
उसले मलाई फोन गरेन । म दुखी भइरहँे । लेखनमा निरन्तर लाग्नको लागि प्रेरणाको खाँचो हुन्छ । सायद ऊ हुँदैनथ्यो भने मैले ममाथि कहिल्यै विश्वास गर्ने थिइनँ । अनलाइनमा छापियो भने मलाईभन्दा पहिला उसलाई थाहा हुन्थ्यो । बधाई आउँथ्यो उसको तर्फबाट । म फुरुङ्ग पर्थेँ ।
तिम्रो लेख पढेको थिए । राम्रो त होइन, तर लेख्न नछाड है । उसले लेख्न नछाड भनेकै कारण नराम्रो भए नि लेख्न छाड्नुहुन्न भन्ने लाग्यो । नत्र अहिले यो लेख नलेखिन सक्थ्यो नि । म निराश भएर नलेख्दा उसले घचघचाइरहन्थ्यो । म फुर्किदा, अरुले फुर्काउन राम्रो लेखिस् भन्छन् । तिनीहरु तिम्रो शुभचिन्तक होइनन् भन्थ्यो । जे होस् उसको कुराले मलाई ब्यालेन्समा राख्थ्यो ।
सरी, म कतातिर बहकिएछु । नलेखेको धेरै भएको थियो । तैँले नराम्रो लेखिस् भनेपछि म दिक्दार भएको थिएँ । उसले त्यो महसुस गरेको हुनपर्छ । फोन गर्यो र भन्यो– ओई, तिमी लेख्न नछाड है । नछापिए पनि के भो र ? लेखिरहनु । उसलाई सोधेँ– के को बारेमा लेखुँ ? उसले एकछिन आलटाल गर्यो अनि भन्यो– ‘मिटु बारे लेख न ।’ ‘मतलब, के भनेको तिमीले ?’ ‘यहीँ के सेक्सुअल ह्यारेसमेन्टबारे । तिमीले कताकता यौन दुव्यवहार भोग्यौ । नडराई लेख । किन डराउने हो र ? खुलेर लेख है । पढ्ने हामी छौँ ।’ म फुरुक्क परेँ । तपाईँ मेरो ठाउँमा भएको भए पनि फुर्किनुहुन्थ्यो ।
कत्ति साहस भरिदिन्छ मलाई उसले । हुन्छ, म लेख्छु । मैले खुशी हुँदै फोन राखेँ । मान्छेले प्रशंसाको उन्मादमा सब कुरा भुल्दो रच ।
के लेख्ने त ? उसले भनेकै विषयमा लेख्नपर्यो । ह्यारेसमेन्ट त कति छ कति । कुन लेखुँ ? यो लेखुँ या त्यो लेखुँ ? अझै कति हुन बाँकी छ । कसबाट भएको लेखुँ ? अन्जानबाट भएको ह्यारेसमेन्ट लेखुँ कि आफ्ना नजिकका मान्छेबाट भएको लेखुँ ? यत्ति हो, पहिला ह्यारेसमेन्ट केलाई भनिन्छ, कसरी हुन्छ भन्ने थाहा थिएन । अहिले ज्ञान छ, त्यहीँ ज्ञानले विद्रोह गर्छ । दुःख मनाउ गर्छ, नभए ह्यारेसमेन्ट नभोग्ने र नगर्ने भयो भने बर्वाद हुन्छ । पितृसत्ता ढल्छ ।
नाम चलेको पत्रिकामा महिलाले के लेख्ने ? अन्तराष्ट्रिय नारी दिवस ‘मार्च ८’ मा नारी विशेष भनेर के निकाल्ने ? ह्यारेसमेन्टको बारेमा लेख लेख्नुस् न भनेर कसलाई भन्ने ? ह्यारेसमेन्ट भएन भने विभिन्न पत्रिकाले निकाल्ने साहित्य खुराकमा नारीले अनुभवमा के लेख्ने ? नारीले प्लेन उडाएको अनुभव लेख्न थाले भने बर्वाद हुन्छ । फेरि पुरुषले के लेख्ने ? पुरुषको अनुभव यो, महिलाको अनुभव यो भनेर छुट्याउने आधार नै ह्यारेसमेन्ट हो । ह्यारेसमेन्ट हुनपर्छ । लेख्नुपर्छ । सहनुपर्छ । बोल्नुपर्छ । पुरुषले नारीलाई सम्मान गर्छु भन्नुपर्छ । उच्च आदरार्थी शब्द प्रयोग गर्नुपर्छ । अनि एक्लै हुँदा ती सब कुरा भुलेर जवरजस्ती गर्नुपर्छ ।
