
विवाहको मापदण्ड
‘बिहे गर्नपर्यो । बुढी भईसकीस् ।’ मेरो ममीको बुवाको आमा । अर्थात मेरो हजुरबुवाको आमा । हजुरी । हामी उहाँलाई हजुरी भन्छौँ । उहाँ भिडियो कलमा मलाई कराउनुहुन्छ । कुनैकुनै बिहानहरु म राम्री भईन भन्ने सुनेरै बिताउनुपर्छ ।
‘यसको बिहे गरेको देखेर मर्नपाए भन्देखुन् । मैले आनन्दले स्वर्गमा वास पाउने थिएँ ।’
उहाँको कुरा पनि ठिक हो । उहाँले आठ वर्षको उमेरमा विवाह गर्नुभयो । चालिस वर्ष नकट्दै एक्लै पर्नुभयो । उहाँले छोरैछोरा जन्माउनुभएको थियो । छोरीछोरी जन्माउनु भएको भए ? ककसले केके भन्थे होलान् ? कल्पना गर्दा पनि नौ नाडी गलेर आउँछ ।
उहाँको हेरी मेरो विवाहको कुरा नचल्नु शुभ संकेत पनि होइन । एस.एल.सी सकिएपछि बिहे भईहाल्नुपर्ने थियो । तर भएन । यो कुरामा मलाई पनि पछुतो लाग्छ ।
त्यतिबेला बिहे भएर लगत्तै बच्चा पाईहालेको भए सात वर्षको भईसक्ने थियो बच्चा । अनि अर्को बच्चा तीन वर्षको हुने थियो । कहिलेकाँही नपाएको बच्चाको कल्पनामा हराउँछु । कहिले नभएको पतिको कल्पनामा हराउँछु ।
अहिले यो लकडाउनमा म किचेन, करेसाबारी, बच्चा, सासुससुरा, पति, देवर समाल्दै बस्ने थिएँ । फेसबुक चलाउन जानको भए पनि फुर्सद हुने थिएन । भान्साको काममा म यो समयसम्म निपुण बनिसकेको हुन्थेँ । सासुससुरालाई के मनपर्छ ? के मनपर्दैन ? बुढाका साथीभाईहरु घरमा आउँदा कसरी भान्साबाट बैठक कोठामा खानेकुरा पुर्याउँदा आफूले लगाएको कुर्ताले सपक्क छाती छोप्नपथ्र्यो बुझिसक्ने थिएँ । धेरै परिपक्व भईसक्ने थिएँ ।
विवाह गर्नैपर्ने थियो मैले ।
मेरो बुवाको आमाले बाह्र वर्षमा बिहे गर्नुभयो । कति मीठो खाना पकाउनुहुन्छ । भान्सा र करेसाबारीप्रतिको उहाँको मोहले म दङ्ग पर्छु । मेरो बिहे पन्ध्र बर्षमा भएको भए... ? ल भएन रे । अठार वर्ष कट्ने बित्तिकै गरिदिनु पर्थेन ? बिहे गर्न मन लाग्यो भन्ने उमेर भएसी भन्लान् अनि गरिदिउँला भनेर कुरेर बसेर हुन्छ ?
बिहे गर्न मन भयो भन्न सक्नेले बिहे गर्न मन छैन भन्न पनि सक्छन् । किन यति नबुझेका होलान् । मेरा धेरै साथीहरुको दश कक्षा अगाडि त्यसपछि बचेका साथीहरु बाह्र सक्नुअघि त्यसपछि बचेका साथीहरु ब्याचलर सक्नु अगावै बिहे गरेँ ।
जजसले ब्याचलर सकाए । उनीहरु मास्टर्स सकाएर गर्छु भन्दैछन् । मास्टर्स पढ्दापढ्दै बिहे गरेनन् भने तिनीहरुको बिहे कहिल्यै हुनेवाला छैन । मास्टर्स सकाएर जागिरको या व्यापार,व्यवसायको चक्करमा फस्छन् । फेरि त्यहाँबाट नाफाघाटामा चल्न थाल्छ जिन्दगी । त्यतिन्जेल मात्तिएर हिडेका मेरा केटी साथीहरुलाई विवाहले बाँध्न कहिल्यै सक्ने छैन ।
साथीहरु, बिहे गर्ने भए गरिहाल्नु है ?
