https://shikshapatra.com/2020/10/10/89045?fbclid=IwAR1gDJ6Oxwx_qxCULtZzydSm11eupmLLAsB3M3rokELlkBEy1Kmh7MgvUTE ऊसँग मेरो राम्रो कुराकानी नभएको लगभग दुई महिना हुन लागिसकेको थियो। उसको यादले सताएर म कहिलेकाहीँ खाली–खाली पन्नाहरू उसै खाली खोलेर टोलाइरहन्थेँ। ऊसँग कुराकानी नै नहुने भएपछि म पूरा ‘शून्यमा शून्यसरी बिलाएँ’ भन्ने अवस्थामा पुगिसकेको थिएँ। ऊ मबाट नियोजित तरिकाले टाढिएको थियो।
एउटा मान्छे कसैलाई खोज्दैखोज्दै मेसेन्जरमा आइपुग्यो। अचेल मान्छे फेसबुक, इन्स्टा, ट्वीटर, भाइबरतिर भेटिन्छ। कहाँ चियापसल, खेतबारी, फिल्महलमा भेटिनु? उसको खोज म अनुभूति गर्न सक्थेँ। म पनि आफ्नो टाढिएको प्रेमी खोजिरहेको थिएँ। म्यासेन्जरवाला भने आफ्नी पूर्वप्रेमिकाका यादहरू खोजिरहेको थियो। पूर्वप्रेमिकासँग ठ्याक्कै मिल्ने कुनै सिंगल केटीको खोजमा थियो। हामी दुवै जोडी खोज्दै हिँडेका बेजोडी थियौं। हामीले आफ्ना स्मृतिमा रहेजतिका कुरा एक–अर्कालाई बाँडेर सकायौ। कति थोरै थिए हामीसँग भन्नुपर्ने कुराहरू। हामीले तिक्तताले भरिएको लामो जिन्दगी बाँचेको थिएनौं। बस् ! एउटा तिक्तता अझ भनुँ रिक्तता त्यही प्रेमको थियो। हामीले त्यतिबेलै अव्यक्त रूपमा एक–अर्कालाई स्विकार्यौं।
होइन, होइन। मैले मेरो मनको रिक्त पद भरिहाल्नका लागि उसलाई भनिसकेको थिइनँ। उसले भने मलाई थपक्कै बसाउन चाहन्थ्यो। म अझै ऊसँग भेटेरै इन्टरभ्यु लिन चाहन्थेँ।
त्यो एकदिनको कुराकानीपछि उसले मसँग यसरी व्यवहार गर्न थाल्यो, ऊ मेरो जन्मजन्मान्तरदेखिको प्रेमी हो। उसले ममा हक जमाइरहेको थियो। बिहान फोन, दिउँसो फोन, राति फोन। राति दश बजेपछि। बिहान चारचोटि। दिउँसो दुईचोटि। काम नपाएको आवारालाई म्यासेज रिप्लाइ गर्नुको दुर्गति भोग्नुपर्ने नियतिमै लेखिएको थियो क्यारे ! हरेक कुरामा स्पष्टीकरण। हरेक कुरामा डब्लूएच क्वेसन। अनि, ऊ मेरो हरेक व्यवहारलाई उसकी पूर्वप्रेमिकासँग दाँजेर ठिक–बेठिक भनिरहन्थ्यो। उसको पूर्वप्रेमिकाले बोलेकै शब्द बोलेँ भने एक पोइन्ट पाउँथेँ। उसले देखाएजस्तै रिस देखाएँ वा व्यवहार गरेँ भने एक पोइन्ट। यसरी मैले नचाहेरै पनि पोइन्टहरू पाइरहेँ। मेरो मौनतालाई उसले हक जमाउने स्वीकृति सम्झिएर पूर्वप्रेमिकालाई गर्ने व्यवहारको पुनरावृत्ति गरिरहेको थियो।
ठ्याक्कै उसकी पूर्वप्रेमिका जस्तै रहेछु म। रूपमा भने उसले मलाई थप दुई पोइन्ट दियो। मेरो प्रेमीले पनि मलाई संसारकै सुन्दर स्त्रीहरूमा परिभाषित गरेको थियो। मेरा काला कलेटी परिरहने ओठ मुस्कुराउँदा ब्रह्माण्डको रहस्य खुल्ने कुरा उसले मलाई भनिसकेको थियो। मलाई उसले अरूका अगाडि हाँस्न बन्देज गरेको थियो। मेरा आँखा संसार चिहाउने सबैभन्दा सुन्दर आँखामध्येमा पर्थे। मेरा