Thursday, September 3, 2020

शब्दको जादु





‘कस्तो नराम्रो बच्चा । कति कालो ।’ भवानीले बच्चा हातमा लिदैँ भनी । 

‘तिमारु यति राम्रा छौँ । यो बच्ची किन यस्तो हाँडीजस्ती जन्मिएकी ? यसको बिहे हुन्छ ?’ लक्ष्मीले निन्याउरो अनुहार बनाईन् । लक्ष्मीलाई थाहा थियो, उसका कति काला संगीहरुको बिहे भएको थिएन । कालो भएकै कारण दाईजो धेरै दिएर छोरी पठाउनुपर्ने बाध्यता थियो । भएकाहरुको राम्रो थिएन । उनीहरुको एउटै गुनासो हुन्थ्यो । ‘राम्री नभए बुढाले हेला गर्छन् । मनै पराउँदैनन् । कान्छी ल्याउँछन् भन्ने डर लाग्छ कहिलेकाँही छ ।’ उनी आफूलाई गोरी भएर जन्मेकोमा गर्व महसुस गर्थीँ । उनको बुढाले अर्की ल्याउँदैनन् । उनी यो कुरामा ढुक्क थिईन् । 

कालो भएर छोरो भएको भए पनि हुन्थ्यो । छोरी । त्यसमाथि काली । नराम्री । लक्ष्मीले आफ्नी छोरीको भविष्य अन्धकार देखेर उसको गलासम्म हात पुर्याएकी थिइन् । खै, उनलाई के ले रोक्यो के ले । काली भए पनि छोरी हुर्कदै गईँ । बकुल्लाको हुलमा ऊ काग बनेर हुर्किरहेकी थिईँ ।

     छोरीलाई हातमा लिएर कैयौँ रात एक्लै सुक्सुँकाइरहन्थी ।

छोरी काली मात्रै होइन । उसमा अरु थप बैगुणहरुले पुरिएकी थिईँ । गाउँभरिकै बदमाश र छुच्ची । अरुको घरबाट जे भेट्यो त्यहीँ घरमा ल्याएर थुपार्ने गर्थी । छोरी तह लाउन नसकको भन्दै छिमेकी गाली गरिरहन्थे । छिमेकको घर जान्थी र उनीहरुका साना नानीहरुलाई कोपर्थी । छुटाउन खोज्दा बाऊआमालाई पनि कोपर्थी । गाउँभरिकै नराम्री र छुच्ची छोरी लक्ष्मीले पाएकी थिईँ ।

लक्ष्मीको बिहे धुमधामले भएको थियो । बत्तीसै लक्षणले युक्त थिईन् लक्ष्मी । गोरी, उज्याली । घरको काम सबै गर्नसक्ने । मेलापात, अर्मपर्म गईरहने । बिहान सबेरै उठेर भकारो सोहोर्ने, दुई घण्टा टाढा रहेको कुवाबाट पानी ओसार्ने, रुख चढेर घाँस झार्ने । सबै काम लक्ष्मी एक्लैले भ्याउँथिन् । लक्ष्मीको आमा बितेपछि उनले आमाले गर्ने सब काम गर्न थालेकी थिईन् । उनको बाऊ झन्झन् पीरले दुब्लाउँदै गएका थिएँ । लक्ष्मीको बिहे भएदेखि आफू मरिहाल्थेँ भन्ने लागेको थियो । उनको सास लक्ष्मी थिईँ । राम्रो घरबाट कुरा आयो । ढिला नगरी लक्ष्मीको बिहे गरिदिए । उनलाई एस.एल.सीसम्म पढेर बिहे गर्न मन थियो । तर आठ कक्षामै बिहे भयो । भाग्य सम्झेर स्वीकारिन् ।

उनी बिहे गरेर घरमा आउँदा गाउँभरी उनको रुपको चर्चा भएको थियो । लक्ष्मीले कस्तो बच्चा जन्माउँली ? ऊ यति राम्री छ । त्यसमाथि पोई पनि राम्रो । हिरो हुन्छ होला है । पधेँरामा यस्तो गफ गर्दै घण्टौँ बिताउँथे पधेर्नीहरु । 