‘विवाह कसरी हुन्छ ? विवाहको लागि केके चाहिन्छ ? एउटी छोरीमान्छे कस्तो बन्नुपर्छ ?’ यस्तो जिज्ञासा पनि मनमा उठ्नसक्छ । यो पूरै पढिसक्दा तपाईँले यसको उत्तर पनि पाईसक्नुहुन्छ ।
तपाईँ गोरी हुनुहुन्छ भने राम्रो भयो । सेतो छालाले विवाह गर्नको लागि मद्धत पुर्याउँछ । काली अथवा गहुँगोरी हुनुहुन्छ भने पनि केही छैन । गोरो बन्नको लागि अनेक उपाय छन् । ब्युटीपार्लर शहरदेखि गाउँगाउँसम्म त्यसै फस्टाएको छैन । गोरो छालाप्रतिको हाम्रो आकर्षणको परिणाम हो त्यो । त्यसैको आडमा कति व्यवसाय चलेका छन् । हाम्रो कालो छालाप्रति आकर्षण हुन्थ्यो भने प्रयोगशालामा वैज्ञानिकहरु मान्छेको छाला कसरी कालो बनाउन सकिन्छ भनेर प्रयोग गरिरहेका भेटिन्थेँ । छालामा हुने मेलानिन तत्वलाई अझै बढाएर कसरी कालो बनाउन सकिन्छ भन्ने खोज हुने थियो । यो कुरा छोडिदिऊँ ।
‘हामी जे छौँ । त्यहीँ देखाएर किन हिड्न सक्दैनौँ ? तपाईँ मात्रै होइन, म पनि त्यस्तै छु । त्यसरी आफ्नो प्राकृतिक चमक छोपेर कृत्रिमताको चमकमा किन चम्किन खोजिरहेछौँ हामी ?’ अहँ यस्तो प्रश्न झुक्केर पनि नगर्नु । समाज जे को पछि लाग्छ, हामीले त्यसैलाई पछ्याउनुपर्छ । बुझ्नुभयो नि ? बिहे गर्ने सम्भावित उम्मेदवार पो हो त तपाईँ ।
बिवाहको लागि सबैभन्दा पहिलो सर्त हो, प्रश्न नगर्नु । जे भए पनि आफ्नो भाग्य सम्झेर स्वीकार्नु ।
‘अबदेखि कपाल नकाट् । नाकमा फुली लगा । निधारमा रातो टिका लगा । आँखामा गाजल लगा । ओठमा केके जाति पाउँछ अहिले । त्यो लाली पनि लगा । कानमा अहिले सुनको टप नलगाए पनि बजारिया टप लगाए पनि हुन्छ । तर यसरी बुच्चै नभ । घाँटीमा सिक्री लगा । सुनको सिक्री बिहे गर्दा किन्दिम्लाँ । अहिले चाँदीको बनाएर भए पनि लगा । कपाल लामो बनाएर सर्लक्क बाँध । अगाडि झार्न मन भए थोरै निकाल्नु । अरु सबै सर्लक्क बाँध्नु । बुझिस् नि ?’ हजुरीले यसो भनिन्जेल म सुनेरै बसिरहेकको थिएँ । उहाँको कुरा एकदमा ठिक हो ।
अनुहार ऐनमा हेरेको आफैँलाई विरक्त लागेर आयो ।
‘अनुहारमा दल्ने क्रिम पनि पाउँछ । त्यो पनि लगाउनु । यो मंसिरसम्ममा तेरो बिहे गर्नुपर्छ । यसरी बुढी भएर बसेर हुन्छ ? बुढीकन्या भएरै मर्न मन छ ? यसरी बसेर कहिल्यै मोटाईदैँन । सधैँ यस्तै ख्याउटी हुन्छेस् ?’ हजुरीको कुराले लामो सास लिन्छु । उहाँले आफूले जिन्दगीभर जानेको सुन्दरताको परिभाषा सिकाउँदै हुनुहुन्थ्यो । के नराम्रो भयो र ?
‘जति राम्री चिटिक्क पर्छेस् । उति राम्रो केटा पाउँछेस् ।’ उहाँको यो कुराले मन रोमान्चित हुन्छ । केटीको विवाहको लागि पहिलो मापदण्ड भनेकै उसको रुप हो । उसको सुन्दरता हो । त्यसपछि बल्ल अरु कुरा आउँछ ।
केटाहरुलाई पनि तनावै छ । विवाहकै लागि भनेर राम्रो कमाउने नभईन्जेल बिहे गर्दैनन् । आफूले मन पराएकी केटीले त्यतिबेलासम्म बिहे गरिसकेकी हुन्छे । आआफ्नै अप्ठ्याराहरु..
