कथाको प्रारम्भिकता
‘तिरस्कृता’ पुस्तक देख्ने बित्तिकै मलाई यो पुस्तक तिरस्कार गरिएको कुनै पात्रको बारेमा लेखिएको भन्ने लाग्यो । चारैतिर तिरस्कृताहरुको कथा व्यथा भरिएको मुलुकमा कुनै अमूक लेखकले थप अर्को किताब लेखेछन् । पल्टाएर हेर्दा त्यो ३ सय ५४ पृष्ठ थियो । यति मोटो किताब लेख्ने लेखक भने मैले बिल्कुलै नाम नसुनेका व्यक्ति थिए ।
प्रविण निरौला ।
मैले यो नाम दोहोर्याएर पढेँ । एउटा आकर्षण पैदा भयो नाममा । पुस्तकको मोटाइ र आवरण हेरेरै यो उपन्यास हो भन्ने थाहा हुन्छ । पढ्न सुरु गरेँ । सुरुका प्रथम केही पृष्ठले त्यो स्वाद दिएन । झण्डै बन्द गरेँ । तर लक डाउनले पढ्दै वातावरण गएपछि यसले नयाँ संसारको निर्माण गर्यो । उपन्यासमा लुमेश नामक पात्रले गरेको भौतिकतादेखि अध्यात्मिक यात्रासम्म गरेको उतारचढावलाई दर्साइएको छ । वैदेशिक यात्राको लागि समाजले दिने दबाव र विदेश मोहको बारेमा पनि किताबमा चर्चा गरिएको छ । एउटै पुस्तकभित्र स्त्रीमोहदेखि संसारिक बन्धनबाट पार हुनको लागि गरिएको पात्रको संघर्षले मानव मष्तिष्कको अस्थिरतालाई मिहिन ढंगले केलाउने प्रयास गरेको छ ।
लुमेश क्रियानको कोठाभित्र छि¥यो । यो वाक्यसँगै ‘तिरस्कृता’ उपन्यास अस्टे«लियाबाट सुरु हुन्छ । क्रियानको अस्ट्रेलिया बसाइबाट अघि बढ्दै जान्छ । तर उसको बाल्यकाल र पृष्ठभूमि दुःखदायी छ । ऊ नेपालमा रहँदा, बस्दा लागु औषधको दुव्र्यसनीको सिकार भएको पात्र पनि हो । तर समयले उसलाई पुस्तकको संगतमा पुर्याउँछ । अध्ययनकै कारण उ दुव्र्यसनीबाट बाहिर निस्कन्छ र किताबको दुव्र्यसनीमा पुर्याउँछ । किताबले उसमा फराकिलो दृष्टिकोण निर्माण गर्दै जान्छ । जुन रफ्तारमा उसको बुद्धिको विकास हुँदै जान्छ, त्यही रफ्तारमा उसको प्रगति पनि हुँदै जान्छ । अनि जुर रफ्तारमा उसको प्रगति हुन्छ, त्यही रफ्तारमा स्त्रीमोहमा पनि पर्दै जान्छ ।
भौतिकताको संसार अझै फराकिलो मैदान खोज्दै ऊ अष्ट्रेलिया पुग्छ । त्यहाँ बच्चैदेखिको घनिष्ठ मित्र क्रियानसँग भेट भएपछि कथा घुमेर पुनः त्यहीँ पुग्छ, जहाँबाट उपन्यास सुरु भएको थियो ।
क्रियान उसकै गाउँको दाजु, भाउजुसँग बस्थ्यो । दाजु पर्ने ती अभिभावकमार्फत पुस्तकमा विदेशमा रहँदा राजनीतिक सक्रियता, एन.आर.एनको अध्यक्ष बन्नको लागि तिरेको पैसा र लगाएको तिकडम पनि उपन्याससँगै अघि बढ्छ । यता भाउजू पर्ने महिला असाध्यै राम्री र दाजु उमेरले धेरै नै फरक । कथामा यहीँबाट फरक पन आउन थाल्छ । सम्पत्तिको लागि रुची, उद्धेश्य नमिल्ने दुई अमिल्दा जोडीको विवाहका विषमया पाहुना भइ बसेको एक्लो क्रियान घरबेटीकै श्रीमतीको आकर्षणमा पर्दै जान्छ ।