लक्ष्मीको रुपको चर्चाको ठाउँमा अब उसकी छोरीको कुरुपको चर्चा हुन थालेको थियो ।

‘छिः कस्तो भैँसीको पाडो जस्ती हो त्यसकी छोरी । आमा, बाऊ दुबै राम्रो भएर के गर्नु ? के गोता गएर बच्चा त्यति नराम्रा हुन्छन् ? खै, म लक्ष्मीजत्ति राम्री नभए पनि बच्चाहरु त्यसका भन्दा राम्रा छन् है ।’ भवानी पधेँरामा लक्ष्मीको कुरा काटिरहन्थीँ ।

गाउँभरिमै सबैभन्दा सुन्दर बुढी पाईस् भनेर भन्ने साथीहरुले धनवीरको छोरीको रुप र उसको कालो भविष्य सम्झाएर उसलाई खिल्ली उडाउन थालेका थिए । छोरी पाएदेखि धनवीर साथीभाईसँग जमघटमा भेटिन छाडेको थियो । यसरी ऊ जन्मेदेखि अशुभ लिएर जन्मेकी थिईँ । गाउँमा बच्चाहरुकी भूत र परिवारको अपशकुन बनेकी थिईँ ।

दुधले नुहाईदिए गोरी हुन्छे भनेर उसलाई दुधले नुहाउने पनि गरियो । अहँ, ऊ गोरी भए पो । झन् कालोमा अझ निख्खर कालो हुँदै गई ।

उनीहरु गाउँमा बसिरहनै सकेनन् । 

‘त्यो बच्चा तिनीहरुको होइन जस्तो लाग्छ । सौताको होला । आमा त्यति राम्री छ ।’ उनको कोखमा प्रहार गरिएको योभन्दा धारिलो हतियार के हुन सक्थ्यो ? धनवीर लक्ष्मीको कुरा सुन्थ्यो र चुपचाप सुनिरहन्थ्यो । पुर्वजन्मको फल सम्झेर स्वीकार्न कोसिस गरिरहेको थियो । नियतिभन्दा बलियो के हुन सक्ला ? छोरी हुर्कदै गई । उनीहरुले अर्को बच्चा पाएँ । छोरो ।

उनीहरुले पोखराको बेगनासताल नजिकै फलफूल पसल थापेका थिएँ । राम्रो आम्दानी भईरहेको थियो । छोरोलाई बोर्डिङ्ग पढाउने भए । जमाना नै अंग्रेजी भएको बेलामा आफ्ना बच्चालाई अरुभन्दा कम बनाउन पनि भएन । 

छोरी नजिकैको बोर्डिङ्ग स्कुल जान थालेकी थिईँ । ऊ स्कुलबापट प्रश्न बोकेर घर आउँथी र भन्थीँ । ‘मलाई तपाईँहरुले बाटोमा भेट्टाएको रे हो ?’

लक्ष्मी छोरी काखमा च्याप्थी र भन्थी– ‘होइन । कसले भन्यो ?’ 

‘हाम्रो म्यामले भन्नुभएको । नभए म यति कालो किन भएको ?’ यसको उत्तर लक्ष्मीसँग पनि थिएन । भाई जन्मेपछि बच्ची झन् उद्दण्ड बन्दै गईरहेकी थिईँ । भाई गोरो, राम्रो, पकुल्ले थियो । आमाले भाईलाई माया गरेको देखिसहदैनथी । आमालाई कोपर्न थाल्थीँ । झन् रिसालु बन्दै गईरहेकी थिईँ । बिनासित्ति झगडा गर्न खोजिरहन्थीँ । 

भाईलाई एउटा टुक्रो बढी स्याउ दियो भने, अलिकति बढी दुध हालिदियो भने असन्तुष्टि देखाईहाल्थीँ । ऊ झन् बिद्रोही हुँदै गएकी थिईँ । हरकुरामा प्रश्न गरिरहन्थीँ ।

‘म कालो भएर तपाईँहरुले माया नगरेको हो ?’

