Wednesday, August 12, 2020

मन अनि शरीरको खेल

 


बिहानको पहिलो किरण पृथ्वीमा आईपुग्न आठ मिनेट १५ सेकेण्ड मात्रै बाँकी हुँदा फोन गरेँ । ढिलो गरि उसको फोन उठ्यो ।

‘मीठो निन्द्रा किन बिथोलेको ?’

मलाई सरी भन्नुपर्छ भन्ने कुराको ज्ञान पनि भएन । मैले आफ्नै धड्किरहेको मुटुमाथि हात राखेँ । उसलाई नराम्ररी चोट लागेको थियो । एकाबिहानै त्यसरी चोट सहनुपर्ला उसले सोचेकै थिएन । मष्तिष्क भने बाठो थियो । मान्छेहरु आफ्नो अपेक्षाअनुसारको व्यवहार गर्दैनन् भन्नेमा ऊ सचेत थियो । मुटु जहिल्यै बच्चाजस्तो गरेर आफ्नै जिद्धी गथ्र्यो र आँखालाई पनि भिजाइरहन्थ्यो । आँखा जहिलेपनि मुटुप्रति सहानुभूति देखाउँथ्यो । उसैलाई साथ दिन्थ्यो । मष्तिष्क छुट्टिन्थ्यो ।

‘वाहियात ! आफैँ अपेक्षा राख्ने, आफैँ दुख्ने ?’ उसले गिज्याउँथ्यो । मष्तिष्कलाई आफ्नै दम्भ थियो । ऊ जोडघटाउ, तर्कवितर्कमा विश्वास राख्थ्यो । प्रमाणित र कारणसहितका कुराहरु मात्रै ऊ स्वीकाथ्र्यो । कतिपय अवस्थामा ऊ आफ्नो अड्डी छोडेर नयाँ कुरा ग्रहण गर्न पनि अटेरी गथ्र्यो । भावनामा कहिल्यै नबग्ने र आफैँलाई सही प्रमाणित गरेर अभिमानमा मस्त रहन्थ्यो । मुटुलाई उसले जहिल्यै पिन्चे भनेर होच्याउँथ्यो ।

कोमल भएको कारण मुटुको अस्वभाविक धड्कनलाई ठीक बनाउन हातले बाहिरैबाट सुम्सुम्यायो । सासले गहिरोसँग वायुमण्डलको हावा फोक्सोमा भ¥यो । आँखाहरु टिलपिल टिलपिल भए । मुटुले के गर्ने ? भनेर सोच्न सकेन । मष्तिष्कले बल्ल उसको हालत देखेर दया गर्यो र अलिकति व्यङ्ग्य मिसिएको भावमा भन्यो–‘त्यसलाई किन फोन गर्नुपर्यो ? हातको पनि गल्ती छ । उसले फोन गर्न किन साथ दिन्छ ? आवाजले पनि साथ दिन्छ । उफ ्! कुरा के हो भने, कसैसँग पनि अपेक्षा राख्न हुँदैन । अबदेखि उसलाई फोन र म्यासेज केही नपठाउनु । आफैँलाई चोट पुर्याउने काम किन गर्न मनपर्छ तिमीलाई ? भन त मुटु । भन न ।’

मुटुले अबदेखि उसलाई फोन गर्दिनँ भनेर वाचा गर्यो । वाचा गर्ने काममा मुटु अगाडि छ तर उसले आफ्नो वाचा कहिल्यै पूरा गर्दैन । मष्तिष्कलाई मुटुप्रति विश्वास नै छैन । सानो कुरामा उध्धुमै खुशी हुने, सानो कुरामा उध्धुमै दुखी हुने कला मनसँग छ । मुटभित्र रहेको मनकै कारण मुटुको धड्कनमा उतारचढाव आइरहन्छ ।

मनले तत्कालै मष्तिष्कलाई खबर पठायो । ‘म पहिलेजस्तो झुठो वाचा गर्दिनँ तर उसलाई अबदेखि फोन भने गर्दिनँ । बिहानै उठ्नेबित्तिकै तिमीले पनि नसम्झाईदिनु । म्यासेज भने गरिरहन्छु । विस्तारै त्यो पनि नगरम्ला तर म अहिले नसक्ने वाचा गरेर आफ्नो वाचामा हार्न चाहन्नँ । यसको लागि तिमीले उसका यादको फोल्डर डिलिट गरिदेऊ न । त्यो फोल्डर डिलिट भयो भने कसरी उसलाई सम्झन्छु र ? तिमीले किन मलाई…..’

