लकडाउनले हाम्रो अर्थतन्त्र तहसनहस पारेको छ ।
कलकारखाना, व्यापार, व्यवसाय पहिलेकै अवस्थामा आउन कम्तिमा दुई वर्ष लाग्ने कुरा विभिन्न अध्ययनले बताएको छ । यो अवस्थामा कति कम्पनीहरुले आफ्ना कर्मचारीलाई तलब दिन नसकेर बिदाई गरेका छन् । कति टाट पल्टेका छन् । कतै आशाको सानो दियो छ भने हाम्रै मनभित्र छ ।
सरकार कविता लेखिबस्छ । चीन र भारत हाम्रो सीमा मिचिबस्छ ।
राष्ट्र नै धरापमा भएको देशमा....... ।
अबको हाम्रो अर्थतन्त्र कसरी अगाडी बढाउने ? हामी कसरी अगाडि बढ्ने भन्ने कुरा हाम्रो सहकार्यमा भरपर्छ । भुँईचालो होस् या नाकाबन्दी या लकडाउन या अरु केही विपत्तिहरु.... हाम्रो अर्थतन्त्र जबसम्म अरुप्रति आश्रित हुन्छ, हाम्रो हालत अझै खराब भएर जान्छ । हामीले ठूलो घर बनाउने, महङ्गो गाडी चढ्ने सपना छाडेर अर्थात विलासितालाई त्यागेर हाम्रो धरातलमा नओर्लिएसम्म हाम्रो स्थिति सुध्रनेवाला छैन ।
लकडाउन यो वर्षभरी लम्बियो भने के गर्ने ? सोच्नुभएको छ ? कि सोचेर आत्तिरहनु भएको छ ? हामी आत्तिदैमा स्थिति सुध्रनेवाला छैन । त्यसो भए अब के गर्ने त ?
अबको यात्रा.....
कोरोनाको कारणले बेरोजगारी संख्यामा बढोत्तरी आएको छ । पर्यटन व्यवसायमा लागेकाहरु अझै दुई वर्ष आफ्नो पेशामा फर्कन सक्ने छैनन् । फेन्सी, कस्मेटिक सामानहरुको व्यापार लगभग बन्द छ । होटल व्यवसाय पनि पहिलेजस्तै अवस्थामा आउन समय लाग्ने देखिन्छ । लकडाउन खुलेपनि मान्छेहरुसँग खर्च गर्नको लागि कहाँ छ र पैसा ? बचत गरेर राखेको पैसा निख्रिएको अवस्था हुन्छ ।
कति बिरामीहरु अहिले लकडाउनले गर्दा झन् मारमा परिरहनुभएको छ । बच्चा पेटमा भएका महिलाहरुको स्थितिबारे कतै बहस भईरहेको छैन ।
तपाईँ आफ्नै गाउँघरतिर बसिरहनुभएको छ भने त्यहाँ तरकारी उब्जनी गरेर बजारसम्म ल्याउनको लागि पहल गर्न सक्नुहुन्छ । ताकी शहरमा बस्नेहरु किनेर खान सकुँन् । हामीले अहिले सकेसम्म देशभित्र उत्पादन गर्ने र खपत गर्ने गर्नुपर्छ ।
लकडाउनपछि तपाईँ केही नयाँ गर्ने बारेमा सोचिरहनुभएको छ ? के गर्ने अलमल हुनसक्छ ।
अब निम्न व्यवसायहरु फस्टाउने सम्भावना देखिन्छ ः
१. कृषिसँग सम्बन्धित जुनसुकै व्यवसाय
जस्तैः मौरी पालन, तरकारी खेती, अन्नबाली, नगदेबाली, तेलहन, दालहन आदि ।
२.अनलाईन मार्केटिङ्ग
जस्तैः अमेजङ्गले गरिरहेको छ । कुनै फेसबुक पेज अथवा कुनै एप्स बनाएर हामीले त्यसमार्फत आफ्ना प्रोडक्टहरु बेच्न सक्छौ । या अरुको सामान लिएर चाहिएको व्यक्तिसम्म सामान पुर्याउन सक्छौँ ।
३. भिडियो इडिटिङ्ग÷वेभ पेज डिजाईनिङ्ग
अहिले कोरोनाको कारण मान्छेहरु प्रविधिसँग नजिक भएका छन् । फेसबुक, जुम लगायतका एप्सहरु चलाउनेको संख्यामा बढोत्तरी भएको छ । मान्छेहरुले पढ्ने सामाग्रीभन्दा पनि आकर्षक भिडियोहरुलाई रुचाएका छन् । युट्युब च्यानल खोलेर आफ्ना आईडियाहरु पनि बेच्न सक्नुहुन्छ । भिडियोग्राफी, फोटोग्राफी । यो पनि अर्को विकल्प हुनसक्छ । यसको लागि तपाईँले अनलाईनबाटै फ्रि कोर्स पनि लिन सक्नुहुन्छ ।
४. अनलाईन कक्षाहरु÷अनलाईन ट्युसन कक्षाहरु
