Thursday, September 3, 2020

यहाँ काम पाइन्छ ?

 


‘स्वर्णीमले तपाईंलाई कत्ति सोधिराख्छ यहाँ आएर ।’ कान्छी बहिनीले फोनमा सुनाई ।

‘कता हराई, मलाई नभनी भनेर आँखाभरि आँसु पारेको थियो ।’ आमाले थपिदिइन् । आफ्नी छोरीको प्रेमको साक्षी आमालाई पनि स्वर्णीमको बिहे चित्त बुझेको थिएन ।

विरक्तिएर स्वर्णीम काठमाडौँ पुगेको खबरले जुनमाया चैनले गाउँमा बस्न सकिनन् । प्रेमले कहाँ समाजका नियम र बन्धनहरू मानिबस्छ ?

जुनमाया पनि काठमाडौँ पुगिन् । 

‘यहाँ काम पाइन्छ ?’

सिन्धुपाल्चोकको धादिङ भन्ने ठूलोे गाउँमा साइँली छोरीका रूपमा जुनमाया जन्मिन् । उनका दुई दिदी र चार बहिनी । छोरी पाउँदापाउँदै दिक्क भएपछि जुनमायाका बाबुआमाले छोराको आशा बन्द गरिदिए । पहिला ज्यालामा काम गर्ने उनीहरू अहिले अरूको खेत कमाएर जिन्दगी चलाइरहेका छन् । लगाएको अन्नमध्ये आधा उनीहरूको घरमा भित्रन्छ, आधा जग्गाधनीको घरमा । 

 त्यस गाउँमा मोही (जग्गा कमाउने)को भूमिकामा उनीहरूको परिवार छ भने तल्सिङको भूमिकामा छन्, रणबहादुर खत्री । रणबहादुरको घरमा काम गर्ने तीन जना थिए – राम, जुनवीरे र मोहनदेव । यीमध्ये सबैभन्दा सानो जुनवीरे आठ वर्षको थियो । गाउँका सबैले माया गर्थे उसलाई । उसैको नामबाट प्रभावित भएर साइँली छोरीको नाम जुनमाया राख्यो हरिबहादुरले । जुनमाया जन्मेदेखि घरमा लच्छिन भित्रिएको महसुस गथ्र्यो उनको परिवार । गाउँमा हरिबहादुरलाई कामको कमी थिएन । जसले पनि दिन्थ्यो । पहिले जसरी हात जोड्दै ‘यहाँ काम पाइन्छ ?’ भन्दै हिँड्न पर्दैनथ्यो । जुनमाया पेटमा आएदेखि उनीहरूले रणबहादुर खत्रीको जग्गा कमाउन पाएका थिए । रणबहादुर यस गाउँका ठूला जमिन्दार हुन् । जुनमाया पेटमा आएदेखि उसको घरमा दूध, मोही टुट्दैनथ्यो । (गाउँका सबैले यसपालि हरिबहादुरको छोरो नै हुन्छ भनेर ठोकुवा गरेका थिए । छोरो जन्मन्छ भनेर सबैले उसको घरमा सागपात, दूध, मोही दिइरहन्थे ।)

छोरी जन्मी । गोरी, उजेली, राम्री । नाम राखियो, जुनमाया ।

‘कस्तो बाहुनकै जस्ती बच्ची पायो हरिबहादुरले त ! कति भाग्यमानी रहेछ ! त्यस्ती गोरी, उजेली छोरी !’ 

यसपालि छोरो नभए पनि जुनमायाको जूनजस्तो अनुहारले हरिबहादुरले लामो सास फे¥यो । जुनमाया हुर्कंदै गई । 

जुनमाया राम्री भएकै कारण स्कुल जान पाई । कारण थियो, रणबहादुरको कान्छो नाति स्वर्णीम जुनमाया भनेसी हुरुक्कै हुन्थ्यो । उसलाई एकछिन छोड्न मान्दैनथ्यो । जुनमाया आठ वर्षको भएपछि रणबहादुरकै घरमा बसी । त्यहीँ बसेर पढी । रणबहादुरको परिवारले जुनमायालाई औधी मन पराउँथ्यो । हरिबहादुरले जुनमायाको रूपको कारण त्यस गाउँमा इज्जत पायो । जमिन्दारले उनीहरूको परिवारलाई ऋण पत्याउँथे । हरिबहादुरका अरू छोरीहरू काला थिए अनि कुपोषण लागेजस्ता । 