भाई पनि स्कुल जाने उमेरको भयो । दुबैलाई बोर्डिङ्ग पढाउन सम्भव थिएन । उसलाई बोर्डिङ्गबाट निकालेर सरकारी स्कुल हालेपछि ऊ स्कुल जानै मानिनँ । ऊ झगडै गरेर भएपनि बोर्डिङ्गमै पढिरहीँ ।

दिनहरु बित्दै गए ।

उनीहरुकी उद्दण्ड छोरी चुपचाप टोलाउने भएकी थिईँ । नौ वर्ष टेकेदेखि ऊ र भाई किन फरक भन्ने बुझ्दैथीँ । हर कुरामा भाईलाई पछारेर अघि बढ्ने उसको स्वभाव कतै छुटाईसकेकी थिई उसले । भाईको साथमा सुरक्षित महसुस गर्न थालेकी थिईँ । हर कुरामा भाईलाई अघिअघि लगाएर पछिपछि रहन रुचाउँथी ।

छोरीमा आएको परिवर्तनले उनीहरु आश्चर्यमा थिएँ । तर खोजीनीति गरिरहने कसलाई फुर्सद ? बिहान सबेरै धनवीर पसल जान्थ्यो । लक्ष्मी बच्चाहरुलाई खाना खुवाईवरी धन्दा सकेर पसलमा बस्थीँ । 

केही कुरामा मुख नफर्काउने, भनेको सबै कुरा खुरुखुरु मान्ने भएकी थिईँ । भाईले काम नगर्ने । मैले गर्न पर्ने ? भनेर प्रश्न नगरी घरको काममा आमालाई सघाउँने भएकी थिईँ । ज्ञानी भईरहँदा त्यसको कारण पनि कसैले सोधिराख्छ ? सुरुमा लक्ष्मीलाई यो के भइराछ ? भनेर अनौठो लागेको थियो । तर विस्तारै स्वभाविक बन्दै गयो । 

बच्ची, लाटी हुँदै गएको महसुस गरेपनि उनीहरुले आनन्दको सास फेरेँ । छोरीहरु धेरै जान्ने, सुन्ने नभएकै राम्रो । काली त्यसमाथि बाठी, बिद्रोही भई भने बिहे नहुन सक्थ्यो । घरमा छोरा जन्मिएको छ भने ऊ रोयो भने अझै धेरै पिटेर चुप रहन सिकाईन्थ्यो । छोरी जन्मिई भने पिट्न लाग्याजस्तो गरेर बच्ची रुन लाग्दा काखमा लिएर म्वाँइ खाने गरिन्थ्यो । ती ठूला हुँदासम्म बुझिसक्थे । छोरो नरोईकनै रिसाएर आफ्नो माग कसरी पूरा गर्नुपर्छ भनेर जिद्धी गर्ने, मान्छे पिट्ने स्वभावको बन्थ्यो । बच्चीचाँही सुँक्कसुँक्क रोएर आफ्नो कुरा पूरा गर्न लगाउँथी । 

छोरीलाई निकालेर लक्ष्मीले नजिकैको सरकारी स्कुलमा हालिदिई । भाग्य सम्झेर छोरी चुपचाप विद्यालय आउने र जाने गरिरही । ऊ सरकारी स्कुलमा कक्षा सातमा भर्ना भईँ । 

त्यस विद्यालय सामाजिक शिक्षा पढाउँदै आएका शिक्षक थिए, मनोहरी ढुङ्गाना । अवकाश हुनै लागेका उनीसँग अनुभवको खजना थियो । देवकी त्यस विद्यालयमा आएदेखि उनको ध्यान देवकीले तानिदिएकी थिई । देवकी त्यो विद्यालयकै नराम्री र सकेसम्म नबोल्ने प्राणी थिईँ ।

छोराछोरी बराबरी भनेतापनि व्यवहारमा छोरालाई बोर्डिङ्ग अनि छोरीलाई सरकारी विद्यालय पढ्न पठाएर गरिने विभेदबारे शिक्षकलाई राम्रोसँग ज्ञान थियो । त्यसले ल्याईरहेको असमानता र किशोरीहरुको मनोदशा पढ्न पनि खप्पिस थिए । अव्यक्त रुपमा देवकी सरकारी स्कुल आउन परेकोमा असन्तुष्ट देखिन्थीँ । 

‘भाईलाई बोर्डिङ्ग तिमी सरकारी ?’ खाऊँलाझैँ गरेर उसले सरलाई हेरी ।

‘बाबुआमाले माया गर्दैनन् ?’ फेरि उसैगरी हेरी । उसको हेराई नै त्यस्तै थियो । अनुहार नरिसाएपनि रिसाईरहेजस्तो । 