मष्तिष्क सबै दोष मनलाई लगाउँथ्यो । तर खासमा ऊप्रतिको प्रेमको छापहरु, पहिलो कुराकानी सबैसबै उसले सँगालेर एउटा फोल्डरमा सुरक्षित राखेको थियो । अनि मनले त्यस्तै केही सम्झनेबित्तिकै त्यो फोल्डर खुलिन्थ्यो । उसलाई यादको फोल्डर बनाउन आउँछ तर उसले सम्झनाका, दुखका फोल्डरहरु डिलिट गर्न जानेको छैन किनकी उसको बुवाले उसलाई सिकाएनन् । ऊ जन्मनेबित्तिकै उसको बुवा बितेको उसको अनुमान छ । ठ्याक्कै कुरा ऊ पनि जान्दैन । उसले कक्षाकोठामा पढेका कुराहरु भने डिलिट नगरेपनि त्यसलाई पढेका कुराहरुको टोकरीमा हालेको कारण त्यो टोकरी हत्तपत्त बाहिर आउन मान्दैनथेँ । बरु खेलेका कुराहरु नै बढी सक्रिय भएर मष्तिष्कमा आफ्नो राज जमाउँथे । पढेको कुराहरु मष्तिष्कको अन्तिम भागमा बसेको कारण पनि फ्याट्ट आइदिदैनथ्यो । कसैको दिमागमा भने पढेको कुराहरुका फोल्डर मष्तिष्कको अघिल्लो भागमा हुने हुनाले उनीहरु फरर पढेको कुराहरु मास्टरको अगाडि भन्न सक्थे । यसरी मान्छेपिच्छे मष्तिष्क पनि फरक छ । मनहरु फरक छ । यसको चर्चा पछि गरौँला है ?

‘मेरो निन्द्रा बिथोलिस् । भन्दैमा म किन दुखेको होला ? मनले मष्तिकलाई सोध्यो ।

अँ त नि । मैले किन आँसु झारेको हुँला ? आँखाले भन्यो ।

हात भने उनीहरुको वार्तालाप कापीमा उतारिरहेको थियो । मष्तिष्कले सबैलाई सम्झाउँदै भन्यो–‘फोन गर्ने पनि समय हुन्छ । एकाबिहानै सम्झिए पनि फोन गर्न हुन्न । दिउँसो पनि काममा व्यस्त रहन्छन् मान्छे अनि बेलुका सुत्नुपर्छ ।’

त्यसो भए फोन गर्नु गलत हो ? मनले सोधिहाल्यो ।

‘फोन गर्नु गलत होइन । सम्झनु गलत होइन । तर दुख्नु गलत हो । रुनु गलत हो । तिमी आज दुखी भएको कारण सबै निराश छन् । हिजो खुशीले बगेका रगतहरु पनि निराशाले भरिएर आफ्नो काम गरिरहेका छन् । उठाएन या उठाएर राम्रोसँग बोल्दैन भने किन दुखी हुनु ? हाम्रो ग्रुप कमजोर छ । त्यो सबै तिम्रो कारण हो । अब मन तिमी स्ट्रङ्ग बन्नपर्छ ।’ मष्तिष्कले भन्यो ।

‘कसरी ?’ मनले सोध्यो ।

‘केही पनि अपेक्षा नराख्नु । कसैसँग पनि ।’

मनलाई केही अपेक्षा नराख्ने कुनै अभ्यास थिएन । तर पेटलाई केही खानेकुरा चाहिएको कारण मनले टाउको हल्लायो । मष्तिष्कले नपत्याए पनि मन सुध्रन्छ कि भन्ने झिनो आशा देखायो । अनि खुट्टाहरु भान्छाकोठातिर लम्किए ।

No comments:

Post a Comment