Saturday, July 28, 2018

चलचित्र सन्जुः बायोग्राफी हुँदै नेपाल भित्रिएको बायोपिक





‘हरेक व्यक्ति आफ्नो जीवनको अन्त्यमा एउटा पुस्तक लेख्न चाहन्छन् वा लेखाउन चाहन्छन् ।’ कुनै बेलाका चर्चित पत्रकार तथा लेखक पुलित्जरले यो कुरा भन्दा उनले देखेको पश्चिमा समाज विकासको उत्कर्षमा पुग्दै थियो । हरेकले आफ्नो जीवनमा कुनै सफलताका स्वाद चाखेका थिए । अथवा दुर्दान्त घटनाका साक्षी भएका थिए ।
पश्चिमा विकसित देश पूर्वीय समाज जस्तो पुनर्जन्ममा विश्वास गर्दैन । यसैकारण उनीहरूका लागि एक जीवन नै महत्वपूर्ण छ र यही जीवनमा धेरै कुरा गरिसक्न चाहन्छ । सायद, पश्चिम विकसित हुनुमा यो विश्वासको पनि हात छ । यसै कारण हरेक मानिस आफ्नो आत्मकथा निस्कियोस् भन्ने चाहन्छ । वा आफ्नो जीवन अरूले थाहा पाउने गरी पुस्तक निस्कियोस् भन्ने चाहन्छ । पुलित्जरले यही समयको संकेत गरेका थिए ।आजभोलि पढ्ने फुर्सद छैन । फुर्सदलाई हेर्ने समयका रूपमा परिवर्तन गरिएको छ । यही कारण हिजो आत्मकथाले लिएको बजार अहिले क्रमशः बायोपिकहरूले लिन थालेका छन् ।
केही वर्षअघि अंग्रेजी पुस्तकको बजारमा आत्मकथाको जुन बाढी आएको थियो र त्यसले चर्चा कमाउँथे, अहिले त्यही चर्चा बायोपिकले लिन थालेको छ । यहाँसम्म ठिकै थियो, अंग्रेजी बायोपिकको लोकप्रियतासँगै बलिउडमा भित्रिएको बायोपिक व्यापारले त्यही कुराको संकेत गर्दै छ । सबैभन्दा ठूलो कुरा ती बायोपिकहरूले नेपाली दर्शकलाई पनि अत्यधिक प्रभाव पार्न थालेका छन् । भाग मिल्खा भाग, मेरी कोम, दङ्गल, एमएस धोनी हुँदै यो वर्ष सर्वाधिक हिट र चर्चित हिन्दी सिनेमा सन्जु यसको उदाहरण हो ।
  म एकदम थोरै फिलिम हेर्छु । तर, जसरी सन्जुका विषयमा लेखिन थालियो, यो फिल्म मैले नहेरी रहन सकिन । अर्थात मैले सन्जु चलचित्र हेर्नुमा नेपाली सेलिब्रेटीको हात छ ।
सन्जु सन् ९० को दशकमा उदाएका र हालसम्म पनि चलचित्र क्षेत्रमा आफ्नो प्रभाव जमाइरहेका नायक सञ्जय दत्तको जीवन कथामा आधारित बायोपिक हो । तर, जसलाई सञ्जय दत्त को हुन् ? भन्ने थाहा छैन । उसले हेर्ने भनेको कथावस्तु र प्रस्तुत गर्ने शैली हो ।
हामी एक्काइसौं शताब्दीको आसपास जन्मिएका युवा–युवतीलाई सञ्जय दत्त को हो खासै थाहा छैन । विशेषगरी नेपालका शहरी क्षेत्रमा जन्मिएका र अंग्रेजी विद्यालय पढेका पुस्ताका लागि सन्जु औसतभन्दा थोरै मात्र माथिको फिलिम हो ।
एउटा मान्छेको सिंगो जिन्दगी तीन घण्टामा देखाएर कहाँ सकिन्छ र ? जति सिनहरू देखाइएको छ ती सबै जीवन्त छन् । साथीले मलाई फिलिम सकिएपछि सोध्यो – सन्जुको रूपमा सञ्जय दत्त आफैँ खेलेका रहेछन् हगि । मैले मुसुक्क हाँसेर भनँे, सन्जु बनेको रणवीर कपुर हो ।
सन्जुमा बालमनोविज्ञान राम्ररी केलाइएको छ । एउटा बच्चाले के चाहन्छ भन्दा पनि पिताले आफ्नो बच्चाबाट के चाहन्छ भन्ने कुराले सन्जु पात्र धेरै समस्यामा परेको छ । सन्जुको साथी कमलेशले उसको बुबालाई भनेको एउटा डायलग छ – ‘उसलाई केवल सामान्य मान्छे हुँदै ठीक छ भनिदिनोस् । उसलाई सञ्जय दत्तमै ठीक छस् भनिदिनोस् । उसलाई सुनिल दत्त बन्नु नै छैन ।’