दिनहरु बित्दै गएँ ।

सरले सामाजिक शिक्षा पढाउँदा विभिन्न उदाहरणसहित छोरा र छोरीको विभेद बुझाउँथे । धनी र गरिबको विभेद बुझाउँथे । समाजमा रहेका र कसैको आँखामा नपरेका विषयवस्तु टिपेर विद्यार्थीलाई सचेत बनाउँथे । एउटा समाचार आएको थियो–‘सुँड डुबाएर मरी गर्भिणी हात्ती ।’ यसबारेमा पनि सरले उनीहरुलाई बताउँदै पशुपंक्षी सबैको बाँच्ने अधिकार उत्तिकै हुने कुरा बुझाएका थिएँ । बेलाबखत भइरहने जातिय संघर्षको बारेमा बताएका थिएँ । आफूले पढाएका विद्यार्थीहरु भोली गएर देशको जिम्मेवार नागरिक बनुँन् भन्ने उनको ध्येय थियो । 

‘अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो पाप हो ।’ पहिलोचोटी सरको आँखामा अचम्मले पुलुक्क हेरी । शिक्षकले समानता र विभेद के हो सिकाउँथे । सही र गलत के हो भनेर छुट्याउन विद्याथीलाई सहयोग गर्थे । साँचो अर्थमा उनी विद्यार्थीको मार्गदर्शक थिए ।

बोलाउँदा एकचोटी झस्केर ‘हजुर’ भन्ने उनको स्वभावमा विस्तारै परिवर्तन आइरहेको थियो । देवकीको एकांकीपना देखेर शिक्षकको ध्यान सधैँ उसैले तानिदिएकी थिईँ । उसको एकोहोरोपनाको कारण जान्न चाहन्थेँ शिक्षक । उनलाई समूहमा हेलमेल भएको हेर्न मन थियो । 

देवकी कक्षाको अन्तिम सीटमा एक्लै बस्थिन् । सरले सबैको अघि उठाएर भने – ‘उसलाई आजदेखि अगाडिको बेन्चमा राख्नु ।’ ऊ सामाजिक शिक्षा पढाउने पिरियडमा बाहेक अरुबेला अन्तिममै रहन्थिन् । ती सरले छड्के जाँच गर्न आईरहँदा थाहा पाएँ । उनको पिरियडमा देवकी जति उज्याली देखिन्थीँ । अरु पिरियडमा धुम्म परेको बादलजस्तो बसिरहन्थी । 

सरले आफ्नो कुरा मिल्ने दुई,चार जना शिक्षकसँग देवकीको बारेमा कुरा गरे । अरुलाई भन्दा बढी महत्व दिएर पढाउनु भनेर भने । उनलाई प्रत्येक कमजोर विद्यार्थीको मनोबल उच्च बनाउन सकेमा राम्रो पढ्न सक्छन् भन्ने उनको अनुभवले सिकाएको थियो । देवकी मानसिक रुपले कमजोर देखिन्थीँ । पढाईभन्दा उसको व्यवहार अस्वभाविक लाग्थ्यो । 

किशोर अवस्थामा टेक्दै गरेकी देवकीमा हुनुपर्ने चन्चलता केही देखिदैनथ्यो  । शिक्षक यहीँ कुराले चिन्तामा थिए ।

अर्को दिन, देवकी पहिलो पिरियडदेखि नै पहिलो बेन्चमा बस्न पाई । हरेक सरले अरुलाईभन्दा उसलाई महत्व दिएको र माया गरेको महसुस गर्न थालेकी थिईँ । उसलाई विस्तारै घरभन्दा विद्यालय प्यारो भईरहेको थियो । सबै विद्यार्थी घर जाने हतारो देखाईरहँदा उनले घर जान कहिल्यै हतार गरिनन् । बरु विद्यालय छिटै आईपुग्थी देवकी । विद्यालयप्रति उसको मोह बढिरहेको थियो । 

आफूलाई माया गर्ने सरहरुले दिएको गृहकार्य पूरा गर्ने ,अरु नहेर्ने स्वभाव थियो उसको । उनले सामाजिक शिक्षा, गणित र अंग्रेजीको नियमित गृहकार्य गर्थीन् । अरु विषय घर गएर नपल्टाउने उनको स्वभाव थियो । यसबारेमा मनोहरी सरको कानसम्म पुग्यो । अरु सरको पिटाई खाएर पनि उनले नियमित गृहकार्य बुझाउने गरेकी थिइनन् । बरु चुपचाप हात थापिदिन्थिन् । 