‘तँ जत्तिकी राम्री नातिनी मेरा छैनन् । तर तेरो पारा भएन । खाली वैराग बनेर हुन्छ ? कति चिटिक्क बन्नुपर्छ बिहे गर्नको लागि ? पहेँलो लुगा तँलाई सुहाउँदैन । त्यो फिटिक्कै नलगाउनु । सकेसम्म राता, उज्याला कपडा लगाउनुपर्छ ।’ काला, खैरा रङ्गहरुले मान्छेलाई कहाँ सुन्दर देखाउनु ? हजुरीको कुरा एकदम ठिक हो ।
‘हुन्छ हजुरी । म अब त्यसै गर्छु ।’ बिहानभरी यस्तै कुरा गरेपछि मैले अन्तिममा सहमती जनाएँ । उहाँ धेरै खुशी हुनुभयो । हजुरबा मलाई सम्झाउँदा सम्झाउँदा थाकेर मलाई सुधार्ने जिम्मा हजुरीलाई दिनुभएको थियो । उहाँ राम्रोसँग सुन्न पनि सक्नुहुन्थेन । मैले कुरामा असहमती जनाएँ या सहमती भनेर सुनाउनको लागि हजुरबा हुनुहुन्थ्यो । हजुरबा पनि मेरो कुराले मख्ख पर्नुभयो ।
‘जति कुरा गरे पनि यस्तै हो । अब सधैँ राम्री भएर बस्नु । बुच्चै भएर बस्ने होइन । म जतिबेला पनि फोन गर्न सक्छु । राम्री हुन मन लाग्दैन ? किन हो ? फोन गरेरै भन्नुपर्ने ? अब हामीले भनेको कुरा पनि मान्नुपर्यो । छट्टाएर हिड्ने होइन ।’
‘हुन्छ ।’ फोन राख्न पाउने खुशीले मैले मुस्कुराउँदै जवाफ दिएँ ।
‘तेरो हाँसो कति राम्रो हो । हाँसेको राम्रो देखिदोँ रहेछ । खितिति नहाँस्नु । छोरा मुन्छे देखेसी शिर निहुराउनु । ठाडठाडै हेर्ने होइन । नभए संस्कार नभएको भन्छन् ।’ हाँसो बारेमा आफुले जानेको गुह्य रहस्य खोल्नुभयो ।
भिडियो कल गरिसकेपछि मैले आफ्नो बिहे बारेमा धेरैबेर सोचेँ ।
‘बिहे गर्नु न दिदी । झन् खोज्दिनी भन्नुभएको छ । मेरो पालामा त्यस्तो कस्ले भन्ला ?’ मेरो बिवाहको बारेमा चिन्ता गरेर टाउको दुखाउने र ज्यान सुकाउने हजुरबा, हजुरआमालाई के भन्नु ? उहाँहरुले भनेको नमानिरहनु ? मैले मान्नुपर्छ ।
मेरो प्लस टु पढ्दै बिहे भएको भए ? मेरो ब्याचलर नसकिदैँ बिहे भएको भएँ ?
