Thursday, April 23, 2020

'ट्याउँट्याउँ' त कोरोनापछि गरे भइहाल्यो नि !


योभन्दा अगाडि मैले लकडाउन डायरी लेखेको थिएँ । एघार दिनसम्मको । मलाई लागिरहन्छ, मैले जे लेख्न खोजिरहेको छु । त्यो म लेख्नै सक्दिनँ । महशुसमात्रै गर्न सक्छु ।बताउनको लागि कति कुराहरु छन्। सुनाउनको लागि कति कुराहरु छन्। तर यो समय केही बोल्नै सकिरहेको छैन। केही लेख्न सकिएको छैन। लेखिएको कुरा ठ्याक्कै महसुस गरिएकोजस्तो छैन।

बाह्रौ दिन
फेसबुकमा ट्रोलहरु हेरिरहेको छु। ट्रोल बनाउनेहरु, कार्टुन बनाउनेहरु, चित्र कोर्नेहरु कति अद्भुत हुन्छन्। एउटा या दुईटा शब्दमा सिंगो संसार बताउन सक्छन्। शब्दको ताकत त्यसको तुलनामा सधैँ कम्ति हुन्छ। किन होला? आइफोन हातमा हुँदैमा आइफोन खान मिल्दैनदेखि लिएर केपी ओली बिरामी भएदेखि कोरोना आयो भन्नेसम्मको कुरालाई ट्रोल बनाएर उडाएका छन्।
मान्छेहरु भान्सादेखि गीत, संगीतसम्मै व्यस्त छन्। हामी अव्यक्त प्रतिस्पर्धामा छौँ। कसले केके बनायो? कसको घरमा केके पाक्यो? कसले गीत गाउन जानेको छ? कसले नाच्न जानेको छ? वरिपरिका साथीहरुको बारेमा थाहा नभएको कति कुरा थाहा पाउन पाइएको छ फेसबुकबाट। धन्न। फेसबुक छ।
बहिनी किताब र्‍याकबाट किताब निकाल्दै पाना पल्टाउँदै छोड्छे। आजको दिन फेसबुक हेर्दैमा बित्यो। दिउँसो सुतियो।
कामले चापाचाप भएकै राम्रो।
यो कोरोना कहर कहिले सकिएला?

तेह्रौ दिन
बिहानदेखि बहिनीसँग बस्यो। उसले पनि अचेल दिक्क मानीसकी। निस्किम् न कतै। हामी खाना खाईवरी चोकसम्म पुग्यौँ। कति सुनसान। कति उराठलाग्दो।

‘दिदी ! यति सुन्दर रहेछ है यो बाटो? मान्छेहरुले रहेछ नराम्रो बनाउने? तर मलाई यति धेरै सुनसान पनि मन परेन।’
काठमाडौं यतिधेरै सुनसान पनि हुन्छ है? अचम्म लागिराछ। त्यस्ता खचाखच मान्छेहरु कता गए? गाउँमा गए कि? होइन, होइन। कतिले कोठाभित्रै बसेर हामी बाटोमा निस्किएको देखे होलान्। कति खाना बनाएर खुवाउनमै व्यस्त होलान्। कति हामीजस्तै बाहिर निस्कने पो सोच्दै छन् कि? अलिक पर पुगेपछि बहिनीले भनी– ‘योभन्दा उत गयो भने कोरोना लाग्छजस्तै लाग्यो। डर लाग्यो दिदी मलाई त। अब फर्किम्। कोही घरबाट बाहिर निस्केकै छैनन्।’