मनोहरी सरले देवकीलाई अफिसमा डाके ।

सबै विषय उत्तिकै महत्वपूर्ण हुन्छ । आउँदै गरेको परीक्षामा प्रथम हुने गरी तयारी गर्न सुझाव दिए । देवकी अफिसबाटल फर्कन लाग्दा उनले भने –‘तँ काली भए पनि किन यति राम्री छस् भन त ? यो कक्षामा तँ जस्तो जान्ने कोही छैनन् । तेरो जस्तो दिमाग अरुको छैन । तर तँ किन पढ्दिनस् ? किन घोसेमुन्टो लगाएर बस्छेस् ? केही चिन्ता छ भने भन । म तेरो साथमा सधैँ छु ।’ देवकीले पुलुक्क सरको आँखामा हेरी ।

‘भाईलाई माया गर्छन् । मलाई कसैले माया गर्दैन । भन्ने लाग्छ ?’ देवकीले सुस्तरी ‘हो’ को संकेतमा टाउको हल्लाई । सरले उसलाई धेरैबेर सम्झाए ।

‘भाई सानो छ । जहाँ पढे पनि एउटै कुरा पढ्ने हो । झन् सरकारीमा पढेकाहरु नै ठूलाठूला मान्छे भएका छन् । बोर्डिङ्ग पढ्दैमा केही हुन्न । सरकारी जागिर खाएर सचिव भएर देखा त । कति ईज्जत गर्छन् । यसको लागि अहिलेदेखि मेहनत गर्नपर्छ । यसपाली प्रथम भएर देखाई दे सबलाई । बुझिस्  । यति राम्री भएर भाई बोर्डिङ्ग पढ्ने मलाई नपढाउने भनेर चित्त सानो नबना । भाइभन्दा राम्रो पढेर देखा । अचेल छोरीहरुले नै बाउआमा पालेर बस्छन् । किरियापुत्री बस्छन् । किन कमजोर बनाउँछेस् आफूलाई ?’

त्यसदिनपछि देवकी घरमा जतिबेलै पुस्तक समातेर पढ्न थाल्ने भएकी थिईँ । फुर्सद पायो कि पढिरहने । स्कुल जानुअघि ऐनामा आफैँलाई हेर्दै टोलाउँथी र स्कुल जान्थीँ । यता बावुआमा चिन्तामा थिएँ । अब एस.एल.सी फेल भएसी बिहे गराईदिने सोच भएर केटा खोजिरहेका उनीहरु छोरीले पढाईमा गर्न थालेको मेहनतले दंग थिएँ । देवकीको बाउले छोरी राम्रो पढेमा डाक्टर बनाउने सपना देखिरहेका थिए । देवकीले पढाईमा गरेको मेहनतले उनीहरुमा अझै काम गर्नमा उर्जा थपेको थियो । 

देवकीको सर्ट लगाउनै नहुने गरी च्यातियो । उसले नयाँ सर्ट पाई । नयाँ सर्टमा आइरन लगाएर अझै नयाँ कसरी बनाईने रहेछ उसले टेलर्समा थाहा पाएकी थिईँ । त्यहीँ दिन उसले जिद्धी गरेर आफ्नो फ्रकमा पनि आइरन गर्न लगाई । दुई चुल्ठी बाटेर रातो रिवनको फुर्को दुईतिर लगाएर स्कुल छिरि । अलिकति लाज र अलिकति उत्साहले । मनोहरी सरले उसलाई देखिहाले र भने –‘कति राम्री देखिएकी होस् ? नयाँ सर्ट लगाएकी ?’ उसले मुन्टो हल्लाई र लाजले भुँइतिर आँखा गाडी । साथीहहरुको भीडमा हतारहतार मिसिई । 

आठ महिनापछि उसलाई पहिलोचोटी त्यति सुन्दर देखेका थिए सरहरुले । नयाँ सर्ट र आइरन गरिएको फ्रक अनि उसको फुत्कनै लागेको मुस्कानले सबैलाई मोहित बनाएको थियो । ऊ आफैँलाई पनि विस्तारै राम्री छु भन्ने लाग्न थालेको थियो । 