जुनमाया दूध, मोही प्रशस्त खान पाएको कारणले हलक्क बढी । उसको बाउभन्दा अग्ली भई । 

‘मिस नेपालको जत्रो हाइट छ तेरो ।’ स्वर्णिमले जिस्काइरहन्थ्यो । स्वर्णीम दश कक्षामा पढ्थ्यो, जुनमाया आठ कक्षामा । जुुनमायाको स्कुलको सर्टिफिकेटमा नाम थियो, स्वर्णीमा कोइराला । बाउ नेपाली भए पनि रणबहादुरले जुनमायाको नाम र थर दुवै फेरिदिएका थिए । यसबारेमा प्रश्न गर्ने आँट न जुनमायाले गरी, न हरिबहादुरले । जुनमाया आफ्नो नाम स्वर्णीमा लेख्दा आत्मीयता महसुस गर्दैनथी । तर स्वर्णीमा नाम उसको जिल्लास्तरीय परीक्षाको सर्टिफिकेटमै होस् भन्दै रणबहादुरले दाबी गरिरह्यो ।

स्वर्णीम प्लस टु पढ्न काठमाडौँ पुग्यो । 

ऊ दशैँमा मात्र गाउँ फर्किन पाउँथ्यो । जुनमायालाई बच्चैदेखि नछोडेको उसले ऊसँगको प्रेमका बारेमा भने काठमाडौँ पुगेपछि मात्रै पत्तो पायो । 

‘ओइ आइजो न ।’ राती स्वर्णिमले जुनमायालाई  बोलायो । उनी लाजले शिर निहुराउँदै उसको कोठामा पसिन् । भुइँमा बसिन् । उसले उठाएर खाटमा बसायो । 

‘तँ मलाई माया गर्छेस् स्वर्णीमा ?’

स्वर्णीमाले आँखाभरि माया भरेर पुलुक्क हेरी ।

‘गर्दिनँ तँलाई । तेरा आमाबुवाले मलाई मार्छन् ।’

 स्वर्णीमाले जुनमायालाई दुवै हातले समात्यो । जुनमायाका ओठहरू थर्थराए । जुनमाया स्वर्णीमको बढिरहेको धड्कन सुन्नसक्ने गरी नजिक थिई ।

‘स्वर्णीमा  ! ए स्वर्णीमा !’

जुनमाया हत्त न पत्त उठी र जुठो प्लेट समातेर स्वर्णीमको कोठाबाट बाहिर निस्की । दशैँ, तिहार सकियो । स्वर्णीम गाउँबाट जुनमायाको स्मृतिहरू बोकेर फर्कियो ।  

स्वर्णीमसँगको बढ्दो मित्रता र हिमचिमका कारण जुनमायालाई त्यस घरमा धेरै नराख्ने विचार रणबहादुरको परिवारले गरे । जब घरमा स्वर्णिमको कुरा हुन्थ्यो, जुनमाया चनाखो भएर सुनिरहन्थिन् ।  

२०७१ साल मङ्सिर २१ गते । जुनमायाको विवाह जुनवीरेसँग भयो । 

जुनमायाले आफ्नो भाग्य मानेर स्वीकारी । विद्रोह गर्न सकिन । स्वर्णिमलाई खबर नगरी जुनमायाको विवाह गरियो । जुनवीरेलाई रणबहादुरले सुनसरीको हरिपुरमा दुई कठ्ठा जग्गा किनिदिए ।

स्वर्णिम बाह्र कक्षामा पुग्यो । जुनमायाका बारेमा पटकपटक सोधिरहन्थ्यो । घरकाले उनका बारेमा नराम्रोनराम्रो सुनाउँथे । ऊ फिटिक्कै विश्वास गर्दैनथ्यो । स्वर्णीम गाउँ आयो भने जुनमायालाई खोज्छ भनेर दशैँको टीका काठमाडौँमा लगाउने भए । 

