धेरै दिन भयो, उसको फोन कुरिरहेकी थिई उसले । म उसको छटपटी देखिरहेको थिएँ । देखेर नै के गर्न सकिन्थ्यो र ! बस्, हेरिरहन्थेँ । एकदिन ऊ साँच्चै खुशी देखिई । म उसको खुशीमा खुशी भईदिए ।
त्यो दिन उसको बिहेको दिन थियो । राम्री पनि चौपट्टै राम्री थिई । अझै त्यसमाथि बेहुली बन्दा उसको सुन्दरताले आकाश छोइरहेको थियो । अँ सुस्माले बिहे गरी ।
हामीहरुको सर्कलबाट ऊ हराई । ऊसँगै उसको छटपटी, खुशी, पीडा, उसको उन्मत्त हाँसो, केही भन्ने बित्तिकै अध्येरिने उसको अनुहार । सब हरायो । मान्छे हराउनु भनेको ऊसँग भएका सब चन्चलताहरु, गम्भीरता पनि हराउनु रहेछ । हाम्रो स्मृतिमा उसको अनुहारबाहेक सबथोक हराउँदै गयो । हामी पनि हाम्रो संसारमा हरायौँ ।
लेख्न मन पराईरहने एकजना मान्छेसँग म हराए । उसको लेखाईमा पग्लिएँ । उसको हेराईमा पग्लिएँ । उसको बोलीमा पग्लिएँ । अँ, यस्तो हुन सम्भव रहेछ । म उसको प्रेममा परेँ । उसलाई खुप प्रेम गरेजस्तो लाग्यो । उसले छाड्यो भने बाँच्न सक्दिनँ जस्तो लागिरह्यो । म आफु बाँच्न पनि उसलाई प्रेम गर्नैपथ्र्यो । र मैले उसलाई प्रेम गरिरहे । यसरी मैले प्रेम गर्दागर्दै ऊ एकदिन हरायो । जसरी सुस्मा हराएकी थिई ।
उसले बिहे गर्यो ।
यसपछि धेरैको बिहेको खबर सुनेँ । धेरै प्रेम कहानीहरु टुव्रिmएको सुनेँ । बिवाहपछि डिभोर्सका कारणहरु सुनेँ । अनि खुशी भएँ । संसारमा म मात्रै एक्लै छैन । मेरो मात्रै प्रेम सम्बन्ध टुटेको रहेनछ । जतिबेला पनि टुट्न सक्ने रहेछ सम्बन्धहरु । टुट्नकै लागि सम्बन्ध जोडिन्छ । यति जानेपछि मैले जिन्दगीमा बिहे गर्ने निर्णय गरेँ ।
बिहे गरेर हराएका मेरा कैयौँ साथीहरुझैँ म पनि हराउने भएँ ।
यसैबेला मेरो बिहेको खबर सुनेर सुस्मा मेरो घर आई ।
“सरिता ! तँ बिहे नगर ।”
“तिमारु बिहे गर्ने ? बच्चा जन्माउने अनि शानको जिन्दगी जिउने । मचाँही बिहे नगर्नु ।”
“म आफ्नो खुट्टामा उभिएको थिएँ । त्यत्रो बैँकको सानदार जागिर थियो । प्रमोसन भएर म्यानेजर हुने बेलामा बिहे गरेँ । अहिले लोग्नेको टोकेसो सुन्नपर्छ ।”
“अहिले जागिर खाए पनि त भयो । के बिग्रेको छ र ?”
“देखिनस् । पेटमा बच्चा छ । यसलाई हुर्काउन पर्यो । पढाउन पर्यो ।”
“आमा हुने भईछस् । बधाई छ । घरको म्यानेजर छदैँ छस् । किन बैँकको म्यानेजर हुनपर्यो ?”
“बिहे नगर भनेको हो क्यारे । मान्ने होइन । आमा बन्न मन छ भने बिहे नै किन गर्नपर्यो र ?”
“यति जान्ने रछेस् । तैँले किन गरिस् त नि । हेर, भन्न सजिलो छ । सक्छेस् भने कसरी बाँच्नपर्छ देखा । नभए तेरो सल्लाह तँसगैँ राख ।”
ऊ केही नभनी जुरुक्क उठेर हिडी । बिहे गरेसी मान्छेहरु कति जब्बर हुने रचन् । अरुबेला यति भनेको भए पिल्पिलाउन थालीहाल्थीँ । उसको साहस खुप मन पर्यो ।
“ओई, बिहेमा चाँही आइजो नि फेरि ।”
“नबोलाए पनि आउँछु ।”
मेरो बिहे भयो ।
म मेरो आमा हराएजस्तै, हजुरआमा हराएजस्तै, मेरा साथीहरु हराएजस्तै हराएँ । सुस्मा हराएजस्तै हराए । अपवादबाहेक हाम्रो ग्रुपका साथीहरु एकएक हराए सबै । अर्थात्............