उपन्यास अघि बढ्दै जाँदा थपिन्छन्, दुई नेपाली युवतीहरु । आफ्नो घरमा बसेको भाइ पर्ने पाहुनालाई रोजिदिएकी युवती ऋषिता छाडेर आफ्नै श्रीमतीसँगको उठबसको अप्ठ्यारो पाठकले महसुस गर्दा नगर्दै मुख्य नायक लुमेशले महुसस गर्छ ।
तर यो कुरा घरबेटीले थाहा पाउनु अघि नै एउटा पारिवारिक पिकनिक गएको बखत क्रियान फिसिङ्ग अचानक समुद्र किनाराबाटै हराउँछ । यसको कारण पढ्न भने पुस्तक पढ्नै पर्छ ।
जे होस्, लुमेश विदेशी भुमिमा पुगेको छोटो समयमा नै उसले आफ्नो साथीलाई गुमाउनुको पीडाले रन्थनिन्छ । समुद्रमा हराएको क्रियानको अत्तोपत्तो लाग्दैन । तर उसको मानसपटलमा क्रियान सधैँ उस्तै जोश, जाँगरले उसँग दर्शनको कुरा गर्न आइरहन्छ । क्रियानको साथी भएका कारण लुमेशले सित्तैमा केही सुविधाहरु प्राप्त गर्छ । यहि सुविधाका कारण उसको आर्थिक प्रगति हुँदै जान्छ । साथीले अस्ट्रेलियाका सुरुवाती दिनमा जसरी सहयोग गरेको थियो, मृत्युपछि पनि उसले सहयोग गरिरहन्छ ।
कथामा ट्विस्ट त्यो बेला आउँछ, लुमेश एउटा पार्टीमा जान्छ । पार्टीमा उसले देख्छ, जुन महिलासँग उसको साथीको सम्बन्ध थियो, उनी गर्भवती भएकी छिन् । उसलाई पक्का हुन्छ, यो गर्भ उसको साथीको हो । तर यो विषयमा कुरा गर्न महिला चाहन्नन् । जुन स्वभाविक पनि हो । मृत्यु भैसकेको प्रेमीका लागि आफ्नो घरबाट तोड्न कुन चाहीँ महिला तयार होलिन् ? यसरी उपन्यासको पहिलो खण्डले बिराम लिन्छ ।
कथाको मध्यभाग
दोस्रो खण्डमा नायक नेपाल आउँछ । नेपालमा उसले राजनीतिक दलका नेता र केही कार्यकर्ताको सहयोगमा राम्रो पैसा कमाउँछ । पैसा कमाउँदै जाँदा अपराध पनि गर्नुपर्छ । यसरी गरेको अपराध पनि पैसाले छोप्दै जान्छ । उसले पैसाको बलमा के गर्दैन ? उसको ऐयासी पढेर पाठकहरु पनि घुटुक्क थुक निल्छन् । नगरबधुसँगको प्रेम र उसैको प्रेरणामा गरेको समाजसेवाको किस्साले हामीले पढ्ने गरेका पत्रिकाकाहरुका समाचारहरु याद दिलाउँछन् ।
पैसा कमाएपछि आत्मकथा लेखाउने चलन सामान्य हो । यसको नायक पनि आत्मकथा लेखाउन थाल्छ । ऊ चाहन्छ, आफ्नो सारा पौरखहरु सबै जनताले थाहा पाउन् । तर थाहा नपाउन्, उसले गरेका अपराधहरु ।
