‘म तिम्रो क्रस है ?’ ऊसँग कुराकानी हुन थालेको झण्डै दुई वर्षपछि उसले मलाई सोध्यो । यो भन्दा अगाडि उसलाई मैले तिमी मेरो क्रस हौँ भनेको थिएँ ।
‘के हो क्रस भनेको ?’ ऊ पक्कै प्रेममा परेको छैन । नत्र प्रेममा परेको मान्छेलाई क्रस भनेको थाहा भईहाल्छ नि । मेरो सोझो बुझाई थियो ।
‘तिमी मलाई मनपर्ने मान्छे हौ भनेको के ।’ उसले हाँसेको ईमोजी पठायो । यसपछि हाम्रो कुराकानी बन्द भयो । उसले फेसबुकको पोष्टहरु र फोटोमा कमेन्ट र लाईक गरिरहन्थ्यो । मलाई उसले कुन फोटोमा लब रियाक्ट गरेको छ ? कुनमा हाहा रियाक्ट गरेको अझै याद छ । पहेँलो कुर्तामा सेतो सल र सेतै सुरवाल लगाएर हातमा थाली लिएर भगवान्लाई ढोक्दै गरेको फोटोमा उसले लभ रियाक्ट गरेको थियो ।
उसले मलाई साँच्चै मनपराउँछ ? म आफैँँसँग संवाद गर्दै बस्थेँ । तर उसलाई म्यासेज पठाउने आँट भने गर्न सकिनँ । कस्तो कमजोर मुटु मेरो । मन पराउँथ्यो भने कुरा अगाडि बढ्थ्यो । नभए टुङ्गिन्थ्यो । त्यसले के फरक पाथ्र्यो र ? मेरो जिन्दगी नै रोकिनेवाला थिएन । तर मन कहाँ त्यसो भनेर मान्थ्यो ? टाढैबाट हेरेर भए पनि चित्त बुझाउन पाईएको छ । रिसाएर ब्लकै हानिदियो भने.....
जहाँ रिस्क बढी हुन्छ त्यहाँ फाईदा पनि बढी हुन्छ । नभए घाटा हुन्छ ।
मैले रिस्क लिन चाँहिन जिन्दगीमा..... अझ भनुँ, सम्बन्धमा मैले कहिल्यै जोखिम उठाउन चाँहिन । सकेसम्म थोरैभन्दा थोरै बोलेर आफ्नो रिस शान्त पार्ने प्रयास गरिरहेँ । मान्छेले कहिल्यै चाँहिदैन भनेर फालेको ढुङ्गो त काम लाग्छ भन्छन् । झन् मान्छे कतिबेला कहाँ आपत पर्दा चाहिन्छ के थाहा ?
यहीँ सिद्धान्तमा टेकेर सम्बन्धहरुलाई टेको लगाएर जिन्दगी अगाडि बढाईरहेँ । अनावश्यक तनाव लिएर मान्छेहरु मेरो जिन्दगीबाट नगए हुन्थ्यो भनेर प्राथना गरिरहेँ । तर तिनै मान्छेहरु मेरो जिन्दगीबाट माछा चिप्लिएझैँ चिप्लिए । फुत्त... फुत्त... ।
उहीँ पनि मेरो जिन्दगीबाट फुत्कियो भने.... कल्पना नै सही । लब रियाक्ट मात्रै गर्दा पनि लब गरेसरी महसुस गर्न पाईएको छ । किन उसलाई मन पराउँछु भनेर भनिराख्न पर्यो ? भनौँ टाढा होला भन्ने पीर । नभनौँ पनि टाढा होला भन्ने पीर ।
बोलेर पछुताउनुभन्दा नबोलेरै पछुताउनु बेस । मैले मन पराउँछु भनौँला । ऊ झन् टाढा गईदियो भने ? मेरो गर्लफ्रेण्ड छ भनेर रुखो वचन लगायो भने कसरी सहुँला ?
म उसको प्रोफाईल फेसबुक खोलेपिच्छे भिजिट गर्थेँ । को को केटीहरुले केके कमेन्ट गरे ? को साथीसँग ऊ कत्तिको नजिक छ ? भन्नेसम्मको फेसबुक रिसर्च गर्दै मनमा तथ्याकंं निकाल्दै बस्थेँ ।
उसलाई यो बारेमा केही अत्तोपत्तो थिएन । उसको मुसुक्क मुस्कुराएको प्रोफाईल पिक्चरमा किस गरेको कल्पनामा कति चोटी आफ्नै मोबाईलको स्व्रिmनलाई चुमेकी थिएँ । साथीहरुलाई उसको फोटो देखाएर मलाई यो मान्छे मनपर्छ भनेकी थिएँ । साथीहरुले हामी मिलाईदिन्छम् चिन्ता नलिन । भन्दै गर्दा लाजले अनुहार रातो बनाएकी थिएँ ।
‘भो ! तिमारुले केही नभन्नु । ऊ मेरो हुन्छ भने जसै हुन्छ । जोडी माथिबाटै लेखेर आएको हुन्छ रे ।’ यसो भन्दै गर्दा पनि कताकता साथीहरुले ऊसम्म कुरा पुर्याइदिए हुने थियो भन्ने लागिरह्यो । तर उनीहरुले त्यस्तो गरेनन् । मैले पनि गरिदेओ न भन्न सकिनँ ।
यसरी नै दिनहरु बितिरहेको थियो ।
ऊ फेसबुकबाट गायब भयो । उसलाई जति सर्च गर्दा पनि फेला पार्न सकिनँ । उसको कलेजमा सँगै पढ्ने साथीलाई उसको बारेमा सोधेँ ।
‘उसको लब परिरहेको थियो । उसैसँग बिहे गर्यो ।’ कस्तो नमीठो खबर । प्राप्ति मात्रै प्रेम होइन । गुमाउनुमा पनि प्रेम हुन्छ । साँचो मनले माग्यो भने सब पूरा हुन्छ । अरुको खुशी खोसेर कसरी माँगू उसलाई ?