मलाई धम्की या लोभ देखाईदिएको भए म बिहे गरिसक्ने थिएँ । कहिलेकाँही आफैँसँग प्रश्न गरिबस्छु, बिवाहको राजनीति नजान्दै बिहे भइसकेको भए...... । भान्सामै अल्झिएको भए.. मसँग बिवाह गर्ने पुरुष कति भाग्यमानी हुन्थ्यो । म उसका कुरा चुपचाप मान्थेँ । ऊ पनि मलाई माया गरेको नाममा घरका सारा कामधन्दाहरु जिम्मा लगाएर अफिसमा मस्त रहन्थ्यो । कहिलेकाँही अधिकार जताएर माग्ने सारी, गरगहनाको लागि उसले गर्ने अतिरिक्त मेहनत र अतिरिक्त कमाईमै म अल्मलिन्थेँ । उसले कमाएर पुर्याइदिने भएसी मैले कमाई रहनु परेन । कति रमाईलो ।
उसले भनेजसरी ंिसँगारिएर बस्थेँ । ऊ कति बेला आउँला र खाना खाउँला भनेर पर्खिबस्थेँ । जिन्दगी यस्तो पो हुन्छ । प्रीति यस्तो पो हुनुपर्छ त । जतिबेलै उसैको सम्झना । तरकारी पकाउन लाग्यो, उसलाई के मनपर्ला ? फेरि उसलाई मीठो लागेन भने ? हिजो ओछ्यानमा हुँदा मैले किन उसलाई ईन्कार गरे हुँला ? त्यस्तो गर्न हुन्न । आज ऊ आएपछि मीठो परिकारले उसको मन जित्छु । आखिर म उसैकी हुँ । उसलाई मन भएको बेलामा मैले मलाई तयार गर्न नसक्नु मेरो कमजोरी हो ।
‘ओछ्यानमा असन्तुष्ट पुरुषको नजर बाहिरतिर जान्छ । त्यहीँ भएर आफूलाई जहिल्यै समर्पित गर्नु । नाईँनास्ती नगर्नु ।’ हजुरीको कुरा सम्झिएर आत्मग्लानीले फतक्कै हुन्थेँ । कहिले बच्चाहरु हातमा खेलाउँदै महान् आमा बन्न सकेकोमा मख्ख पर्थे । मेरा बच्चाहरुको लागि मैले आफूलाई समर्पित गरेको छु । यिनीहरुको लागि दुख गरेको कुरा बुझ्लान् नि भन्दै मन बुझाउँथे ।
म मात्रै हो र ? सबैको वैवाहिक जीवन यस्तै त हो । बाहिरबाट हेर्दा चम्किलो भित्र कालो । पीडा र छटपटीका आँसुहरु । अहँ म यस्तो सोचेर पनि विद्रोह गर्दैनथेँ ।
‘पति भनेका भगवान् हुन् । पतिको सम्मान जहिल्यै गर्नु ।’ अरुहरुको अगाडि पतिको बारेमा कहिल्यै नराम्रो नबोल्नु । मलाई सिकाएको स्कुलिङको कारण पनि आफ्नो कुरा म सधैँ पटुकीमा पोको पारेर राख्थेँ । सहनशील बन्थेँ ।
म धेरै व्यवहारिक भईसक्ने थिएँ । प्रेम भनेर देखाउने पुरुषहरुको गुह्य रहस्य पनि बुझ्ने थिएँ । उनीहरुले कसरी प्रेमको नाममा आफ्नो अहमतालाई महत्व दिन्छन् भन्ने बुझ्ने थिएँ । म यी सबै कुराबाट अनविज्ञ छु । साँच्चै मैले किन विवाह गरिनँ ?
मेरा केही साथीहरु घर र अफिस भ्याएका छन् । कति जाँगरिला हुन् । तर उनीहरु मलाई फिटिक्कै मन पर्दैन । कस्तो दम्भ र उद्दण्ड स्वभावका छन् । यसो केही भईहाल्यो कि घरमा रडाको मच्चाउँछन् । हाम्रा आमाहरुले पनि घर र खेतबारी भ्याएकै हुन् । कहिल्यै चर्को स्वर सुन्न पाईएन । बुवाप्रति सधैँ कृतज्ञ । सधैँ सम्मान । सधैँ प्रेम । उनीहरु भने आफ्नै श्रीमान्को खेदो खन्न बेर लगाउँदैनन् । तँ भन्दा म के कम भनेर श्रीमान्सँग निहुँ खोज्छन् । डिभोर्सको धम्की दिन्छन् । कसले सिकायो उनीहरुलाई यस्तो उद्दण्ड बन्न ? किन चुपचाप सहन सक्दैनन् ? उनीहरुले आफ्ना बच्चालाई बुवाको बारेमा बताउनुपर्दा के भन्लान् ? त्यसले बच्चामा कस्तो छाप पर्ला बुवाप्रति ?