बच्चा केमा खुसी हुन्छ भन्दा पनि आफ्नो सपनालाई प्रेम गर्ने पिताको काहानी हो यो । सन्जुलाई सुनिल दत्तजस्तो बन्नु थिएन । फिलिम खेल्नु थिएन परन्तु बुबाका लागि उसले फिलिम खेल्यो । बच्चालाई प्रेम गर्ने कुरामा पिता चुकेका छैनन् । तर, बच्चाको मनोविज्ञान बुझ्न सकेनन् उनले । आफूजस्तै बनाउन खोजेका छन् जसकारण सन्जु लागुपदार्थको दलदलमा फस्यो । मन नपर्ने काम गरेपछि तनाव बढी हुन्छ नै । सन्जुलाई के मनपर्छ भन्ने कुरा बुझ्न सकेको भए ऊ ड्रगिस्ट बन्दैनथ्यो ।
साथी र साथीबिचको प्रेम हो सन्जु । असल साथी र खराब साथीको संगतले जिन्दगी कस्तो बन्छ भन्ने दस्तावेज हो सन्जु ।
किशोरवस्थामा आमाबुबाको कुरा कम साथीहरूको कुरा बढी सही लाग्छ नै । किशोरवस्थाले ल्याउन सक्ने जटिलताको काहानी हो सन्जु । सन्जुमा जीवनको बहुआयामिक संगतहरूले कस्तो प्रभाव पार्छ देखाइएको छ । साथीसाथी बीचको अति घनिष्ठताले पनि समस्या ल्याउन सक्छ भन्ने कुरा देखाइएको छ ।
चलचित्रमा मिडियाले कसरी एउटा सानो कुरालाई लिएर प्रश्नचिह्न दिँदै मसालेदार बनाइरहन्छ भन्ने देखाइएको छ । एउटा पिताले एउटा छोराका लागि कतिसम्म त्याग गर्न सक्छ देखाइएको छ । परन्तु उनले बाल मनोविज्ञान सुरुमै बुझ्न सकेनन् । बाबुछोराको प्रेम, साथीबीचको प्रेम, आमाछोराको प्रेम, श्रीमान्श्रीमतीको प्रेम, प्रेमीप्रेमीकाको प्रेम अनि जिन्दगीको संघर्षप्रतिको प्रेम देखाइएको छ ।
पहिलो प्रेममा धोका खाएपछि सन्जुलाई प्ले ब्वाई बनेको देखाइएको छ । हाम्रो समाजमा प्रायः यस्तै हुने गर्छ । सन्जुलाई लागुपदार्थ दिएर आफू ग्लुकोज खाने जुबिन भन्ने साथीले पछिसम्मै उसको पिछा छोडेको छैन । खराब साथीको संगतले कतिसम्म दुख दिनसक्छ भन्ने कुरा जुबिनबाट देखाइएको छ भने असल साथीले आफ्नै गर्लफ्रेण्डसँग रात बिताएको कुरालाई पनि माफ गरेर मित्रता कसरी बचाइरहन्छन् भन्ने कुरा कमलेशबाट देखाइएको छ ।
जिन्दगी सम्भावना नै सम्भावनाको खानी हो । चितामा नजलुन्जेल सम्भावनाको मृत्यु असम्भव छ । एउटा पिताले आफ्नो छोरो लागुपदार्थ दुव्र्यसनीबाट बाहिर निस्कनै नसक्ने अवस्थामा पनि उसमा सम्भावना देखिरहन्छ । यतिसम्म उसको रगत विषाक्त हुन्छ कि ऊ जिउँदो भएकोमा डाक्टर पनि छक्क पर्छन् । ऊ बाबुआमाको प्रेम र साथीको प्रेमका कारण दुव्र्यसनीबाट त निस्कन्छ । तर, फेरि अवैध हतियार लुकाएर राख्छ । यो कुरा उनकै पिताले थाहा पाएर छोरालाई कानुनको जिम्मा लगाउँछन् । आफ्नो छोरा भनेर गल्तीको ढाकछोप गर्नपट्टि लाग्दैनन् । यसबाट उनी कति कर्तव्यनिष्ठ र अनुशासनप्रिय छन् भन्ने कुरा देखाउँछ । तर, यता मिडियामा उनलाई आतङ्ककारी भनेर प्रचार गरिन्छ । उनको फिल्मी करियर सकियो भनेर प्रचार गरिन्छ । अहिले चटपटे समाचार त मान्छेले धेरै रुचाउँछन् । मिडिया आफू लोकप्रिय हुन् एउटा व्यक्तिलाई कतिसम्म गिराउन सक्छ भन्ने कुरालाई देखाउन फिल्म सफल छ ।