तपाईँलाई पढाउनमा रुची छ भने अनलाईन कक्षाहरु सुरु गर्न सक्नुहुन्छ । जुन विषयमा तपाईँको दक्षता छ, त्यो पढाउन सक्नुहुन्छ । अहिले सरकारले संस्कृत कक्षा १ देखि नै राख्ने भनेपछि सबैको ध्यान संस्कृतले तानेको छ । तपाईँ संस्कृतको अध्ययन गर्नुभएको छ भने सुरुवात यहीँबाट गर्न सक्नुहुन्छ ।
५. मास्क, सेनिटाईजरको ब्यापार
मास्क र सेनिटाईजर सप्लाई गरेर पनि तपाईले आफ्नो आम्दानी बढाउन सक्नुहुन्छ । ब्यापार भनेको अवसर हो । जतिबेला जे बिक्छ, त्यहीँ बेच्न सक्नुपर्छ ।
६. विभिन्न नयाँ एप्सहरु बनाउने
हाम्रो आवश्यकता र चाहानाको छनोट गरेर एप्स बनाउन सक्यौँ भने त्यसले पनि भविष्यमा राम्रो प्रतिफल दिन सक्छ । जस्तैः ईसेवा, खल्ती आजभन्दा दश वर्षअघि अब यस्तो हुनसक्ला भनेर सम्भावनाको आधारमा बनाईएको थियो । अहिले लकडाउनको बेलामा सबैको साथी भएको छ । तपाईँले पनि कुनै नयाँ आईडियालाई यसरी नै स्थापित गर्न सक्नुहुन्छ ।
७. पशुपालन
हामीले बाहिरबाट आयात गर्नुको सट्टा नेपालमा ठूलो सेक्टरमा पशुपालन गर्न सक्यौँ भने यसको भविष्य पनि राम्रो छ । कुखुरा, खसी, माछा, भैँसी, बंगुर लगायतका पशुहरु पालेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।
८. विभिन्न जडीबुटीहरुको उत्पादन र बेचविखन
हामीले थोरै लगानीमा कुरिलो, घ्युकुमारी, हर्रो, बर्रो लगायतका जडीबुटीजन्य उत्पादन गर्न सकिन्छ । हामीले कृषिसँग आधारित रहेर उद्योगको रुपमा लैजान सक्यौ भने त्यसले तत्काललाई प्रतिफल नदिए पनि पछि राम्रो प्रतिफल दिन्छ भने हाम्रो अर्थतन्त्रलाई बलियो आधार प्राप्त हुन्छ ।
९.फलपूmल उत्पादन तथा जुस प्रशोधन
हामीले फलफूल उत्पादन गरेर बाहिरबाट आयात गर्न नपर्नेगरी आत्मनिर्भर हुनसक्यौँ भने हाम्रो देशको बचत धेरै हुन्छ र व्यापार घाटा पनि कम हुन्छ । अहिले पेप्सी, कोकोकोला जस्ता पेय पदार्थलाई विस्थापित गराउने गरी जुसको बिक्री वितरण गर्न सकेको खण्डमा स्वास्थ्य र अर्थतन्त्र दुबैलाई फाईदा पुग्छ ।
१०. नर्सरी
हामीले सजाउने फूल होस् या भ्यालेन्टाईनमा गिफ्ट गर्ने या कतै सभा, समारोह सजाउनको लागि चाहिने बिभिन्न फूलहरु बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिन्छ । नर्सरीमा तरकारीका बेर्नादेखि लिएर फूल, फलफूलका बेर्नासम्म राख्न सकिन्छ । तीन महिनादेखि छ महिनासम्मको तालिम लिएर आफैँले नर्सरी चलाएर राम्रो आम्दानी कमाउन सकिन्छ ।
११. स्वास्थ्य प्रबद्र्धन सम्बन्धी व्यवसाय
अहिले आएर मान्छेहरु पूर्विय दर्शनतिर आर्कषित भएका छन् । स्वस्थ रहनको लागि पूर्विय दर्शनमा योगदेखि लिएर आर्युवेद, ध्यान, सम्मोहन जस्ता कुरामा मान्छेको आर्कषण बढ्दो छ । तपाईँले आफूसँग भएको ज्ञानलाई कमर्सियलाईज्ड गरेर राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।
१२. वास्तुशास्त्र, ज्योतिषशास्त्र सम्बन्धी व्यवसाय
अहिलेको जमानामा मान्छेहरु फेरि प्रकृतितिरै फर्किरहेको अवस्था छ । वास्तुको कारणले पनि सफल र असफल हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ । मान्छेहरु अहिले आफ्नो जीवनशैली परिवर्तन गरेर प्राकृतिक जीवनशैली अपनाउँदै गरेका छन् । यसले गर्दा पनि वास्तुशास्त्रसँगको तपाईँको ज्ञान र लगाव छ भने अझै बढाएर यसबाट राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । त्यस्तै ज्योतिषशास्त्रप्रति मान्छेले जति विश्वास छैन भने पनि राशीफल देखेपछि मान्छेले नपढी बस्नै सक्दैन । मान्छेहरुलाई उचित परामर्श दिएर यसमा गुमेको प्रतिष्ठा फिर्ता ल्याउन सकिन्छ । कर्मकाण्डलाई त्यागेर वैज्ञानिक ढङ्गले ब्याख्या गरेको खण्डमा यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।