हातका साना र मोटा औंलाहरू भाग्यको सुदर्शन चक्र लिएर उसको दुःख हरण गर्न जति बेलै तत्पर थिए। मेरा हातले अरूलाई स्पर्श गर्ने अधिकार थिएन। समग्रमा म कालोको प्रतिनिधित्व गर्थें भने ऊ गोरा जातिको। उसको शून्य जिन्दगीलाई मेरो उपस्थितिले अझै महत्त्वपूर्ण बनाएको थियो। ऊ मेरो साथमा भइन्जेल मैले शून्यको अगाडि रहने अंकको भूमिका निभाउनुपर्थ्यो। मलाई अंक बनाउने पनि उही थियो। ऊ मेरो साथले धन्य भएर आफ्नो मूल्य बढेको महसुस गर्थ्यो। ऊ खुसीका खुड्किलाहरू क्रमशः उक्लँदै थियो। ऊ मलाई पूर्णरूपमा आफ्नै बनाउन चाहन्थ्यो।
‘विवाह गर्यो भने प्रेम मर्छ रे। हामी विवाह नगरौं।’ उसलाई कसैले यस्तो सुनाइदिएको थियो। त्यो दिन ऊ भयभीत मुद्रामा मेरो अगाडि निरीह उभिरह्यो। हामी सधैं भेटिरहने पपकर्न कफीसपमा ऊ जड बनिरह्यो। म उसलाई तरल बनाएर प्रेममा सँगै बगाउन चाहन्थेँ। ऊ बच्चाजस्तै थियो जसले जे भने पनि पत्याइहाल्ने। धन्न, उसले ममाथि लाग्ने गरेका कुनै आरोपहरू पत्याएको थिएन। मैले उत्ताउलै पारामा गर्ने कमेन्टहरूलाई पत्याएको थिएन। बरु कहिलेकाहीँ अरूले गर्ने लब रियाक्ट र कमेन्टहरूबारे जिज्ञासा र चासो देखाउँथ्यो। म उसको शंकालाई दूर बनाइदिहाल्थेँ। उसलाई मप्रति पूरा विश्वास थियो। सुन्नलाई मैले पनि बिहे गरेपछि प्रेम मर्छ भन्ने सुनेको थिएँ। प्रेम गुमाउन तयार हुने कि उसको साथ? मलाई दुवै गुमाउने हिम्मत थिएन। उसलाई टाढा बनाउने मन थिएन।
‘त्यसो भए हामी कहिल्यै बिहे नगर्ने?’ मैले उसको मनको कुरा बुझ्नलाई सोधेँ।
‘अहँ नगर्ने।’ उसले मलाई दृढ भएर भन्यो। पहिलोपटक मैले उसलाई यति दृढ र दुविधारहित देखेको थिएँ।
‘हामीले बच्चा बनाउने भनेर गरेको वाचा?’ हाम्रो प्रेम मरोस् भन्ने त म पनि कहाँ चाहन्थेँ र ! म उसको प्रेमलाई आफ्नो पाठेघरमा जीवन दिएर हुर्काउन चाहन्थेँ। उसलाई वीर्यको महत्त्व बुझाउन चाहन्थेँ। उसलाई म सिर्जनाको सुन्दर फूल देखाउन चाहन्थेँ।
‘हुर्काउन सक्ने आँट छ?’ ऊ पहिलोचोटि पुरुष अहमताले बोलिरहेको थियो। मभन्दा आँटिलो कसले बनायो उसलाई? कसरी बन्यो ऊ एकाएक यति अटल? मेरो अगाडि आएर सधैं शिर झुकाइरहने ऊ त्यो दिन भने एकचोटि आँखा नझिम्क्याई बोलिरहेको थियो।
‘छ। किन नहुनु? मसँग बिहे नगरे नगर। तर मलाई तिम्रो बच्चा चाहियो। म आमा बन्न चाहन्छु।’
‘दुई वर्ष अझै कुर्नु अनि।’ ऊ हाम्रो प्रेमलाई बचाइरहन चाहन्थ्यो। प्रेमको जलप मलाई छ्यापेर ऊ सहरबाट अलप भयो। यसपछि म उसको यादमा बाँचिरहेँ। ऊ सहरबाट अलप भएको एक महिनासम्म कुराकानी गर्थ्यो तर फोटो पठाउँदैनथ्यो। कुराकानी सन्चो, बिसन्चो बाहेक माथिल्लो खुड्किलामा उक्लँदैनथ्यो। अति भएपछि म उसलाई भन्थेँ, ‘के पारा हो? मलाई तिम्रो याद आइराछ। भेट्न आऊँ कि म बिहे गरौँ?’