सन्जु आतङ्ककारी भनेर मिडियाले आरोपित गरिरहँदा उसकी श्रीमतीले उसलाई कलंकबाट निकाल्नका लागि गरेको प्रयास र सन्जुले आफ्ना बच्चालाई आतङ्ककारीको बच्चा बनाउनुभन्दा टुहुरो बनाउनु वेश भनेर आत्महत्या गर्न लाग्दा जोगाएर जिन्दगीलाई प्रेम गर्न सिकाउने श्रीमतीको उसप्रतिको प्रेमले गर्दा पनि सन्जुलाई जेलमा रहदाँबस्दा मलमको कम गरिरह्यो । दुःखमा अनवरत साथ दिने पिता, कमलेश साथी अनि श्रीमतीको प्रेमले उसले दुखलाई सेलिब्रेट गर्न सिक्यो ।
फिलिममा एउटा डायलग छ – “खासमा म तपाईको लायक छोरा थिइन । तर पनि अर्को छोरा भएको भए मैले जति माया गर्दैनथ्यो ।’ प्रेममा मान्छेले आफूले के चाहन्छु । आफू कसरी खुसी हुन्छु भनेर सोच्दैन । अरुको खुसी सोच्छ । पितालाई खुसी बनाउन सकिन भन्ने पश्चत्ताप छ सन्जु पात्रमा । असल पिताको असल छोरा हुन नसकेको पीडा छ सन्जुमा ।
सन्जुमा धेरै राम्रो हुँदाहुँदै पनि सन्जुको संघर्षलाई हास्यरसमा देखाइएको छ । मान्छे मर्दा लास चिन्न नसक्नु र हाँसेर माफी माग्नुले कहानीको असंवेदनशील पाटो पनि देखाएको छ । सन्जु भन्ने पात्र आफ्नै साथीको गर्लफ्रेण्डसँग रात बिताएर पछि साथीलाई तेरो गर्लफ्रेण्ड ठिक छैन भनेर केटीको चरित्र हत्या गरिएको छ । यौनलाई साँघुरो घेरामा बाँधिएको छ । यौनाङ्गलाई लगेर चरित्रसँग दाँजिएको छ । केटीहरूको स्वतन्त्रताको सम्मान गर्न सन्जु चुकेको छ ।
चर्चित नारीवादी लेखकहरूले सामाजिक सञ्जालको भित्तामा सञ्जुको प्रशंसामा खर्च गरिरहँदा यी कुरा किन देखेनन्, म छक्क परिरहेकी छु । नेपालीमा यस किसिमको दृश्य देखाउँदा ‘छक्का पञ्जा’ ले कति ठूलो बहस निम्त्याएको थियो भन्ने कुरा अहिले सम्झनामा आइरहेको छ ।
विदेशीले गरेको त्यही कुरा ठीक र नेपालीले गरेको त्यही कुरा गलत भन्ने मानसिकता पनि यसपटक राम्ररी नै देखियो । सायद, कुनै दृश्य देखाउँदा कति मर्यादित भएर देखाउनुपर्छ भन्ने कुरा सन्जुका निर्देशकले बुझेका थिए । त्यसमा छक्का पञ्जाकी निर्देशक दीपाश्री निरौला चुकेकी हुन सक्छिन् ।
केही वर्ष अघिसम्म चर्चित व्यक्तिका आत्मकथा लेखिनु नेपाली पाठकका लागि टाढाको कुरा थियो । आजभोलि धमाधम आत्मकथा लेखिदै छन् र ती बढी पढिने पुस्तकमा पनि पर्न थालेका छन् । हिन्दी बायोपिकको सफलता र नेपाली बायोग्राफीको चढ्दो बजार देखेर नेपाली निर्देशकहरू पनि बायोपिकमा फर्कने कुरा चर्चामा आउन थालेको छ ।
गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’बाट यसको सुरुवात भइसकेको छ । आचार्य चलचित्रको लज्जास्पद व्यापारबाट धेरै कुरा सिक्न सकिन्छ । तर, अक्कल नगरिकन विदेशीको नक्कल गर्ने परिपाटीबाट नेपाली चलचित्र क्षेत्र कहिले मुक्त हुन्छ, त्यो बेला नै नेपाली बायोपिकको पनि भविष्य सुरक्षित हुनसक्छ ।
२०७५ साउन १२ गते ११:३३ मा प्रकाशित

No comments:

Post a Comment