ठूलाठूला नेतासँगको उठबस, अपराधिक संगठनसँगको साँठगाँठ र उनले गरेको व्यवसाय फैलदोँ क्रममा उनको बढ्दै गएको ईज्जत, रवाफ र हैकमले नेपालको राजनीतिक अवस्थालाई पनि दर्शाउँछ । उनी सफल व्यवसायिक घरानामध्ये टप दशको लिष्टभित्र छिर्छन् । व्यवसाय सुरु गरेको छोटो समयमै उनले पाएको सफलता र समाजसँगको उनको दृष्टिकोण पनि यसमा छ । उनले आफूभन्दा दश वर्ष कान्छी आफ्नी पत्नीलाई खुशी बनाउन उसले गरेका प्रयासहरु र मनसरा नगरबधुको संगतबाट प्रभावित भएर उसले गरेका सामाजिक कार्यहरुको बारेमा यो खण्डमा राम्रोसँग वर्णन पाइन्छ । लुमेशको विवाहकै दिन मनसरा समाजदेखि हराउँछिन् । उनी कता हराइन् ? यो कुराको रहस्यले कथा थप रोचक बन्दै जान्छ ।
अन्त्य भाग
लुमेशको किताब प्रकाशित नहुँदै एकाएक लुमेश समाजबाटै हराउँछ । लुमेश कता हरायो ? यसको अत्तोपत्तो हुन्न । लुमेश समाजको तुलनात्मक जिन्दगी र अस्वस्थ प्रतिस्पर्धाबाट दिक्क भएर आमाबुवालाई चिठी लेखेर र कान्छी र उसका बच्चाहरुलाई पुग्ने रकम बैँकमा जम्मा गरेर लापत्ता हुन्छ । कान्छी एकल महिला हुन् । लुमेशकै आड,भरोसामा अगाडि बढिरहेकी कान्छीको जिन्दगीलाई सहज बनाउनको लागि लुमेशले आफू हराउनु अघि पनि कर्तव्य निभाउनुपर्ने जरुरी देखेका छन् । लुमेशले आफ्नो जिन्दगीभन्दा अरुको जिन्दगी महत्वपुर्ण छ भन्ने बोध गरेको कुरा बुझ्न सकिन्छ । यसपछि उनी हिमालय पर्वतको नीलगिरि जंगलमा भेटिन्छन् । उनी अध्यात्मिकताको खोजीमा श्रीलता पोखरीमा पुग्छन् । सबैकुरा निस्सार देखेर आत्महत्या गर्न लाग्दा उनलाई जीवनबोध हुन्छ र प्रकृतिलाई नियाल्छन् । त्यसैबेला दाउरे दम्पत्तिसँग उनको कुराकानी हुन्छ ।
दाउरे दम्पित्तिको अनुरोधलाई स्वीकारेर उनीहरुको घर पुग्छन् । शहरको भागदौडभन्दा पर मानवता र निश्चल व्यवहारले भरिएको गृहस्थी र उनीहरुको प्रेमले उनलाई जिन्दगीप्रति मीठो मोह ल्याउँछ । उनी श्रीलताको मेला हेर्न थप दुई दिन दाउरेकोमा बस्छन् । दाउरे दम्पत्तिले श्रीलताको बारेमा अनेक किवदंती सुनाउँछन् । श्रीलता साक्षत् देवी भएको र उनलाई खुशी नबनाउनाले पहिरो गएको र अनिष्ट भएको बताउँछन् । दाउरेकी प्राणप्यारीको मृत्यु हुन्छ । दाउरेलाई साथ दिन लुमेश केही समय नीलगिरि जंगलमै रहन्छन् । त्यसपछि अध्यात्मिक भोक,प्यास शान्त बनाउन उनी दाउरेसँग बिदावारी भई ऋषिकेश धाममा पुग्छन् । उनी चार धाममै अल्झिरहन्छन् । हठयोग गरेर शरीरलाई तपाउँछन् । असल गुरुको खोजीमा उनी भौतारिन्छन् । उनले निर्वाणको