‘गाउँबाट जुनमाया हराई ।’

‘पोइला गई ।’

‘त्यसलाई रणबहादुरको नुनको पाप लाग्छ ।’ यस्तो भनेर गाउँलेले कुरा काट्छन् भनेर स्वर्णीमलाई सुनाइराखिन्थ्यो ।

जुनमायाको विवाहबारे उसलाई केही बताईएन । शहरका केटीहरूमा स्वर्णीमालाई खोज्दै बस्थ्यो । उसलाई सिङ्गो स्वर्णीमा चाहिएको थियो, तर किस्ताकिस्तामा स्वर्णीमाको स्वरूप भेट्थ्यो । कुनै केटीमा पनि उसको मन अडिएन ।

स्वर्णिमलाई अल्झाउन भए पनि उसको विवाह गरिदिने निर्णय घरकाले गरे ।

हराएकी भनिएकी जुनमायाले तराईमा हरिपुरको दुई कठ्ठा जमिनमा तरकारी फलाई । उनीहरूले त्यति जग्गामा आफ्नो पसिना बगाए । जुनवीरेलाई स्वर्णिमको बिहेको निम्तो आयो । वैशाख ८ गते जुनवीरे सिन्धुपाल्चोक जाने भयो । त्यसको दुई दिनपछि बिहे थियो । 

‘बिहे नहोस् । स्वर्णीमको बिहे नहोस् ।’ जुनमायाले हरेक बिहान यही भनेर दियो बाल्थिन् । वैशाख १२ गते ठूलो भूकम्प गयो । सिन्धुपाल्चोकका धेरै गाउँ ध्वस्त भए । भूकम्पमा ज्यान गुमाउनेमा स्वर्णीमकी नवविवाहित बेहुली पनि थिइन् । उनी त्यो दिन गोठमा गएकी थिइन् । भूकम्पले गर्दा उनीहरूको गाईभैँसी पुरिएका थिए । बेहुली पनि त्यसमै पुरिइन् । उत्खनन गर्दा उनको प्राण उडिसकेको थियो । गाउँमा लगभग ८ जना जति भूकम्पमा परेर मरे । गाउँका घरहरू धेरैजसो सोत्तर भए । वैशाखमा गएको जुनवीरे असारमा बल्ल सुनसरी फर्कियो ।

जुनमायाले आमाबुवाबाट गाउँको खबर सबै पाएकी थिई । हातहातमा मोबाइल आइसकेको जमाना थियो ।

स्वर्णीम बेहुलीको लास देख्नेबित्तिकै गाउँ छोडेर काठमाडौँ पसेको थियो ।

काठमाडौँमा कम्तीमा जुनमायाका यादहरू थिएनन् । गाउँमा जता हेरे पनि उसलाई जुनमायाले सताउँथी ।

‘तैँले मलाई धोका न’दे है ? तैँले अरुसँग बिहे गरिस् भने मरिदिन्छु ।’ जुनमायालाई धोका दिएको ग्लानिले उसलाई निद्रा लाग्न छोडेको थियो । उसले दबावमा आएर बिहे गर्न हुँदैनथ्यो । बिहे नगरेको भए त्यस केटीको जिन्दगी बच्ने थियो । राम्रोसँग अनुहार पनि याद नभएकी मरेकी आफ्नी नव दुलहीलाई सम्झिन खोज्यो, अहँ सकेन । बरु आँखामा जुनमाया नाची ।

‘यहाँ काम पाइन्छ ?’

जुनमायाले अलिक चर्को आवाजले होटलकी साहुनीलाई सोधिन् ।

उनले बसपार्ककै होटलमा भाडा माझ्ने काम पाइन् । तीन महिना त्यहीँ काम गरी । उनको पेटमा जुनवीरेको नासो हुर्कंदै थियो । काम धेरै, पैसा थोरै । उनको मेहनत देखेर त्यहाँ चिया खान आउने एउटा ग्राहकले ढल सफा गर्ने काममा मिलाइदियो । थोरै काम, धेरै पैसा । तर अत्ति घिनलाग्दो । पेटको बच्चाका लागि धेरै कमाउनुपर्ने बाध्यता थियो ।