‘हुन्छ गर न। बिहे गर्न मन छ भने…’
‘म प्रेम गर्छु। बिहे गर्न मन छैन।’ प्रेमको कुरा गर्नेबित्तिकै ऊ आत्तिन्थ्यो। ऊ मेरो प्रेमको एकलौटी हक दाबी गर्न चाहन्थ्यो। मैले अरूसँग प्रेम गर्ने कुरा ऊ सुन्न चाहँदैनथ्यो।
‘चरी ! म आउँछु छिटै।’
‘साँच्चै आउने हो नि? उसोभए आई लभ यु।’
‘हस्।’ अरे, उसले यसरी भन्थ्यो कि मैले उसलाई फोन राख्न अनुमति दिइरहेको छु। म रिसाइदिन्थेँ। ऊ मुसुक्क हाँस्थ्यो र भन्थ्यो, ‘चरी, आई लभ यु टु।’ उसलाई फोन राख्न हतार नहुँदा म रिसाउने समय बढ्थ्यो। ऊ यसैलाई प्रेम सम्झेर भ्रामक जिन्दगी बाँचिरहेको थियो।
उसलाई फेरि कसैले सुनाइदियो।
‘प्रेम छ भने भेट्न, बोल्न जरुरी छैन। प्रेम हृदयमा हुन्छ। मुटुभित्र हुन्छ। बाहिर खोज्ने कुरा होइन।’ यहीँ दिनदेखि ऊ मसँग बोल्न छोड्यो। उसले यो सब हाम्रै प्रेमको लागि गरिरहेको थियो। ऊ मसँगको प्रेम फिटिक्कै घटोस् भन्ने चाहँदैनथ्यो। ऊ गहिराइमा अझै मलाई प्रेम गर्न चाहन्थ्यो।
‘चरी, मनमा लोभ, मोह, राग भइन्जेल त्यहाँ प्रेम हुँदैन रे। प्रेम हुनका लागि बुद्ध हुनैपर्छ रे। म तिमीलाई प्रेम गर्न चाहन्छु। मैले आजसम्म तिम्रो बाहिरी स्वरूपलाई प्रेम गरेँ। अब तिम्रो भित्री दिव्य चेतनालाई प्रेम गर्न चाहन्छु। मलाई बिदा देऊ। म फर्केर आउँदा अझै धेरै तिमीलाई प्रेम गर्ने गरी आउँछु र अझै तिमीलाई अनुभूत गर्न चाहन्छु। तिम्रो आत्मालाई प्रेम गर्न चाहन्छु। तिम्रो शरीरलाई होइन।’
उसले यति भनेर मेरो शरीरलाई यसरी ललकार्यो कि मैले त्यो दिन उसलाई परैबाट नियालिरहनुपर्यो। नजिक गएर उसका ओठहरूमा ओठ जोड्ने अनुमति थिएन। उसले त्यसलाई वासना भनेर बुझिसकेको थियो। ऊ मलाई प्रेम गर्थ्यो। नजानेर वासनामा मात्रै अल्झिएको थियो। सपनाबाट झस्किएर ब्युँझिएपछि प्रेमलाई पवित्र बनाउन ऊ लागिपर्यो। त्यसको लागि मन पवित्र बनाउनैपर्ने कुरा उसले बुझेको थियो।
हामी अन्तिम दिन खाना खाएर टौदह गएका थियौं।
‘हामीले सँगै कहिल्यै खाना खाएकै छैनौं।’ उसले मेरो गुनासोको उचित व्यवस्थापन गरेको थियो। हामी चारजना थियौं। उसका दुईजना साथीहरू आएका थिए। अझै साथीहरू आउनेवाला थिए। मेरो झर्कोफर्को देखेर उसले अरू साथीहरूलाई बोलाएन। दुईजना मात्रै खाना खाने भनेको उसले बीचबीचमा कमर्सियल विज्ञापनमा जस्तो साथीहरू बोलाइहाल्थ्यो।
खाना खाँदाखाँदै मलाई ऊसँग नजिक हुन मन लाग्यो। मैले केही भन्न लागेजस्तो गरेँ। उसले सुन्न लागेको जस्तो गर्यो। हामीले त्यो दिन एकअर्कालाई आफ्नो सास साट्यौं। त्यो दिनदेखि मेरो लामो सास छोटो–छोटो भयो। उसको छोटो सास लामो–लामो र गहिरो भयो। उसका साथीहरूले हेरिनभ्याउँदै हामीले आफ्ना मुटुभित्रको प्रेम एकअर्कामा घोप्ट्याइसकेका थियौं। मैले उसको थालमा पूरै दाल घोप्ट्याएको थिएँ। उसले मेरो थालमा पूरै काँक्रोको अचार घोप्ट्याएको थियो। हामीले एक–अर्काको मनमा त्यसरी नै प्रेम घोप्ट्याएका थियौं।