अवस्था प्राप्त गरे गरे जस्तो लाग्ने अन्तिम अवस्थामा उनको शरीर हस्पिटलको बेडमा पुग्छ । उनलाई भिजुयल हेल्युसिनेसन भएको डाक्टरले अनुमान गर्छन् । भिजुयल हेल्युसिनेसन भएको अड्कल काट्दै नेपाल फर्काउनको लागि दम्पत्तिलाई भन्छन् । ऊ लुमेशको पुरानो गाउँले भाइ हुन्छ । उनीहरु ऋषिकेश आश्रममा रामाचार्य गुरुलाई भेट्नको लागि हस्पिटलबाट प्रस्थान गर्छन् ।
लुमेशले गिवानसुर, उचण्डिता, तिरस्कृता ग्रह, सुरभि ग्रह र आफ्नो भ्रुणसम्बन्धी बाँकी रहेको कार्य भनिरहँदा उनीहरुलाई पनि यस योजनामा सहभागी हुने इच्छा जागृत भयो । तर कताकता लुमेशका रहस्यमयी कुरा सुन्दा उनीहरुलाई डाक्टरले भनेका कुरा सही हुन् कि भन्ने शंका पनि लागिरहेको थियो । यसरी कथाको अन्त्य रहस्यमै हुन्छ ।
लुमेशले निर्वाण प्राप्त गरे कि गरेनन् ?
किताबमा भौतिकता र त्यसले दिने सुखसुविधाको बारेमा देखाउन प्रयास गरिएको छ । त्यसपछिको भागमा कर्म बन्धनले निम्त्याएको दुखलाई सदाको लागि हटाउन गरिएको प्रयास देखाइएको छ । किताब समग्रमा राम्रो छ । किताबले अन्त्यमा तपाईंलाई निर्वाण प्राप्तिको चाहनातिर धकेलिदिन्छ । निर्वाणको चाहनामा हिमालय पर्वतको कुनै गुफा, कन्दरामा ध्यानस्थ लुमेश भन्ने पात्रले अचानक भारतको हस्पिटलमा आफूलाई पाउँछ । हठयोगको कारण शरीर धेरै कमजोर भएको र शरीरमा हेमोग्लोबिन र ग्लुकोजको मात्रा कमी भएको हुन्छ । नेपालबाट गएका जोडिले उनलाई हस्पिटल पुर्याउन सहयोग गर्छन् ।
लुमेश भन्ने पात्र समग्रमा हाम्रो समाजको यथार्थचरित्र बोकेको पात्र हो । उसले आफ्ना कर्तुतलाई असल बनाउन गरेको समाजसेवादेखि लिएर मनसरा भन्ने नगरबधुले कैयौँ बालिकालाई नगरबधु बनाउन रोकेको कथा पनि रोचक छ । यस पुस्तकमा लेखकले आफ्नो कल्पनाशक्तिको भरपुर प्रयोग गरेका छन् । उनले जानेसम्म, सुुनेसम्मको सब कुराहरु एउटै पुस्तकमा पस्किएर पाठकहरुलाई बोझ भरिदिएका छन् । अध्यात्मिक यात्रा गरिरहेको लुमेश भन्ने पात्रलाई निर्वाण भनेको हुन्छ कि हुन्न भन्ने दोधार छ । उसले गरेको अध्यात्मिक यात्रालाई अगाडि बढाउँदा बढाउँदै उसको यात्रा अन्योलमै टुंगिन्छ र उपन्यास पनि ।
लुमेशले न भौतिक जिन्दगीको सुख, सुविधामा भुलेर आनन्दमा रमाउन सक्यो न अध्यात्मिक यात्राको आनन्दमा डुब्न सक्यो । उसको अन्यौलग्रस्त जिन्दगीले हाम्रो अन्योलतालाई संकेत गर्छ । आफूले नदेखेको सत्यलाई आँखा चिम्लिएर विश्वास गरिहाल्न लुमेश अन्धविश्वासी पात्र होइन । ऊ जिन्दगीको हरेक पाटोमा वैज्ञानिकता र त्यसले दिने परिणाममा विश्वास गर्ने पात्र हो । लुमेशसँग जोडिएर आउने कैयौँ पात्रहरु आउँछन्, बिलाउँछन् ।