सबले बिहे गरे ।
हामीहरु भान्छाकोठामा हरायौँ । बगैँचामा हरायौँ । घरभित्रको चारपर्खालभित्र हरायौ । लोग्नेको बिछ्यौनामा हरायौँ । मातृत्वकोे खुशीमा हरायौँ । लोग्नेको हेपाईमा हरायौँ । कहिलेकाहीँ, लोग्नेको मीठो छुवाईमा हरायौँ त कहिले सम्झनै मन नलाग्ने उसको व्यवहारमा । लुगा धुँदाधुँदै, भाँडा माझ्दामाझ्दै, हिन्दी सिरियलमा देखाईने घरझगडा, मायाप्रेम हेर्दाहेर्दै हरायौँ । अस्तित्वको दाबी गर्दागर्दै घरभित्र पसेपछि, बिहेको मण्डपमा बसेपछि नारी यत्तिकै हराउँदी रहिछे ।
अपवाद,एउटी अलग्गै मुटु भएकी प्राश्नाले बिहे गरेकै थिइन । ऊ कतै हराएकी थिइन । उसलाई खोज्यो भने सजिलै भेट्टाउन सकिन्थ्यो । ऊ कहिले टेलिभिजनमा आउँथी । कहिले पत्रिकाका पन्नाहरुमा सल्बलाउँथी । कहिले माइक लिएर मन्चमा झुल्किन्थीँ । कहिले पुरुषहरुसँगै सभा, गोष्ठीहरुमा भेटिन्थीँ । कहिले स्कुलका नानीहरुसँग भेटिन्थीँ । कहिले विश्वविद्यालयको कोठामा भेटिन्थीँ । कहिले लाईब्रेरीमा भेटिन्थीँ । कहिले हरिया डाँडामा भेटिन्थीँ । कहिले झरनामा भेटिन्थीँ । कहिले जनचेतना फैलाउँदै कर्णाली, रुकुममा भेटिन्थी । अर्थात्, ऊ हराएकी थिइन । ऊ एकदिन सासंद भवनको कुर्चीमा पनि भेटिई । नियम, कानुन बनाउने मन्त्रालयमा भेटिई । अर्थात्, ऊ हराएकी थिइन ।
हामी हराएकाहरु उसलाई देखाएर साना नानीहरुमा हिम्मत भर्न खोजिरहेका थियौँ । हामी हराए पनि उनीहरु नहराऊन् । अस्तित्वको दाबी गरुँन् भनेर सिकाईरहेका थियौँ । यसरी सिकाउँदा सिकाउँदै पनि मेरी छोरी हराई । मेरी छोरीजस्तै कैयौँ आमाहरुका छोरी हराए । छोरीहरु मात्रै किन हराउँछन् हँ ?
माइती गएको बेला आमाले सुनाउनुभयो । ‘तेरी साथी सुस्माले डिभोर्स गरिछ । माइतीको ईज्जत फाली । कस्ती नकचरी । त्यत्रो सम्पत्तिवालसँग बिहे गराईदिएका थिएँ । अझ त्यसको त लब म्यारिज हो क्यारे होइन ? आफैँल छानेको पोई पनि कसरी छाड्न सकेकी त ? सासुससुरा बेलैमा मरेका थिएँ । स्याहार्नु परेन । सुखले मात्तिएकी । हामीले कति दुख झेलेम् । अचेलकालाई जति सुख भए पनि नपुग्ने । न खेतबारी गोड्नुपर्ने भन्ने छ न सासुससुरा स्याहार्नुपर्ने । जाबो एउटा लोग्नेलाई रिझाएर बस्न पनि । भो, भो । कती मत्तु भएकी रहिछे त ।’
मेरो लोग्ने बैठककोठाबाट आउनुभयो । उहाँले प्राश्नाको बारेमा मेरी आमालाई सुनाउनुभयो । “आमा ! भो त्यस्ता बाईफाले आईमाईहरुको कुरा गरेर कहाँ सकिन्छ र ? उसकी साथी प्राश्ना अहिले मन्त्री भएकी छ । खै कुन हो मन्त्रीसँग चक्कर रहेछ । अब त्यस्ता नाठो खेलाउँदै माथि पुग्नेको के कुरा गर्नु । क्षमता हुनु नपर्ने रहेछ स्वास्नीमान्छेको त । रुप भए हुने । राम्री पनि चौपट्टै राम्री । बिहे गरेको भए, त्यो जति सुखी त को हुन्थ्यो होला र । अहिले महिला अधिकारका कुरा गरेर हिड्छे । त्यसलाई मन्त्री बनाउने पुरुष नै होइनन् र ? सर्पलाई दुध खुवाएपनि विष नै निकाल्छ भन्थेँ । हो रच । लोग्ने नपाएर छट्टाएकी । अब त उमेर पनि छैन । कसले लगोस् । अनि पुरुषको विरोध गर्दै हिड्छे ।”