पल्लाघरमा एकजना भाउजू थिइन् । उनको आइरन थियो । उनको फ्रकमा आइरन लगाउन उनैले सिकाईदिइन् । आइरन भनेको कहिल्यै नदेखेकी अब ऊ सधैँ आइरन गरेको कपडा लगाएर हिड्न थाली । भाउजूले पनि देवकीलाई आफ्नी बहिनीजस्तै माया गर्थीन् । 

देवकी डस्टर पुर्याउन अफिस कोठामा जाँदै थिई । एकजना म्याडमले सरलाई भन्नुभयो–‘त्यो काली, नराम्री । त्यसको व्यवहार पनि उस्तै । अनि पोईले छोडिहाल्छ नि ।’ म्याडम गइसकेपछि उसले सुस्तरी ओठ मात्रै चलाई । आफैले मात्र सुन्ने गरी । सरले थाहा पाइहाले । ‘कालो हुँदैमा सबै कहाँ नराम्रो कहाँ हुन्छन् ? तँ कति राम्री छस् । तँभन्दा राम्रो कक्षामा अरु को छ भन् त ?’ हेडसरले परैबाट कुरा सुनिरहनुभएको थियो । उहाँले सोधिहाल्नुभयो–‘देवकी ! कालो राम्रो कि गोरो ? तिमीलाई कस्तो राम्रो लाग्छ भन त ।’ ऊ अलमल्लमा परी । के भन्नु नभन्नु । उसलाई कालो पनि राम्रो लाग्थ्यो । गोरो पनि । हेडसर गोरो हुनुहुन्थ्यो । मनोहरी सर कालो । बडो असमाञ्जस्यमा परी । उत्तर नजानेर दोधार भई । उसले सहयोगको अपेक्षासहित मनोहरीसरको अनुहारमा हेरी । सरले भन्नुभयो–‘द्यबिअप ष्क दभबगतथु भन्छन् क्यारे । ऊ मुसुक्क मुस्कुराई । 

ऊ सरहरुसँग धेरै अपनत्व महसुस गर्न थालेकी थिई । विशेषगरीः मनोहरी सरले भनेको कुरामा कहिल्यै नाइँनास्ती गर्न सक्दैनथीँ । कक्षामा उभिएर बोल्न थरथर काँप्ने उसलाई चौरमा सबै विद्यार्थीको माझमा बोल्न प्रेरित गर्ने उनै थिएँ । हाजिरीजवाफ, वादविवाददेखि लिएर खेलकुदमा पनि भाग लिन प्रेरित गर्थे । मनोहरी सरलाई आँखा अगाडि देखेपछि ऊ जस्तो असम्भव लाग्ने काम पनि आँट्थी । उसको डर कता गायब हुन्थ्यो कता । 

‘म सक्दिनँ ।’ उसले यसो भन्दा सर रिसले दाह्रा किट्थे । उसलाई झन् सरले रिसले दाह्रा किटेको मन पथ्र्यो । सरको रिसाएको अनुहार हेर्न पनि उसले सरलाई चिढ्याउँथी –

‘म सक्दिनँ है सर ।’

सर रिसाउँदै हप्काउँथे –‘तैँले नसके कसले सक्छ ? तैँले भाग लिनैपर्छ ।’ यसरी हरेक प्रतियोगितामा भाग लिने र कहिलेकाँही पुरस्कार जित्ने गर्थी ।

उसले हार्दा सर आफू पनि दुखी महसुस गर्थे र उसलाई निकैबेर सम्झाउँथे ।

सरले बुझेका थिएँ–‘शब्दमा जादु हुन्छ ।’ 

उनले बोलेका शब्दले देवकीमा असर देखाउन सुरु गरिसकेको थियो । ऊ सधैँ सफा, आइरन गरेको ड्रेस लगाएर विद्यालय आउन थालेकी थिई । मन लगाएर पढ्थीँ । नजानेको सोध्थी । उसले कोही साथी बनाउन सकेकी थिइन एक वर्ष बित्न लाग्दा पनि । सरलाई यो कुरामा चिन्ता लागिरहन्थ्यो । 

सातबाट आठमा जाँदा तेस्रो भई । विस्तारै उसका साथीहरु भए । देवकीको नेपालीमा थोरै नम्बर आएकोले तेस्रो भएकी थिई । अरुमा राम्रो गरेकी थिई । ऊ हाँस्न थालेकी थिई । मनोहरी सर ऊ खुशीले उफ्रिदैँ खेलेको अफिसको माथिल्लो तल्लाबाट हेरिरहेका थिए । अनि लामो सास फेरे । 