लुमेशलाई हस्पिटल पुर्याउने गाउँले भाइमार्फत लेखकले दश वर्ष जनयुद्धमा भोग्नुपरेको पीडा देखाइएको छ र शान्तिवार्तापछि लुटेका धनले धनी बनेका ती गाउँले भाइ दम्पत्ति आफ्नै कुकर्मले सन्तान गुमाउन पुग्छन् र सत्कर्मको प्रयासमा तीर्थयात्रा गर्ने र समाजसेवा गरेका हुन्छन् ।
तिरस्कृता उपन्यासको नाम कसरी रहन गयो ? तपाईंलाई अचम्म लाग्न सक्छ । यो तिरस्कृता ग्रहको बारेमा लेखिएको उपन्यास हो । सुरभी ग्रह, तिरस्कृता ग्रह, पृथ्वी ग्रह जस्ता धेरै ग्रहहरुका कुराहरु छोटकरीमा आएका छन् । तिरस्कृता ग्रहमा पृथ्वीमा तिरस्कृत भएका आत्माहरुले त्यहाँ जीवन पाउँछन् । क्रियान तिरस्कृता ग्रहमा पुगको हुन्छ । तर कसरी ? यो पढ्न तपाईंले उपन्यास पढ्नुपर्ने हुन्छ । उचिण्डिता जसलाई गर्भावस्थामा एवोर्सन गरिएको थियो । उसलाई पनि तिरस्कृता ग्रहमा भेट्न सकिन्छ । क्रियान नमरिकनै कसरी तिरस्कृता ग्रहमा पुग्यो ? क्रियानले लुमेशलाई फेरि किन भेट्यो ? यिनै रहस्यले तपाईंलाई अन्तिमसम्म तानिरहन्छ ।
यी रहस्यहरु खोल्नको लागि यो पुस्तक पर्याप्त छैन । तिरस्कृता ग्रहको बारेमा थोरै मात्रै किन खुलाईयो ?
समग्रमा उपन्यासले समाजमा भइरहेको शक्तिको खिचातानी, तुलनात्मक खुशीले निम्त्याएको पीडा र अस्वस्थ प्रतिस्पर्धा, खराब कर्मको कारणले मानिसहरुले पाउने दुख, पीडा र मानसिक असन्तुलनलाई देखाउन प्रयास गरिएको छ । धनको आडमा छुपेको अनगिन्ती खराब कामहरु र न्यायलाई पैसाले किन्न सकिने कुरालाई पनि उपन्यासमा देखाउन खोजिएको छ । वास्तवमा पुस्तक पढिरहँदा तपाईंले आफूलाई र आफ्नो व्यवहारलाई एकचोटी नियाल्ने मौका पाउनुहुन्छ । हामीले खुशीको लागि लुटिरहेको खुशीप्रति पनि सजग गराउन यो उपन्यासले पक्कै सघाउँनेछ । कथाको न्यारेटरलाई निर्वाण भन्ने कुरामै शंका छ । यो हुन्छ कि हुन्न भन्ने दुविधा उनको मनमा रहेकोले कथा पनि दुविधामै सकिन्छ । आफूले देखेसम्मको सत्यलाई तटस्थरुपमा यो पुस्तकमा उतार्ने काम भएको देखिन्छ ।
सुखको खोजीमा देशदेखि विदेशसम्मको यात्रा गरेको लुमेश भन्ने पात्रको सुखको खोजी अन्योलमै हराउँछ । खराब कर्मको परिणाम खराब मिल्छ भन्ने कुरालाई यहाँ विशेष जोड दिइएको छ ।