म खासमा पुरुषको शुभचिन्तक हुँ । मलाई पुरुषहरूको खुब माया लाग्छ । हाम्रा हजुरबाउहरू, जिजीबाउहरू कति भाग्यमानी । अझै नि गाउँघरतिरका पुरुषहरू भाग्यमानी छन् । होइन, होइन । अचेल कानुन लाग्छ । एउटैमा चित्त बुझाउनुपर्ने भएको छ । वंशाणुगत गुण हुन्छ नि, एउटा पुस्ताबाट अर्कोमा सर्ने । तर यहाँ यो गुणलाई कानुनले जवरजस्ती दबाएको छ । अनि घरमा श्रीमती, बाहिर चारवटी । फेरि भेटिएका जतिलाई ह्यारेसमेन्ट गर्न पनि भ्याउनैपर्यो । कतिलाई ह्यारेसमेन्ट गर्नु जन्मसिद्ध अधिकारजस्तो लाग्छ । भेटिएका जतिलाई ह्यारेसमेन्ट गर्नै पर्ने जुनुन देखेर पनि पुरुषको सम्मान गर्नपर्छ जस्तो लाग्छ । पश्चिमतिर यो रोग हो । मनोवैज्ञानिक समस्या मानेर उपचार गरिन्छ तर हाम्रोमा पुरुषत्व मानेर पूजा गरिन्छ ।
महिलाको अनुभव उस्तै छ, जुन क्षेत्रको महिलाका पनि । उस्तैउस्तै अनुभूति पढेर दिक्क लागेन ? योगमायादेखि सुरु भएको महिला मुक्ती र समानताको लडाईँ हाम्रा दिदीपुस्ताबाट सरेर बहिनी पुस्तासम्म आइपुगेको छ । र पनि महिलाको गनगन उस्तै । समानता भएन, ह्यारेसमेन्ट गरियो, प्रोफेसनल लाइफमा बहिनी भनियो । तिमी भनियो महिला भएकै कारण तलबमा विभेद गरियो । फिल्म क्षेत्र होस् या पत्रकारिता, गायन होस् या शिक्षण पेशा ।
यो महिलामाथिको हिंसा, विभेद, सेक्सुअल ह्यारेसमेन्ट कमोडिटी जस्तो भइसक्यो । किनभने मार्केटमा यहीँ बिक्छ । बिकाउनकै लागि भए पनि महिलाको गनगन राख्नपर्यो । लेख्नेले वाहवाही बटुल्छ र छाप्ने पत्रिकाले पनि । पशुपतिको जात्रा, सिद्राको व्यापार ।
ओहो ! मैले मलाई भएको ह्यारेसमेन्टबारे लेख्छु भनेर पो फोन राखेकी । मलाई अहिले पनि याद आउँछ, हामी ६,७ कक्षामा पढ्दा विवाहको प्रकार बारे पढ्नुपथ्र्यो । केटा र केटीको उमेरमा पाँच वर्षको फरक भयो भने स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । १८ वर्षभन्दा मुनि बिहे गरे बालविवाह मानिन्छ । केटा र केटीको उमेरको फरक दश वर्ष वा सोभन्दा बढी भएमा अनमेल विवाह मानिन्छ । तपाईँहरुले नि यहीँ पढ्नुभयो नि हैन ? मैले कानुन पल्टाएर हेरेँ । कानुनमा अनमेल विवाहबारे कतै लेखेको भेटिनँ । तपाईले भेट्नुभएको छ भने भन्नुस् है । अनमेल विवाहले गर्दा पनि पुरुषलाई शक्तिशाली बनाएको छ । इतिहास साक्षी छ, पुरुषले आफ्नो शक्ति महिलालाई दुःख दिएर देखाए । कसले के बोल्ने ? जसको शक्ति उसको भक्ति । विवाहले भएको असमनता र दुव्र्यवहारबारे पछि कतै लेखम्ला ।
तपाई पुरुष हुनुहुन्छ भने आँखा चिम्म गरेर सम्झनुस् त, कतिलाई असहज हुने गरी सार्वजनिक बसको सीटमा ढसमस्स बस्नुभयो ? उभिदाँ कतिचोटी स्त्रीका स्तनले तपाईँको ढाडमा रगड्यो ? ओहो ! कति अप्ठ्यारो सम्झदाँ । तर त्यतिबेला रमाइलै मान्नुभएको थियो । अझ ढेप्पिनुभएको थियो । जवरजस्ती धकेलेर, छोएर भीडभाडमा थाहा नपाएजस्तो मजा लिइरहँदा त्यो केटी पन्छिएर टाढा गई है ? डरछेरुवा केटी.............