हामी मास्क नलगाईकन सडकमा निस्कने आँट गरेका थियौं। कतै पुलिस भेटियो भने? हो, हामी निस्कन नहुने हो। मन हो। मानेन। हामी हतारहतार फर्कियौँ। साबुनपानीले हात धोयौं। अनि कोठामा बस्यौं।
फेसबुक खोल्छु। मलाई भनेजस्तो लाग्यो– हामी नेपालीहरु घरभित्र बस्नपर्छ भन्दा पनि नमानेर बाहिर निस्कने अनि पुलिसको भाटा खाइयो। आज फलानो ठाउँमा पुगेर आइयो भनेर लेख्नुलाई बहादुरी ठान्छम् है। हामीले हाम्रो सुरक्षा नगरे कसले गर्छ।
अँ त, मन जे पनि भन्छ। मनको लहैलहैमा लागेर बाहिर निस्कन हुन्न। बाहिर निस्कन हुन्न भन्दै निस्कनेहरु कति होलान्? कम्तिमा यो पढ्दै गरेको तपाईँचाहिँ आजसम्म लकडाउनमै हुनुहुन्छ। भइराख्नोस् है।

चौधौं दिन
लकडाउन भएको दुई हप्ता भइसक्यो। अहँ अझै नखुल्ने भयो। कोरोना संक्रमित भेटिएको भेटियै छ। कोरोना परीक्षण गरे पो भेटिन्छ त? गर्नै डराएर नभेटिएको हो भनेर फेसबुकमा उडाइरहेका छन्। अरुबेला अफिसको कामले व्यस्त पुरुषहरु लकडाउनमा झन् व्यस्त देखिएका छन्। बिहानदेखि बेलुकासम्मै मुभी हेरियो। किताब पढियो रे ! खाना पकाइयो। करेसा गोडमेल गरियो भनेर किन नलेखेका होलान्?
धत् ! म पनि। त्यो त महिलाको काम पो हो। विद्रोह गर्न हुन्छ त यो बेला? कोरोनाको बेलामा? यहीँ पढेर मेरो विवाहीत दिदीले भिनाजुसँग निहुँ खोज्नुभयो भने के होला? माइती आउन पनि नमिल्ने? मिलेर पनि बस्न नसकिने? हुन्न। अहिले चुपचाप रहनुपर्छ। कम्तिमा कोरोना चुपचाप नरहुन्जेलसम्म। त्यसपछि ‘ट्याउँट्याउँ’ गरे भयो।
कोरोना चुपचाप भयो भने पुरुषहरु अफिस कुदिहाल्छन्। उनीहरुलाई श्रीमतीको, आमाको गनगनभन्दा हाकिमकै गनगन प्यारो लाग्छ। किन होला?
समय नदिने मलाई? भनेर दिक्क पार्ने श्रीमतीको अहिले फेरि गुनासो हुनपर्छ। यो बुढो कहिले अफिस जाला? यसरी घरमा सधैं बसेर कसरी खाने हो? यसरी बस्न पाए त रमाईलै हुन्थ्यो। तर, खान पनि पाउनुपर्‍यो। सधैं सँगै हुँदा मायाभन्दा बढी झगडै हुने रहेछ। यस्तो सोच्ने कति होलान्?
मेरो बिहे भएको भए म के सोच्थेँ होला? म पनि केके सोच्छु।
‘दिदी ! आउनु। म तपाईलाई राम्री बनाईदिन्छु।’
ओहो ! बहिनीले युटुब हेर्दै मेकअप गर्न सिक्दै रहिछ।
‘अब कलेज जाँदा राम्री भएर जाने हो। ब्वाइफ्रेन्ड बनाउन पर्‍यो दिदी अब। बोर भइयो।’
दिदीको अगाडि कस्तो लाजै नमानी भन्छे। अचेलको बच्चाहरु कस्ता हुन्।
‘ममी म ब्वाइफ्रेन्ड बनाउँछु है?’ ऊ फोनमा बोल्दै थिइ। उसको नजिकै गएँ। ममी फोनमा हाँसिरहनुभएको सुनें।
किन ममीलाई सुनाएकी होली? ममीले के सोच्नुभयो होला है?