किताबले समग्रमा एउटा पात्रको माध्यमबाट समग्र पाटो उजागर गर्ने क्रममा केही कमीकमजोरी पनि देखिन्छ । लुमेशको अध्यात्मिक यात्रा, जंगलका यात्राहरु, बनारसको यात्रामा पुगिरहँदा पाठकहरु पनि लुमेशको निर्वाण प्राप्तिको लागि कामना गर्न बाध्य हुन्छन् । लुमेशको निर्वाणप्रतिको तीव्र चाहनाले पाठकलाई तानिरहन्छ । लुमेशको जिन्दगीको सबै पाटो देखाउने प्रयास केही हदसम्म राम्रो भएपनि जिन्दगीको सबै पाटोलाई उत्तिकै गहिराईमा देखाउन लेखक चुकेका छन् । अष्ट्रेलियाबाट के कस्तो परिस्थितिले नेपाल फर्किए ? लेखकले साहुप्रति गरेको धोका मात्रै भनेर त्यस पाटोलाई वेवास्ता गरिदिएको भान हुन्छ । सपनाले पुरिएर पुगेको युवकलाई कस्तो चोट परेर स्वदेश फर्कन्छ यो कुरा कतै प्रष्ट हुँदैन ।
लुमेशले पाएको सफलता पनि नाटकिय लाग्छ । पहिलो खुड्किलो चढेर एकैचोटी टुप्पामा पुगेको जसरी कथालाई अघि बढाइएको छ । कथालाई रोचक बनाउनको लागि झ्याप्प झ्याप्प पात्रहरु खडा गरिएको छ । क्रियान एक्कासी हराउनु र फेरि कुम्भमेलामा भेटिनु अनि उसले अर्को ग्रहको बारेमा गरेको वर्णनलाई सत्य मान्नै सकिदैँन । यथार्थको कसीमा जाँच्दै अघि बढेका पाठकहरु अन्तिममा आइपुग्दा नराम्रोसँग धक्का खान्छन् । तिरस्कृता उपन्यास वास्तवमै एउटा रहस्य नै रहस्यको कुञ्ज हो । जे पनि होला होला जस्तो लाग्छ । वास्तवमै भइदिदैँनन् ।
यो पुस्तक आफैँमा सुन्दर छ । लेखकले जिन्दगीभरी पाएको दुखको भकारी र टुंगो नलगाइसकेको अध्यात्मिक खोजको बारेमा अल्मल्याईरहेर जिन्दगीलाई नियाल्न प्रेरित गरेका छन् । लुमेशको जीवन बग्दैबग्दै नेपालको इटहरीबाट अष्ट्रेलिया पुग्छ । अष्ट्रेलियाबाट नेपाल आइपुग्छ । नेपालमा नवधनाड्यको सुचीमा पर्छ । समाजसेवी कहलिन्छ । फेरि यसरी नै बग्दैबग्दै हिमालय पर्वतको नीलगिरि जंगलमा पुग्छ । फेरि चारधामहरुमा पुग्छ । लुमेश जिन्दगीप्रति आशावादी र कर्मशील पात्र हो । उनले जीवनलाई साँघुरो र संकीर्ण सोचबाट नहेरी जिन्दगीको विशालता बुझाएका छन् । दैनिकीको भागदौडबाट आजित व्यक्तिहरुलाई खुशी खोज्नको लागि झक्झकाएका छन् ।
यो पुस्तक पढ्नेहरु सबैलाई भौतिक सुख,सुविधाको क्षणिकता र वास्तविक आनन्दको खुशीको मुहान खोज्नको लागि बाध्य पारिदिनेछ । आखिर सुख कहाँ छ ? निर्वाण साँच्चै छ वा जिन्दगीको भागदौडबाट केही क्षण अलग रहनको लागि रचिएको आदर्शता ? निर्वाणप्राप्त व्यक्ति कस्तो हुन्छ ? लुमेशले त्यत्तिको साधना गर्दागर्दै पनि उसले निर्वाण किन प्राप्त गर्न सकेन ? के लुमेश सुखको खोजीमा भौतारिएको मानसिक रोगी हो ? यस्तैयस्तै विचारहरुले तपाईंलाई मष्तिष्कमा ज्ञानको ढोका खोल्न मद्धत गर्छ ।