 उनले पाँच महिना त्यहाँ काम गरिन् । काम गर्दागर्दै बच्चा जन्माइन् । कताको हस्पिटल, कताको अप्रेसन, कताको आराम । सुत्केरी भए पनि उनको काममा जाने श्रृङ्खला कहिल्यै टुटेन । ज्वरो आउँदा एन्टीबाइटिक खाएर काममा निस्कन्थिन् । यो बेलामा भने उनलाई एक्लै हुँदाको पीडा महसुस भयो । बच्चाका लागि पनि उनले आफूलाई आँटिलो बनाइराखिन् । बच्चा आँट र विश्वास दुवै हो ।

 उनी काठमाडौँ पुगेको खबरले जुनवीरे जुनमायालाई खोज्दै काठमाडौँ आइपुग्यो ।

भूकम्पले थिलथिलो भएको काठमाडौँमा भौँतारियो, काम खोज्दै ।

‘यहाँ काम पाइन्छ ?’

‘मैले जुनमायासँग बिहे गर्न हुँदैनथ्यो । रणबहादुरको नातिलाई उसले मन दिएकी थिई । मैले बिहे गरेर गल्ती गरेँ । भेट भयो भने माफी माग्छु ।’ जुनवीरे आफूले गरेको गल्तीको प्रायश्चित गर्न चाहन्थ्यो ।

जुनवीरेले भारी बोक्ने काम पायो । कुनै न कुनै दिन जुनमायासँग भेट हुन्छ भन्ने आशा थियो उसमा ।


भर्खरै १९ वर्ष चढ्दै थिइन् स्वर्णीमा । बिहे गरेपछि माइती कहाँ आफ्नो हुन्छ ? माइतीमा दुःख बिसाउन मन लागेन उनलाई । स्वर्णीम जिन्दगीदेखि विरक्तिएको दोष आफ्नै मान्थिन् । ‘बिहे नहोस् भनेर बिहान दियो नबालेको भए  भूकम्प जाँदैनथ्यो कि ?’ प्रेममा कति धेरै शक्ति हुँदो रहेछ । त्यही शक्तिले भूकम्प गएको उनको विश्वास थियो । त्यो समयको संयोग थियो तर उनको जिन्दगीको प्रेमको स्तम्भ बनेर उभियो । माइतीमा सबै सन्चै भए पनि उनको जिन्दगी भत्किएको थियो । सपना भत्किएको थियो । उनी एक छाक खाने र आफूलाई बचाउने धुनमा शहर पसिन् । शहर गाउँजस्तो कहाँ छ र ? निर्दयी शहरमा काम खोज्दै भौँतारिन् । 

‘यहाँ काम पाइन्छ ?’

उनको श्रमभन्दा जवानी किन्न चाहनेहरू धेरै भेटिन् । सुरुमा होटलमा काम गरिन् । होटलमा रक्सीसँगै उनको जवानीलाई सितन बनाएर खान खोज्नेहरूबाट धेरै असुरक्षित रहिन् । 

होटलमा काम गर्न छोडेर ढलमा काम गर्न थालिन् । त्यो पनि छाडेर कपडा पसलमा कपडा बेच्न बसिन् । महिनाभरिमा आउने थोरै तलब । उनी कपडा दोकानमा अल्झिन चाहिनन् । बच्चाका लागि भए पनि उनले धेरै कमाउनुप¥यो ।

‘यहाँ काम पाइन्छ ?’

महानगरपालिकामा उनले दुई वर्ष कुचो लगाउने काम पाइन् । त्यहाँ काम गर्दा उनको बचत पनि भयो । बच्चा पनि हुर्कंदै थियो ।

त्यहाँ काम गरेको दुई वर्षपछि उनको काम खोसियो । किन खोसियो ? उनले थाहा पाइनन् ।

‘यहाँ काम पाइन्छ ?’

जुनमाया यो शहरसँग परिचित थिइन् । उनलाई गल्लीगल्ली चहारेर कसरी काम खोज्नुपर्छ थाहा थियो । उनी लगभग एक साता कामको खोजीमा भौँतारिइन् । बच्चाका लागि पनि उनले मेहनत गरिरहनुपथ्र्यो । धन्न बच्चा कहिल्यै बिरामी परेन । (एक वर्ष चार महिनाको हुँदा ज्वरो र खोकीले सताएर बाल अस्पताल लग्नुपर्ने बाहेक केही बिमार भएन । दुःखीलाई भगवान्ले हेर्दा रहेछन् कि !)