मैले ऊसँगका सपनाहरु देख्न छोडेँ । त्यस्तो पनि होइन, बरु उसको ठाउँमा अरु कोही प्रतिस्थापन गरेर फेरि सपना देख्न थालेँ । मलाई सपना देख्नु त थियो । एक्लोपन हटाउनको लागि योभन्दा अर्को उपाय के हुन सक्थ्यो र ?
अर्को मेरो क्रस थियो, ठाकुरराम पण्डित ।
उसलाई धर्मकर्ममा बढी रुची थियो । पूजापाठ गर्ने कुरामा अगाडि थियो । बिहानै उठ्नेबित्तिकै उसको फेसबुकवालमा गायन्त्री मन्त्रको ध्वनी गुन्जन्थ्यो । त्यो ध्वनीसँगै उसले धुप पनि बालेको कल्पनामा धुँवाले मेरो नाकलाई असर गथ्र्यो । मनपर्ने अत्तर सुँघिरहेझैँ कतैबाट मन्द धुपको बास्नाले म उसको कल्पनामा हराउँथे । बिहानै उठेर मन्दिर गएको, नुवाईधुवाई नगरिकन भान्सामा पस्न लाग्दा सासुआमाले गाली गरेको सम्झन्थेँ । खाटबाट झटपट उठ्थेँ । अनि पानीले अनुहार भिजाउँथे । म कति अल्छी थिएँ, ऊ ठ्याक्कै मेरो विपरित थियो । म दक्षिणी धुव्र थिएँ । ऊ उत्तरी ध्र्रुव थियो । म पश्चिमी शैली रुचाउँथे, ऊ पूर्वीय । सबैकुरा विपरित हुँदा पनि मैले उसलाई प्रेम गर्थेँ । उसले मैले मन पराउँछु भन्ने कुरा सुइँको पाएको थियो । मैले घुमाउरो पाराले मन पराउँछु भनेको थिएँ ।
ऊ पनि लाटो कहाँ थियो र ? घुमाउरो पाराले तँलाई मन पराउँदिन भन्यो । त्यहीँ पनि सास रहेसम्म आश हुन्छ भन्छन् । मलाई मेरो प्रेमको विश्वास थियो । पहिलाभन्दा यो पाली अलिक अनुभव पनि थियो । थाहा नपाएजस्तो गरी बिभिन्न बाहानामा उसलाई म्यासेज पठाउँथे । उसले पनि केही थाहा नपाएजस्तो गरी वेवास्ता गरिदिन्थ्यो ।
‘ममा के कमजोरी छ ? मलाई तिमीले वेवास्ता गर्ने ?’ यस्तो म्यासेज लेखेर आफ्ना कमजोरीहरु सोध्न मन कहिल्यै भएन । कमजोरी सुधार्ने भन्दा पनि कमजोरीसहित मलाई स्वीकार्ने मान्छे चाहिएको थियो । मलाई मेरा कमजोरीहरु पनि प्रिय लाग्छ । कमजोरीसहितको प्याकेज हो जिन्दगी । सर्वगुण सम्पन्न मान्छेहरुमा पनि खोजियो भने कमजोरी भेटिन्छ । मेरो के कुरा ।
उससँग पनि मेरो केही सम्बन्ध अगाडि बढ्छ भन्ने लाग्न छोड्यो ।
महिनामा एकचोटी ‘के छ ? सन्चै ?’ भन्दैमा त्यो सम्बन्ध कति नै अगाडि बढ्ला र ?