आमाको कारणले हामीले बुवालाई देवतासरी देख्यौँ । कहिल्यै नराम्रो गर्नै नसक्ने । गल्ती गर्नै नसक्ने अजिब प्राणी । हामी छोरीहरुका लागि पिता भनेका भगवान् सरह । त्यो सब आमाको कारण बाउले पाएको सम्मान थियो । आमाले बाउको कर्तुत खोल्न सक्थिन् । तर कहिल्यै खोलिनन् । सधैँ राम्रो राम्रो कुरा मात्रै सुनाईन् । बाउको डर मात्रै देखाईन् । बाउको हाउगुजीले गर्दा म आजसम्म बुवासँग दोहोरो कुराकानी गर्न सक्दिनँ ।
बुवाले यसको बिहे फलानो केटासँग हुन्छ भनेर ममीमार्फत मलाई सुनाएको भए...... मैले कसरी नाईँनास्ती गर्न सक्नु ? त्यसमाथि ममीले आँखाभरि आँसु पारेर तेरा बुवाले तेरो राम्रोको लागि भनेका हुन् । केटा खासाको छ भनिदिएको भए.... म आफ्नो घर भनेर लोग्नेको घर सम्हालिराख्थेँ । तीज र तिहारमा आउँदा ममीलाई सासुससुराको कुरा लगाउँथे । तर पतिको कुरा कहिल्यै सुनाउँदैनथेँ । म बरु मेरा पिताजस्ता पति पाउने कर्म रहेनछ भन्दै धिक्कार्थे । यसरी म पनि हजुरीकै उमेरमा पुग्थेँ ।
मसँग सुनाउन केही थान अनुभवहरु हुने थिएँ । पुरुषहरुको मानसिक चित्रण र विवाहले ल्याएको आर्थिक सुरक्षाको पाटोहरु हुने थिएँ । नभए बेलैमा पतिसँग अलग्याइएको अवस्थामा बच्चाहरु हुर्काउनको लागि गरेको संघर्षहरु हुने थिएँ । धेरै कुराहरु हुने थिएँ । विवाहले सबै कुरा दिएर कसरी आफ्नै जीवन पनि अरुमा समर्पित गरेर खुशी हुनुपर्छ भन्ने सिक्ने थिएँ ।
हजुरी मसँग सुनाउनको लागि मसँग केही छैन । तपाईँले मेरो बिवाहको चिन्ता किन यति ढिलो गर्नुभएको ? बुढी भईसकेँ म । यी केही कुरा थाहा नपाउँदै मेरो विवाह हुनपथ्र्यो । छोरा मान्छेले जे पनि गर्न सक्छन् । छोरी मान्छेले केही गर्न सक्दैनन् । धेरै भए, राम्री भएर सौन्दर्य प्रतियोगितामा भाग लिएर देश, विदेशका अवार्डहरु मात्रै पाउने हुन् । त्यसको लागि पनि भाग्य हुन पर्यो । राम्रो अनुहार र मिलेको शरीर, मापदण्ड अनुसारको उचाई हुनपर्यो । मेरो यस्तो भाग्य कहाँ ! पूर्वजन्ममा पापै गरिएको रहेछ । यो जन्ममा यस्तो कर्म भोगिएको छ । यस्तै भन्दै चित्त बुझाउने वाला थिएँ । दाजुभाई, बुवा, हजुरबुवा अनि बिहे गरेपछि बुढा, छोरा, ससुराको कुरा मान्ने थिएँ । उनीहरुले कोरिदिएको नियमको घेरा तोडेर बाहिर चियाउने आँट त परको कुरा । कल्पना पनि गर्न सक्ने थिइनँ ।
म साँच्चै मेरी आमाजस्तो किन भईन ? म मेरी हजुरीले भनेजस्तो ज्ञानी बन्न किन सकिनँ ?
मन त लाग्छ, म केही नबुझुँ । जति नबुझ्यो उति राम्रो । त्यत्ति सहज हुन्छ जिन्दगी । बुझेर विद्रोह गर्दैमा रातारात मान्छेहरुको मष्तिस्क र व्यवहार परिवर्तन हुने भए पो ? पढेका, बुझेका मान्छेहरु समानता र अधिकारका कुरा गर्छन् । असमान व्यवहार उनीहरु नै गर्छन् । केही राम्रा मान्छेहरु यसैको चपेटामा परेर संक्रमणकालिन अवस्थामा जिन्दगी बिताईरहेका छन् । महिलाले असल छन् भनेर विश्वास नगर्ने अनि पुरुषहरुले महिलाको लङ्गौटी धुने भनेर खिसीट्युरी गर्ने । आफैँमा संघर्षरत मनुवाहरु । कति होलान् ? कति दुख लाग्दो होला कसैले आफ्नो नमानिदिदाँ । आँखा चिम्लेर असल पुरुष सम्झन खोज्छु, आफ्नै बुवाको अनुहार झल्झल्ती आउँछ ।
मेरी आमाले आँखा चिम्लेर असल पुरुष सम्झिनुपर्दा आफ्नो पति सम्झनुहोला कि आफ्नो पिता ?
बिवाह गरे भने मैले असल भनेर मेरो बुढालाई भनुँला कि आफ्नो बुवालाई ?
साँच्चै मैले किन बिवाह गरिनँ ?
No comments:
Post a Comment