‘यहाँ काम पाइन्छ ?’

जुनमायाले काम पाइन्, पानीको जार ओसार्ने । जारको गाडी विभिन्न पसलमा पुग्थ्यो पानीको जार बोकेर । उनी ती पसलमा भरी जार झारिदिन्थिन् । रित्ता जारको हिसाबकिताब राख्थिन् । जुनमायालाई स्वर्णीमसँग भेट हुन्छ भन्ने विश्वास थियो ।

छोरा २ वर्ष ३ महिनाको भयो । उसलाई राम्रो पढाएर नेता बनाउने सपना थियो । उनले ठूलो मान्छे भनेकै गाउँमा चुनावमा भोट माग्न आउने नेतालाई देखेकी थिइन् । ती फूलमाला, अबिरले पुरिएर आउँथे । कोट, पाइन्टमा ढाका टोपी ढल्काउँदै ।

उनले आफ्नै पसल गर्ने निधो गरिन् । थोरैथोरै गरेर बचत गरेको पैसा सहकारीमा पुग नपुग दुई लाख भएको रहेछ । उनको तीन वर्षको बचत ।

सहकारीबाट पैसा निकालिन् । उनले पार्टनरसीपमा पसल गर्न खोजेकी थिइन् । ती दिदी उनकै माइती गाउँकी दिदी थिइन् । राती अबेरसम्म उनीहरूले पसलका बारेमा गफ गरेर बिताए । बिहान उठ्दा ती दिदी र पैसा  दुवै गायब ।

उनले ती दिदीले काम गरिरहेको ठाउँमा पुगिन् । दिदी त्यो दिन काममा आएकै थिइनन् । ती दिदीेका बारेमा त्यहाँको साहुजीलाई पनि थाहा थिएन । 

‘तपाईं कहाँ काम गर्नुहुन्छ ?’

‘गौशालाको मारवाडी शुद्ध भोजनालयमा । मलाई होटलको आइडिया छ ।’

‘दिदी, मसँग पैसा पनि छ । सानो होटल चलाम्न त । कत्तिको चल्छ कुन्नि ? फेरि पछि... घाटा भयो भने ।’

‘केही हुन्न । चिन्ता नलिऊ । म छँदै छु । बरु पैसा निकालिहाल । सामान किनिराख्नपर्छ ।’ 

उनलाई ती दिदीले सबै कुरा झुठो बोलेकी  थिइन् । उनीसँग पैसा छ भन्ने थाहा पाएरै नजिकिएकी थिइन्, ती दिदी । जुनमायाले यस कुराको सुइँको पैसा लिएर फरार भएपछि बल्ल बुझिन् ।

‘अब के गर्ने ?’ उनी नराम्ररी टुक्रिइन्् । उनले देखेको सपना त्यत्तिकै तुहियो ।

काम नगरी खान पुग्दैनथ्यो । उनले ज्यामी काम गर्न थालिन् । बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म । पैसा दिनको हजार रुपैयाँ । इँटा बोक्दै बच्चा हुर्काउने, काठमाडौँको महँगो कोठाभाडा तिर्ने गरिरहेकी थिइन् । फेरि काम सधैँ मिल्दैनथ्यो । उनले बिहानबिहान सिलाइ–कटिङको तालिम लिन थालिन् कोठानजिकै । उनले एउटा सिलाइ मेशिन किनिन् । भाग्यले पनि उनलाई साथ दिइरहेकै थियो । 

तीन महिनापछि उनले ज्यामी काम पाइनन् । 

‘तिमी हाम्रोमा काम गर न । पैसा थोरै भए पनि सजिलो हुन्छ तिमीलाई ।’

