जिस्काएको या जिस्किएको सम्झनुहुन्छ ? 
तपाईँ भावनात्मक रुपले जोसँग एकदम नजिक हुनुहुन्छ । उनीहरुको राम्रो र नराम्रो विचारले कति छिटै तपाईँमा प्रभाव पार्छ । आजसम्म अनुभव गर्नुभएको छैन भने आजदेखि यो विचार गर्नुहोला । किनभने हामीले जे खोज्छौ, त्यहीँ पाउँछौ । 
किताबहरु पढेर हामीले जानकारी मात्रै बटुल्ने हो । जबसम्म त्यो कोरा जानकारी हामीले प्रयोग गरेर आफ्नो अनुकूल बनाउन सक्दैनौँ । त्यसले केही परिवर्तन गर्नेवाला छैन । ज्ञान मसँग छ भन्ने मान्छ ज्ञान दिन र बाँड्न मात्रै सक्दछ । जो साँच्चै ज्ञानी छ, उसले ज्ञानबाट आफ्नो जिन्दगी परिवर्तन गर्छ । ज्ञानलाई कर्ममा जोड्दछ । 
तपाईँको विचार यो पढेर विर्सने कि एकचोटी प्रयोग पनि गर्ने ।
हाम्रो विचार जति शुद्ध बन्दै जान्छ, उति हामीले बोलेको कुरा, कल्पना गरेको कुरा, हाम्रा कामनाहरु उति पूरा हुँदै जान्छन् । पूर्विय दर्शनमा सत्ययुगमा बोलेको सबै कुरा पुग्छ भनेर यहीँ विचारको शक्तिलाई संकेत गर्न खोजिएको हो । 
मेरो यो लेखनमार्फत तपाईँलाई विचारको शक्तिबारे अलिकति मात्रै भए पनि विचार गर्न बाध्य भए भने मलाई खुशी लाग्नेछ । 
हामीहरु खुशी खोज्छौ तर सधैँ दुखी रहन्छौ । किनभने हामीलाई तनाव लिने बानी परेको छ । बुद्धले भन्नुभएको छ– संसारमा दुख छ । दुखको कारण छ । दुखको निवारण छ ।’
दुख छ भनेर दुखलाई आत्मसात् गर्नसक्यौँ भने दुख हराएर जान्छ । जे छ । त्यो छ । हामीले सहज रुपमा लियौँ भने हामीलाई दुखले बिथोल्न सक्दैन । खुशी खोजेर हामीले पाउँदैनौँ । दुख खोजेर पनि पाईँदैन । हामीले हाम्रो अवचेतनमा दुख छ भनेर बुझेका छौँ । दुखको निवारण भनेको दुखलाई स्वीकार्नु हो । खुशी कहाँ छ भनेर खुशीको आशामा जिन्दगी नबिताउनु हो । 
जिन्दगीमा आशा गरेरै हामीले दुख पाईरहेका छौँ । दुखबाट खुशीको, सुखको आश कसरी गर्नसक्छ मान्छे ? अचम्म छ, छैन ?
हामीले यहीँ पललाई मात्रै विचार गर्यौ । विगत र भविष्यको कुरा सम्झिएनौँ भने धेरै समस्याहरु आफैँ समाधान हुन्छन् । तपाईँहरुको लकडाउन दुख र तनावले नभरियोस् । केही नभईन्जेल मान्छेलाई केही हुँदैन । केही भएपछि भईहाल्यो । रोक्न सक्नुहुन्नँ । किन तनाव लिने ? 
सकरात्मक बनौँ । 


No comments:

Post a Comment