ऊ आत्मविश्वासले धपक्कै बलेकी थिई । अरुभन्दा बिछट्टै सुन्दर देखिन्थी । क्रिमले बलेको अनुहारले आत्मविश्वासले धपक्कै बलेको अनुहारको आभालाई जित्न कसरी सक्नु ? ऊ झन् झन् राम्री हुँदै गएकी थिई ।

देवकी ऐनामा हेर्थी र मनमनै जपिरहन्थी–ुद्यबिअप ष्क दभबगतथ।ु ुद्यभबगतथ ष्भिक ष्ल तजभ भथभक या तजभ दभजयमिभच।ु उसले आफू राम्रो छु भन्ने कुरामा विश्वास गरेकी थिईँ । त्यहीँ शब्दको जादुले उसको कुरुपता मेटिएर सौन्दर्यताले भरिएको थियो । ऊ शब्दको जादुले भइरहेको कुरा बुझ्न सक्दैनथीँ । मनोहरी सर भने आफूले बोलेको शब्दको प्रभाव उसको अनुहारमा देख्थे र निकैबेर टोलाईबस्थे ।

कुनैबेला सरलाई प्रेमिकाले भनिदिएकी थिई– ‘तँजस्तो माविको शिक्षक अनि तँजस्तो कुरुपसँग कसले बिहे गरोस् ?’ भर्खर पढाउन सुरु गरेका उनलाई प्रेमिकाले भनेको कुरुप शब्दले बिझायो । उनले प्रेमिकाको कुरामा विश्वास गरे । उनी झन् झन् कुरुप हुँदै गए । त्यसमाथि डण्डीफोरले ढपक्कै ढाकिएर उनको अनुहार दागैदागले भरियो । शब्दहरुको प्रभाव उनको अनुहारभरि पोतियो । अहिले पनि उनको अनुहारमा ती शब्दहरुले चिथोरेका दागहरु बाँकी छन् । खोपिल्टैखोपिल्टा । तर उनी त्यसलाई प्रेमले सुम्सुम्याउँछन् ।

उनको त्यहीँ कुरुप अनुहार कसैले मन पराईदियो र उनी विवाहित भए । 

‘तिमीले मजस्तो नराम्रोसँग बिहे गर्न किन मान्यौ ?’

‘नराम्रो मान्छेको मन संसारकै सबैभन्दा सुन्दर हुन्छ । त्यहीँ भएर ।’ उनी विगत सम्झिएर मुस्कुराए ।

देवकी बच्चाहरुको भीडमा मिसिई । हेर्दै लोभलाग्दा बच्चाहरु । सफा, गोरा, चिल्ला । छुँदा दागै लाग्लान् जस्ता बच्चाहरु । त्यहीँ बच्चाहरुको भीडमा एउटी फोहोरी, काली, सिँगाने बच्ची एक्लै आफैँमा रमाईरहेकी थिई । देवकीले उसलाई आफ्नो काखमा लिई र म्वाँई खाई । अनि भनी–‘तँ कति राम्री होस् । तँभन्दा राम्रो यहाँ को छ भन् त ?’ बच्ची देवकीको काखबाट ओर्ली अनि उत्साहले खेल्न लागी । 

‘शब्दमा जादु हुन्छ । नपत्याए मलाई हेर्नुस् त ।’ सरलाई कसैले कानमा भनेजस्तो लाग्यो । उनी झसंग झस्किए । चारैतिर हेरेँ । तल चौरमा देवकी बच्चासँग रमाईरहेकी थिई । देवकी त्यहाँ बाट हिड्न लागेको त्यो बच्चीले चाल पाई । उसले खेलेको देवकीले हेरिराखोस् भन्ने चाहन्थीँ । देवकीको एटेन्सन आफूतिर तान्नको लागि उसले देवकीलाई पिपलको पात दिदैँ अल्झाईरहेकी थिई ।

‘शब्दमा जादु हुन्छ ।’

आफूले बोलेको शब्दको जादु हेरेर देवकी कक्षाकोठामा फर्की । 

 if you want: Go to link 

https://kavyalaya.com/magic-of-words/?fbclid=IwAR2ZLZNQXQoZW9J4AIN_Q8e5YOXBNjywXIMnenCEd8pbJuMcRu1FGGE45PQ



No comments:

Post a Comment