यसैबीचमा जिन्दगीको पहिलो कथा छापियो । कथा भनेर त छापियो तर त्यो कथा पनि होइन । संस्मरण पनि होइन । ब्लग पनि होइन । यात्रा विवरण पनि होइन । ब्लग पनि होइन । सबै विधा जोडेर बनाएको हाईब्रिड छापिएको थियो । ‘मैले लेखेको पनि छापिन्छ र ?’ यहीँ आश्चर्यले मख्ख पर्दै मैले दुई वर्षसम्म केही लेखिनँ । लेख्न पनि मन लागेन । यस्तो नराम्रो त छाप्दा रैछन्् । मैले के जान्या छु र ? अझै राम्रो लेखेँ भने के होला ? यस्तो सम्झिएरै मलाई कहिल्यै लेख्न मन लागेन । मैले दोस्रोचोटी लेखे भने झन् राम्रो लेखुँला । मान्छेले चिन्लान् । अझ मेरा घरका मान्छेले थाहा पाए भने मेरो हालत के होला ? मैले लेखेको कुरा मेरो घरका सदस्यहरुले कहिल्यै थाहा नपाऊन् भन्नेमा सधैँ सतर्क हुन्थेँ ।
त्यहीँ पढेर एकजनाले मलाई फेसबुकमा रिक्वेस्ट पठायो । उसको प्रोफाईल भिजिट गरेँ । मान्छे हेण्डसमचाँही होइन, क्युट थियो । रिक्वेस्ट एसेप्ट गरेँ । लगत्तै उसले म्यासेज गर्यो ।
‘तिमीले लेखेको कथा भएन । पहिलोचोटी भएर हो । प्रयास गर न । सम्भावना देखिन्छ तिमीमा ।’
उसले लेख्दैनथ्यो । तर एकदम पढनदास । यो पढ । त्यो पढ भनेरै हैरान । म उसँग नजिकिने लोभले पनि पढिरहन्थेँ । ऊ खुशी हुन्थ्यो मैले पढ्दा । धेरै पढ्नुपर्छ । लेख्न हतारिनु हुँदैन । लगभग दुई वर्षसम्म हाम्रो कुराकानी किताबभन्दा बाहिर कहिल्यै गएन । ऊसँग त्योेभन्दा माथि केही कुराकानी हुने आशा पनि गुमाएँ । त्यै पनि मैले उसलाई एकदिन आँट गरेर भने –
‘थाहा छ, तपाईँ मलाई मनपर्छ नि ।’
‘कहिलेदेखि ?’
‘रिक्वेस्ट आएदेखि ।’
त्यसपछि उसले कहानी भन्न थाल्यो । उसको विगत कोट्याउन थाल्यो । उसको विगतसँग मलाई के चासो ?
अन्तिममा उसले यसरी टुङ्ग्यायो । तपाईँलाई रिक्वेष्ट पठाउँदा म सिंगल थिएँ । म तपाईँलाई मन पराउँछु भनेर कति संकेत दिएँ तर तपाईँले बुझ्नुभएन । अहिले म रिलेसनसीपमा छु । हामी असल साथी मात्रै बन्न सक्छौँ । म अब बाहिर जान लागेको । दुुबई ।
दुई वर्षपछि आएर ऊसँग बिहे गर्छु । म कति रोमान्टिक छु । तपाईलाई मेरो त्यो पाटोबारेमा थाहा छैन । हामी किताबभन्दा कतै अल्झिएनौँ ।
उफ् ! के बोल्नु ? त्यो दिनदेखि उसले आफ्नी प्रेमिका र भूतपूर्व प्रेमिकाको बारेमा मात्रै कुरा गर्न रुचाउने भयो । मेरो प्रेम धेरैजनासँग हुनुपर्छ भन्ने सतही कुरा गरेर मेरो आत्म अभिमानमा ठेस पुर्याइरहन्थ्यो ।
‘यति प्रेमिल र राम्री हुनुहुन्छ । मन पराउने कति होलान् है ? मजस्तो घाँसहरुको रिक्वेस्ट कति आउँदो हो ? तर तपाईँको स्टाण्र्डड भएन है । मजस्तो मान्छेसँग बोलेर समय किन बर्वाद पार्नुहुन्छ ?’
उसको दिनहुँको यस्तो म्यासेजले म वाक्क हुन थालिसकेकी थिएँ ।
अन्तिममा,
मैले कल्पना गरेको भन्दा पनि सुन्दर मान्छेले मलाई मन पराउँछ भन्ने थाहा पाएँ । पटकपटकको असफलताबाट मैले के पाठ सिकेँ भने आफूले मन पराउने मान्छेभन्दा पनि आफूलाई मन पराउने मान्छेलाई रोज्नुपर्छ । मैले त्यहीँ गरेँ ।
फेरि तपाईलाई लाग्न सक्छ, मैले मन पराएको मान्छे मैले पाएँ । अहँ, त्यस्तो भएन ।
मन पराएका मान्छेहरुलाई मन पराउँदासम्म मात्रै ठिक हुने रहेछ । मन पराउने लेभलबाट अलिकति माथि उक्लिएपछि माया लाग्छ । माया अझै गहिरियो भने त्यसको अन्तिम बिन्दु विवाह हो । यो बिन्दुसम्म आईपुग्दा सम्बन्धमा यति धेरै उतारचढाव आईसक्छ कि रेस जित्ने बेला हुन हुन लाग्दा अर्को कोही कताबाट फुत्त आईपुग्छ र उसले त्यो रेस जित्छे ।
उनीहरुको विवाह मण्डपलाई म परिचित आँखाले अपरिचित आईडीबाट नियाल्छु ।
No comments:
Post a Comment