१३. मोबाईल तथा ल्याटप रिपेयरिङ्ग हाउस
अहिले धेरैजसोको हातमा मोबाईल र ल्यापटप हुन्छ । यसलाई बनाउनको लागि ठूला शहरमा धेरै सेन्टरहरु भए पनि तपाईँको नजिकै नहुनसक्छ । तपाईँले सस्तोमा गुणस्तरीय सेवा दिन सक्नुभयो भने प्रतिफल पनि राम्रो पाउनुहुन्छ ।
१४. अटोमोबाईल्स सेन्टर
अहिले गाडी, बाईकहरु जहाँतहीँ पुगेका छन् । बिग्रिएको गाडी मर्मतसम्भार गर्ने गरेर पनि राम्रो आम्दानी प्राप्त गर्न सक्नुहुन्छ ।
नेपालमा थुप्रै सम्भावनाका क्षेत्रहरु छन् । तपाईँको नोकरी गयो भन्दैमा या के गर्ने भनेर अल्मलिन पर्दैन । नयाँ नयाँ चुनौतीहरुले नयाँ सम्भावना पनि बोकेर आउँछ । हामीले सम्भावना हेर्ने हो । सम्भावनालाई पछ्याउने हो । समस्या त जहाँतहीँ हुन्छ, समस्या चिरेर अगाडि बढ्नुपर्छ ।
नेपालमा कृषि क्षेत्रमा लाग्नेहरुलाई सरकारले अनुदान पनि दिने गरेको छ । सामुहिक रुपमा ठूलो मात्रामा कृषिजन्य उत्पादन गरेर बजार प्रर्बद्धन गर्न सकेमा हाम्रो अर्थतन्त्र मजबुत बन्छ । जहिलेसम्म कृषि क्षेत्रको उपेक्षा गरिरहन्छौँ, हामी खानेकुरामै अल्झिरहनुपर्ने हुन्छ । धनी र गरिबको खाडल बढ्दै जान्छ । हुनेखानेले युरोप, अमेरिकाबाट पनि अर्डर गरेर पेट भर्लान् अनि नहुनेले ?
हामीलाई चाहिने आधारभूत कुराहरु हामीले नै उत्पादन गर्न सक्नुपर्छ । हाम्रो उत्पादनले हामीलाई पुग्नुपर्छ । यसको लागि सहकार्य आवश्यक छ । पहिलेजस्तो एक्लै गर्छु भनेर अगाडि बढ्न सकिने अवस्था छैन । मिलेर अगाडि बढ्यौँ भने सबैलाई फाईदा पुग्ने देखिन्छ ।
लकडाउनले गर्दा यहाँबाट विदेश जाने क्रम रोकिएको छ । पछि पनि रोकिन्छ । बाहिरबाट पनि मान्छेहरु आउँदैनन् । बरु विदेशमा रहेका नेपालीहरु नेपालमै फर्कने अवस्था छ । यो अवस्थामा सबैभन्दा बढी सम्भावना कृषि र कृषिसँग सम्बन्धित उद्योगसँग छ । यसैको प्रवद्र्धन र विस्तारमा लाग्नु आजको आवश्यकता पनि हो ।
हामीले जे काम गर्दा पनि अहिले अनलाईनलाइनलाई अर्थात ईकमर्सको माध्यमबाटै गर्नुपर्ने हुन्छ । प्रविधिसँग टाढिएर हामीले सोचेको सफलता प्राप्त गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्नुको साथै यसलाई ईकमर्ससँग पनि जोडेर सिधैँ कृषकबाट ग्राहकको हातमा पुर्याउन सकेको खण्डमा धेरे लाभ हुने थियो । हामीले यस कामको लागि पुलको काम गरिदिन पनि सक्छौँ । जहाँ जसरी पनि सम्भावना खोजेर अगाडि बढ्नु हो जिन्दगी ।
लकडाउन खुलेपछि यसको असर अझै टड्कारो रुपमा देखिनेछ । यसको लागि मानसिक रुपमा आफूलाई तयार गर्नुपर्छ । अकस्मात आएको परिवर्तनलाई स्वीकारेर अघि बढ्नुपर्छ । विपत्तिहरु आईराख्छन् । हरेक विपत्तिहरु हामीलाई अझ बलियो बनाउन आएका हुन्छन् । दुखी बनाउन र निराश बनाउन होइन । सकरात्मक बनौँ ।
If you want go to link :
No comments:
Post a Comment