सागपात मात्रै खाने म त्यो दिन ननभेज खाना खान राजी भएँ । मासुजति सबै मैले खाएको थिएँ। हड्डी सबै उसको भागमा। उसले ती हड्डीहरू मासुभन्दा पनि मीठो मानेर खाएको थियो। उसको अनुहारमा मासुको एउटा चोक्टा पनि खान नपाएको असन्तुष्टि थिएन। बरु झुक्किएर परेको मासु पनि छुट्याएर मेरो भागमा हाल्दिन्थ्यो। मैले उसको भाग पनि खोसेर खाएकोमा अझ बढी सन्तुष्ट थियो ऊ। म उसको प्रेमले पग्लिरहेको थिएँ। प्रेम यति मीठो हुन्छ? यसरी जुठो साटासाट गरेर खाना खानुको मज्जा होलीमा रङ साटासाट गर्दा पनि भएको थिएन।
उसका साथीहरू खाना खानमै व्यस्त भएको ढोंग गरिरहेका थिए। उनीहरूले हामीलाई डिस्टर्ब गर्न चाहेनन्। उनीहरूमा मैले ऊसँग धेरै समय बिताओस् भन्ने सुन्दर कामना थियो। ऊ बुद्ध बन्न हिँडेको मान्छे फेरि नभेटिन सक्थ्यो। उनीहरूले यो कुरा बुझेका थिए। खाना खाएपछि उसका साथीहरू हतारहतार छुट्टिए। उनीहरू एक मिनेट पनि मैले कम साथ पाएको अनुभूति गर्न चाहँदैनथेँ। हामी सडकमा नारिएर हिँडिरहेका थियौं। ऊ मलाई सबैका अगाडि आफ्नो दाबी गर्न चाहन्थ्यो तर त्यो प्रेमबाहेक अरू केही हो भनेपछि उसले दाबी गर्न बन्द गरेको थियो। यदाकदा उसमा मप्रतिको मोहले टाउको उठाइरहन्थ्यो तर ऊ तुरुन्तै मोहको टाउको छिनाइहाल्थ्यो। ऊ आफ्नो मनका विकारहरूसँग राम्रैसँग सचेत बनिरहेको थियो।
गफ गर्दागर्दै पानी पर्यो। हामी टौदहको नजिकै एउटा रेष्टुराँमा बसेर दहको पानी नियालिरहेका थियौं। चिसोले लुगलुग कामेको मलाई उसले टाढैबाट आफ्नो ज्याकेट फुकालेर दियो। हामी पानी बिदा भएपछि त्यहाँबाट हिँड्यौं। उसले मलाई गाडी चढ्ने ठाउँसम्म छाडिदियो। उसको ज्याकेट मैले आफैंसँग राख्न चाहेको थिएँ तर उसले मलाई दुःख दिने स्मृतिहरू राख्ने अनुमति दिएन।
‘तिम्रो एक्स ब्वाइफ्रेन्डको बारेमा बताऊ न।’ म्यासेन्जरवालाले म्यासेन्जरबाटै हप्काइको स्वरमा मलाई अर्डर दिइरहेको थियो।
ऊ मेरो प्रेमीको एक अंश पनि थिएन। बरु उसलाई मैले कुनै राक्षससँग तुलना गरेको भए उसले पनि पोइन्ट पाइराख्थ्यो होला तर मैले त्यसो गरिनँ। मलाई तुलना नै गर्नु थिएन। हामी प्रेम गर्नकै लागि टाढा भएका आत्मा थियौं। कसरी म उसलाई डेट एक्स्पायर ब्वाइफ्रेन्ड वा प्रेमी भन्न सक्थेँ?
मैले खोजिरहेको साथ उसैको थियो। तर कहिल्यै नखोजेको म्यासेन्जरवालाले ल्याङल्याङ गरेको गर्यै थियो। कुन दिन बोलेछु म?
‘तिम्रो कुरा सुन्दा आनन्द आउँछ। गुरुमा।’ उसले मलाई म्यासेन्जरमा म्यासेज पठायो। उसले एक हप्तामा बल्ल आज एक पोइन्ट ल्यायो।
No comments:
Post a Comment