उनको मेहनत र दुःख देखेर त्यहाँका घरबेटीले कपडा धुने, घर सरसफाई गर्ने काममा लगाए । पैसा थोरै आए पनि घरको काम सजिलो थियो । कपडा धुने, घर सरसफाई गरिदिने गरेपछि अरू घरकाले पनि उनलाई बोलाउन थाले । उनी फेरि व्यस्त रहिन् । लगभग नौ महिनाको ट्रेनिङपछि उनले कुर्ता–सरवाल सिलाउने; सर्ट, पाइन्ट, फ्रकदेखि लिएर जिन्सका रेडिमेड आइटम पनि तयार गर्न सिकिन् । तर उनीसँग पैसा थिएन टेलर खोलेर बस्न । शहरमा उनलाई कसले पत्याओस् ऋण । घरकै काम गरेर बसिरहन पनि भएन । अब त उनको हातमा सीप थियो ।

‘यहाँ काम पाइन्छ ?’

उनी फेरि ३ वर्षको छोरो च्यापेर काम खोज्न निस्किन् । एउटा टेलरमा लुगा सिलाउने होइन, त्यहीँ बसेर कपडा बेच्ने काम पाइन् । उनले त्यहाँ १५ दिन काम गरिन् । त्यहाँ काम गर्दागर्दै नजिकैको टेलर्समा मान्छे चाहिएको खबर पाइन् । उनी त्यहाँ काम पाउने आसले गइन् ।

‘यहाँ काम पाइन्छ ?’

त्यस दोकानकी साहुनीले जुनमायालाई तलदेखि माथिसम्म हेरी र काम छैन भनेर पठाइदिई । राम्री जुनमायालाई काममा राख्दा उसको बूढो ऊतिर लाग्छ भन्ने उसलाई लागेको थियो । ऊ आफ्नो बूढोलाई सकेसम्म अलक्कै राख्न रुचाउँथी । कोही राम्रा ग्राहकहरू धेरै बेर  बार्गेनिङ गरिरहे भने बेलुका घरमा रडाको मच्चाउँथी ।

‘दिदी, मेरो बच्चा सानो छ । मलाई यहाँ काम दिनुस्् न । म राम्रो लुगा सिलाउँछु ।’ 

उसको बच्चा छ भनेपछि साहुनी ढुक्क भई । 

‘बूढा कता छ ?’

जुनमायाले काम खोज्दा केके झुठो बोल्नुपर्छ जानेकी थिईन् । काम मात्रै होइन, कोठा खोज्दा पनि झुठो बोल्नुपर्छ भन्ने कुरामा उनलाई ज्ञान थियो । काठमाडौैँलाई सत्य मन पर्दैन । सत्यले काठमाडौँको सभ्यता सङ्कटमा पर्छ । ऊ काठमाडौँलाई चुनौती दिन चाहँदैनथी । शान्त शहरलाई शान्त रहोस् भन्ने चाहन्थी । नभए काठमाडौँको एकएक काला व्यापारहरू र कर्तुतहरु उनलाई थाहा थियो । कालोबजार र कालो धन्दा गर्नेहरू पनि सेतो कपडामा ठाँटिएर हिँडेका देखेकी थिई ।

‘बूढा एफ.एम.म.मा चिया पकाउने काम गर्नुहुन्छ ।’ बूढा पनि सँगै भएको र बच्चा पनि सानै भएकोे कारण उसले जुनमायालाई त्यहाँ काम दिने भई ।

उसले त्यहाँ एक वर्षसम्म काम गरिरहिन् । राम्रो कमाइ भइरहेकै थियो । उनले नयाँ टेलर्स खोल्नका लागि पैसा जम्मा पारिरहेकी थिइन् । तीनवटा सिलाइ मेशिन किनेर उनले आफ्नै काम सुरु गरेको एक महिना नबित्दै देश कोरोनाको कारण लकडाउन भयो । भएको अलिली पैसा सिलाई मेशिन र भाडाको एडभान्स दिँदैमा सकियो । 

उनी फेरि पहिलेकै अवस्थामा आइपुगिन् । लकडाउन मानेर आनन्दले बसिरहन उनीसँग बचत थिएन । बच्चो पिरोलिरहन्थ्यो । लकडाउन भएको एक हप्तापछि उनी काम खोज्दै निस्किन् । 

‘यहाँ काम पाइन्छ ?’