पन्ध्रौ दिन
‘हामी लकडाउन खुलेपछि भेट्न पर्छ है।’ साथीहरु यस्तो भनेर म्यासेज पठाइराख्छन्। बच्चाबेलाका साथीहरुको रिक्वेस्ट एसेप्ट गरेँ। खोजीखोजीकन रिक्वेस्ट पठाएछन्। कति नबिर्सेका होलान्।
कोरोनाले हामीलाई विगतबाट भविष्यसम्मको कल्पनामा डोर्‍याइरहेको छ।
ग्याँस आधा दिन थालेका रहेछन्। पैसा पनि आधा तिर्न पर्ने होला त। खै? सोधिनँ मैले। हामीलाई अझै दुई महिना दुई दिनलाई पुग्ने ग्याँस छँदै छ।
आज राहत बाँड्दै आइरहेका थिएँ। राहतको लागि भनेर दिइने चामल प्लाष्टिकको चामल रहेछ भनेर फेसबुक लाईभमा कसैले देखाईरहेको थियो। कसैले फेसबुक लाईभबाट कविता सुनाउँछन्। कसैले देशको चिन्ता सुनाउँछन्।
आज कान्तिपुर पढें, सरकार र अस्पतालको लापरबाहीले मान्छेको ज्यान गएकोबारेमा। सामान्य रुघाखोकी र ज्वरो आउँदा पनि अस्पतालले भर्ना नलिने अवस्था छ। यो मौसम परिवर्तनको कारणले पनि हो नि !
मान्छेहरु डराउँछन्। उपचार नभएपछि ज्वरोले मात्रै पनि मान्छेको ज्यान जाँदो रहेछ।
यस्तो फेरि सुन्न नपरोस्।
बहिनीको एघारको परीक्षा सर्‍यो।

सोह्रौ दिन
यो लकडाउनले राम्रो भएको छ। हामीले जंकफुड खानै बिर्सियौँ। उसले फोनमा साथीहरुलाई सुनाउँदै थिइ। बिहानमात्रै उसले मलाई ‘जाम् दिदी ! हामी केक र आइसक्रिम खान’ भन्दै थिई। साथीहरुसँग बिर्से पो भन्छे।
म आज ऊसँग उसै झर्किएँ। उसले मलाई मज्जाले झपारी। कोठाभित्र ऊ र म छौं। उहीसँग बोल्न छोडे भने कोसँग बोल्नु? उसले डायलग मारीहाली– ‘भर्खर टिनएज लागिराछ। झर्कोफर्को गर्‍यो। फेसबुक चलाउँदै हुनुहुन्थ्यो। कसले के भन्यो? अरुको रिस मलाई ल्याएर पोख्ने?’
उसँग माफी मागें।
उसले यो डायरी भर्दै गर्दा फेरि जिस्काई– ‘यो उमेर यस्तै हो नानु। ठूलो मान्छेको कुरा केही मनपर्दैन।’ उसलाई मेरो डायलग सबै कण्ठस्थ भइसकेको थियो। कहिलेकाँही जिस्केर भन्थीं– ‘दिदी ! तपाई यति राम्रो हुनुहुन्छ भन्ने मलाई लागेकै थिएन।’
हामीले आफ्नाहरुलाई चिन्न पाएका छौं। शुभचिन्तक पाएका छौं। भाग्यमानी।
सबै भाग्यमानी कहाँ छन् र? कोठाभित्रै खान पाएर आफूलाई भुलाउन पाउनेहरु मात्रै भाग्यमानी हुन्।
कोरोनाले भन्दा पनि भोकले मरे भने उनीहरुको आत्माले झन् कति सराप्दो हो। त्यसै त सतीले सरापेको देश... ! सरकार छ। सरकारले भोकै मर्न त दिन्नँ। यस्तो बेलामा विश्वास गर्नुपर्छ।
समाचार लेख्नेहरु आफू रुन सक्छन्। उनीहरुले हामीसम्म खबर ल्याउन सक्छन्। तर त्योबाहेक के गर्न सक्छन् र? गर्ने त सरकारले हो। सरकारले मास्क पो लगाएको छ। हेडफोन कानमा कोचेर नाचिरहेको छैन क्यारे?
‘दिदी ! बत्ती निभाउनु न।’ बत्ती ननिभाई ऊ सुत्दै सुत्दिन।प्रकाशित : चैत्र २७, २०७६ १४:२६Go to link : (If you want )https://ekantipur.com/blog/2020/04/09/15864216816158819.html

No comments:

Post a Comment