घरभरि किताबहरु हुन्थेँ । टेबलमा पत्रिकाहरु असरल्ल हुन्थेँ । एकछिन फुर्सद भए पो पढ्न । त्यहीँ छरिएका पुस्तक र अखबारहरु सम्हाल्दैमा दिन जान्थ्यो । घरको काम न देखिन्छ । न सकिन्छ । एकछिन खाली पनि भईदैन । के गरिस् दिनभरि भन्दा केही न केही । यसरी घरमै हराईरह्यौ हामीहरु । धन्न सुस्मा यो हराईरहने ब्ल्याकहोलबाट बाहिर निस्किछ । कस्ती जब्बर भईछे । त्यस्ती पिन्चे पनि । त्योभन्दा त म आँटिली छु भन्थेँ साथीहरु । मेरो साहस कहाँ गयो हँ । केटाहरुलाई मर्ने गरी पिट्ने यी हातहरु लोग्नेको विरुद्धमा किन उठ्दैनन् । बुवासँग मुखमुखै लाग्न सक्ने म सासुससुरासँग किन ठाडो गरी बोल्न सक्दिनँ । बिहे गरेसी कति लाचार भएछु । ‘यो त कस्ती जब्बर छे । योसँग बिहे गर्ने केटाले कुकुरले नपाउनु दुख पाउँछ । म त गर्दिनँ तँसँग बिहे ।’ यस्तो भन्ने केटाले कस्तो सँग बिहे गर्यो होला । जति जब्बर भए पनि बिहेपछि नौनीझैँ पग्लनैपर्ने रच । अब मलाई पग्लिरहनु थिएन । घरभित्रै हराईरहनु थिएन । हेपाई सहिरहनु थिएन । सुस्माजस्तै जब्बर बन्न मन भयो ।
मैले डिभोर्स गरेँ ।
यसपछि हाम्रा ग्रुपका एक–एक साथीहरु डिभोर्स गर्दै बाहिर निस्किए । हामी एघार जनाको ग्रुप बाहिर निस्किएपछि फेरि भेट भयौँ । तर प्राश्ना भेटिइन । ऊ सधैँ अपवाद ।
हामीले हराएका वर्षहरुका कथाहरु साटासाट गर्यौ । हराउँदाको खुशी बाँडुम् भन्दा हामीसँग खुशीका केही कथा थिएनन् । बस् बिहे पछिको दुई, तीन वर्ष अनि आमा बन्दाको खुशी बाहेक अरु हराउँदाको खुशी केही थिएन हामीसँग । बरु हामीले दुखलाई स्वीकार्न सिकेका थियौँ । यस्तै हो... यसरी नै चल्छ भनेर चित्त बुझाउन सिकेका थियौँ । मनभरि दुख बोकेर पनि हाँस्न र अरुलाई खुशी बनाईरहने कला जानेका थियौ । हामीले हराउँदा यत्ति कुरा जानेका रहेछौ । तर नजानेका कुराहरु कति थिए, कति । अब सिक्नु छदैँ थियो । प्राश्नाझैँ उन्मत्त जिन्दगी जिउनु थियो । आफ्नै लय बनाउनु थियो ।
सुस्माले भने आफ्नो लय बनाईसकेकी थिई । उसले आफ्नै सिलाईबुनाई दोकान खोलेर बसेकी थिई । उसले हामीलाई पनि एक्लै बाँच्न सिकाई । आँट दिई । हामी छरिएर आफैँ केही गर्न खोजेकाहरु एक ठाउँ जम्मा भयौ । सुस्माको आँटले हामीले साहस बटुलिरहेका थियौँ । उसले हामीलाई आर्थिक स्वतन्त्रताको खुशीको अलिअलि झिल्कोहरु देखाईदिएकी थिई । हामी त्यहीँ झिल्कोले जिन्दगी पुरै उज्यालो बनाउने प्रयत्न गर्ने भयौ । आफैमा साहस भर्न सक्ने भयौँ ।
डिभोर्स गर्दा पाएको सम्पत्ति हामीले लगानी गर्ने निधो गर्यौ । तर डिभोर्स गर्दा जानुका र मन्दिराले केही पाएका थिएनन् । बरु शरीरभरि कहिल्यै नमेटिने दागहरु लिएर आएका थिए । दाईजो नपाएको निहुँमा मन्दिराले झण्डै गुमाएको ज्यान लिएर आएकी थिई । हामी यसरी बाहिर निस्किएका थियौ । सानो लगानीले हुने साबुन फ्याक्ट्री खोल्ने भयौ । मन्दिराले चटपट बनाएर बेच्छु भन्न थाली । हामीले उसलाई सहयोग गर्यौ ।
हामी यसरी नहराईकन जिन्दगी बाँच्ने बाटो आफैँले खन्दै थियौँ । सधैँ भेट्टिइरहने प्राश्ना भने हामीबाट हराएकी थिई । हामी भेट्टिदाँ ऊ कता हराई हँ ?