उनलाई मागेर खान कहिल्यै आएन । उनी बच्चालाई पिठ्युँमा लिएर बिहानै तीन बजे कामका लागि हिँड्थिन् । अनि बेलुका ६ बजे कोठामा छिर्थिन् । लकडाउन भए पनि उनले बसेर खान पाइनन् । 

‘यहाँ काम पाइन्छ ?’

यस्तो बेलामा कहाँ काम पाउनु ? बरु सरकारले राहत बाँडिरहेको छ । त्यहीँ लिनु न ।

उनले लिइनन् । राहत दिएर फोटो खिचिरहेकाहरू देखेर उनको स्वाभिमानले अस्वीकार ग¥यो । फोटो खिचेर फेसबुकमा राख्छन् । त्यसरी मागेर खानु ? सकुन्जेल मागेर खान्नँ । हुँदै भएन भने पो । म भोकै भए पनि यो बच्चालाई खुवाउन पाए पुग्यो । यस्तो विपत् सबैलाई परेको छ । सबैलाई गाह्रो छ । उनले सरकारले बजेट खन्याएको बाटो निर्माणमा काम पाइन् ।

विकल्प खोज्यो भने त पाइँदो रहेछ । 

अनिश्चित भविष्यको डर उनको आँखामा थिएन । यो काम सकिदाँसम्म लकडाउन खुलेन भने के गर्नुहुन्छ ?

काम खोज्दै हिँड्छु । मलाई काम गरेर खान कहिल्यै लाज लागेन । काम जस्तो होस् । मैले एक समय ढल सफा गर्ने काम पनि गरेर हिँडेँ । काम गर्दै जाँदा काम दिने मान्छेहरू पनि भेटिँदै जान्छन् । 

‘मेरो बिहे भइसक्यो । बूढो काठमाडौँमा मलाई खोज्दै आएको छ रे । भेट भएकै छैन । जिन्दगी यस्तै रहेछ । ऊसँग भेट भए हुन्थ्यो जस्तो लाग्छ ।’

‘स्वर्णीमलाई अझै माया गर्नुहुन्छ ?’

‘खै, बच्चामा केके गरियो । लब भन्ने कुरा पनि त्यस्तै रहेछ । ऊ पनि काठमाडौँमै छ भन्छन् । तर हाम्रो भेट भएकै छैन ।’

जुनवीरे जुनमायालाई खोज्दै हिँड्छ ।

स्वर्णीम जुनमायालाई भुल्नका लागि नयाँनयाँ केटीलाई फेसबुकमा फ्लर्ट गर्दै बस्छ । उसलाई हराएकी जुनमाया भेटिन्छे भन्ने लाग्दैन । अरूसँग पनि जोडिन सक्दैन । 

‘हामी कहिले बिहे गर्ने ?’

‘प्लस टु पढ्न काठमाडौँ आइजो अनि पशुपतिमा लगेर सिन्दुर लगाइदिन्छु ।’ स्वर्णीम जुनमायालाई सम्झिएर टोलाउँछ । कोरोनाको डरले कोठाभित्रै खुम्चनुपर्दा झन् जुनमायाका यादहरूले चिमोट्छन् । 

‘हाई ।’

केटीको म्यासेज आउँछ उसलाई । ऊ कतै सामाजिक सञ्जालतिरै भुल्छ । घरीघरी जुनमायाको याद आउँछ र सर्च लिस्टमा खोज्छ, ‘जुनमाया नेपाली ।’

‘स्वर्णीमा कोइराला ।’

असारको अन्तिम हप्ता लकडाउन खुल्यो । उनको पसल खुल्ने कुरै थिएन । खोले पनि कहाँ चल्नु ? बुझाउनुपर्ने भाँडा उस्तै थियो । बरु उनले सामान पनि छाडिदिने र सटर पनि नखोल्ने भइन् । परिस्थितिले मान्छेलाई कहिलेकाहीँ बेइमान बनाउने रहेछ । उनी फेरि काठमाडौँको गल्लीमा उसैगरी भौतारिँदै छिन् ।

‘यहाँ काम पाइन्छ ?’

क्रमशः.............................

If you want :

https://kavyalaya.com/any-job-here/



No comments:

Post a Comment