बग्दै गरेको जिन्दगीलाई प्रेम गर्नुहुने सबैलाई यो पुस्तक मनपर्न सक्छ । जिन्दगी बाँच्ने क्रममा कहीँ कतै हामी पनि लुमेशको जिन्दगीको केही अंश बनेकै हुन्छौ । अन्योलताबीचको जिन्दगी बाँच्नेहरु र जिन्दगीको अर्थ खोज्नेहरुलाई पुस्तक आफ्नौ भोगाईको डायरी लाग्नेछ । यो उपन्यासभन्दा बढी लुमेशको जिन्दगीको उतारचढावलाई ठ्याक्कै शब्दमा उतारिएको डायरी भन्नु उपयुक्त होला । क्रियान हराउनु र फेला पार्नुको रहस्य र त्यसमा प्रयोग गरिएको काल्पनिकताले साँच्चै उपन्यासलाई पठनीय बनाएको छ । मनसरा र कल्पना भन्ने पात्रको अस्वभाविक र रहस्यमय मृत्युको बारेमा समाजकै जिम्मा लगाएर लेखक पन्छिएका छन् । हाम्रो समाजमा के त्यसरी नै जिन्दगीहरु हराईरहेका छन् ?
पुस्तक पढिसक्दा मेरो मनमा जिज्ञासाहरु शान्त हुनुको सट्टा झन्झन् जिज्ञासाका ज्वालाहरु दन्दनी बलिरहेका छन् । लुमेशले भौतिक सुख,सुविधा त्यागेर वास्तवमा के पायो ? उसले चाहेको असल गुरु पायो र मुक्तिको मार्गदर्शन भेट्टायो ? भौतिक जिन्दगी जिउनु ठिक होला कि अध्यात्मिक मार्गमा लागेर सुखको खोजीमा यात्रा गर्नु ठिक होला ? लेखकले किन लुमेशको जिन्दगीलाई निर्वाणको यात्रामा सफल नबनाएर बीचैमा झुण्ड्याइरहेका होलान् ?
असल पुस्तक त्यो हो, जसले प्रश्नहरु जन्माउँछन् । साँच्चै यो पुस्तकले तपाईंको कुनै पनि प्रश्नको सन्तुष्ट जवाफ दिने सामथ्र्य राख्दैनन् । तर तपाईंलाई प्रश्न खोज्नको लागि भने झक्झक्याइरहन सक्छ ।
पुस्तकको अन्त्यले पाठकको मन शान्त हुँदैन । अध्यात्मिक यात्रालाई सुन्दर ढंगले देखाइए पनि पात्रको अध्यात्मिक यात्रा टुंगोमा पुगेको छैन । लुमेशको अध्यात्मिक यात्रालाई सुरुमा देखाएर कथा अगाडि बढाउँदै अरु कुरा फ्ल्यासब्याकमा देखाउन सकेको भए किताब अझै सुन्दर बन्न सक्थ्यो । यो पुस्तकको पात्र लुमेशलाई न्याय गर्नको लागि भए पनि यसको अर्को पाटो लेख्नैपर्छ । लुमेश मानसिक रोगी हो वा साँच्चै निर्वाणको यात्रामा अगाडि बढिरहेको मानिस ? यो कुरा कतै पनि प्रष्ट नखुलाएर लेखकले चर्तुयाई गरेका छन् ।
अब आउने पुस्तकमा लुमेश भन्ने पात्र सशक्त रुपमा आउनेछ भन्ने विश्वाससहित ।
If you want :
https://www.sahityapost.com/2020/08/14248/
No comments:
Post a Comment