ऊ अखबारका पन्नाहरुबाट हराएकी थिई । ऊ मन्त्रीको कुर्सीबाट हराएकी थिई । ऊ साना नानीहरुको जिन्दगीबाट हराएकी थिई । ऊ बैठक, गोष्ठी अनि सभासमारोहबाट हराएकी थिई । टेलिभिजनको पर्दाबाट हराएकी थिई ।
सुस्माले खबर लिएर आई– “प्राश्नाले बिहे गरी ।”
हामी सबै उसले कोसँग बिहे गरी भनेर जान्न उत्सुक थियौँ । उसले मलाई देखाई र भनी– “उसले तेरो लोग्नेसँग बिहे गरी ।” म मुसुक्क मुस्कुराएँ । ऊ सधैँ अपवाद बनिरहन्छे है । “किन बिहे गरी उसले ।” जानुकाले भनी –“त्यसको खुशीको घडा भरिएर होला नि ।” “सबैभन्दा पहिले खुशीको घडा मेरो पो भरिएको रहेछ । त्यहीँ भएर डिभोर्स पनि मैले पहिला गरे । अब फेरि खुशीको घडा भरिन त गाह्रै छ ।” सुस्मा जिस्कने मुडमा देखिई ।
“तैँले मलाई किन बिहे नगर भनेकी । बिहे गरेपछि बुझेँ ।”
“तैँले मलाई बलियो बनाईस् । त्यसकारण डिभोर्स गर्ने आँट गरे । तैँले कसरी बाँच्नपर्छ , देखा भनेकी होइनस् । देखिस् नि कसरी बाँच्नपर्छ ।”
“डिभोर्स गरेर ।” सबै खुशीले चिच्याएँ ।
“डिभोर्स नगरी पनि जिन्दगी बाँच्न सकिन्छ मामु ।” काखमा बच्चा च्यापेर त्यस्तै बाईस,तेइस वर्षकी केटी हामी भए ठाउँ आईरहेकी थिई ।
“छोरी तँ । कहिले फर्किस् बैङ्लोरबाट ?” सुस्माले बोली ।
ऊ सुस्माको प्रश्न वेवास्ता गर्दै बच्चा खेलाउनतिर लागी ।
“अनि यो बच्चा ? कसको हो ?”
उसले बच्चालाई छातीमा टाँसी र भनी् –“मेरो । अरु कसको हुन्छ ?”
“कोसँग बिहे गरिस् ?”
रजनीले बीचैमा प्याच्च बोली– “बच्चाको लागि बिहे गर्नैपर्छ र ? हैन नानी ।”
“ठिक भन्नुभयो आन्टीले । मामु म गएको । म यतै बस्छु । भेट्दै गरम्ला नि । ल आन्टीहरु म गएको ।”
“के गर्छेस् काम ?”
“ह्या ! मामु पनि । कलेज पढाउँछु नि । तपाईको दुख देखेर नि बिहे गर्न मन भएन ।”
सुस्माले आँसु पुछि र भनी– “तैँले बहुत ठिक गरिस् । चियर्स ।”
उसकी छोरी पर पुगिसकेकी थिई । पछाडि फर्की र मुसुक्क मुस्कुराई । ऊसँगै उसको बच्चा मुस्कुराईरहेको थियो ।
No comments:
Post a Comment