जिन्दगीमा पलपल जितेको महसुस हुन्छ है । जता मन लाग्यो उतै शक्ति प्रदर्शन गर्दै हिड्दा ? शिवलिङ्ग त्यहीँ भएरै पुजिएको हुनसक्छ । होइन भन्ने तर्क गर्नुभयो भने बताउनुस् है । नजानेको कुरा सिक्दै जानुपर्छ । कि कसैलाई छोइएला ? उसलाई अप्ठ्यारो होला भनेर आफैँ जोगिनुभयो ? कस्तो नामर्द तपाईँ । साथीहरुले बिल्ला उडाउँछन् तपाईँको । अस्ति के भनेका थिए ? विर्सनुभयो ? पाएको बेला नि छाड्ने ? लाछी ! कि छैन तेरो हँ ? शंकै लाग्छ ।
महिला हुनुहुन्छ भने आँखा नचिम्ली पढ्नु । आँखै अगाडि भइराख्छन् यस्ता घटनाहरू । कति पन्छनु, कति पन्छाउनु । दिक्क भएर रिन गरेर स्कुटी किन्नुभयो है ? फेरि सबै कहाँ तपाईँजस्तो भाग्यमानी हुनु । पन्छाएर, सहेर अगाडि बढ्नुपर्छ । यात्रा त गर्नु छदैँछ जिन्दगीको ।
मैले सेक्सुअल ह्यारेसमेन्टबारे लेख्ने ? उसले यहीँ भनेको हैन मलाई ? नो बेबी, यो हुनै सक्दैन । के तिमीले मेरो ठाउँमा तिम्रो भाइ, दाई वा केटा साथी हुन्थ्यो भने यहीँ भन्थ्यौ ? भन्दैनथ्यौ नि । भन, यो यौन दुव्र्यवहारबाहेक कुन विषयमा म कलम चलाऊँ ? यसो भनेर फोन गर्न मन थियो । उसँग झगडा गर्न मन थियो । बोलचाल बन्द भयो हाम्रो । मलाई त्यहीँ दिन महसुस भयो जसले यो हुनुहुन्न, विरोधको आवाज सशक्त पार्नुपर्छ भन्छन्, उनीहरुको बोली मात्रै हो । व्यवहारिकता र मानसिकता उहीँ । चेतनाले लेखन र बोलीमा फरक पार्दो रहेछ, व्यवहारमा नपार्न सक्छ । तपाईँ एकजनाले मात्रै ह्यारेसमेन्ट गर्नुभएन भने दश जना नारीहरूले सन्तोषको सास फेर्छन् ।
बोल्ने र लेख्ने केटीहरु खतरा हुन्छन् । बोल्दा विचार पुर्याउनुपर्छ । यसो केही भयो कि उध्धुम मच्चाउँछन् । खराब केटीहरू........
बोल्ने सचेत केटीहरूले तपाइँको व्यवहारको निगरानी राखिरहन्छन् । चित्त नबुझेको खण्डमा सिधै औँला उठाउँछन् । किनकी उनीहरुलाई ज्ञान छ, उनीहरूको शरीरमा सबैभन्दा पहिला हक उनीहरुलाई छ । बोलीबाट हुने दुव्र्यबार, बौद्धिक दुव्र्यवहार बारे पनि उनीहरुलाई ज्ञान छ । तपाईको व्यवहार र बोली फरक पर्नेबित्तिकै धावा बोलिहाल्छन् । कत्ति कुरा तपाईलाई थाहा नहुनसक्छ । किनकी तपाईले बुझ्ने कोसिस गर्नुभएन ।
नबोल्ने, चुपचाप रहने, जे गरे नि सहने केटीहरू अप्ठ्यारो हुँदा पनि केही भन्दैनन् । तपाईँ आफ्ना सारा कुण्ठा त्यहीँ निर्दोष केटीमाथि पोख्नुहुन्छ । किनकी तपाईँलाई विश्वास छ, उनीहरु कहिल्यै बोल्न सक्नेछैनन् तपाईको दुव्र्यवहार बारे । होइन, होइन, त्यस्तो नसोच्नु । तपाईहरू आफैँ सचेत रहनु, बुझिदिनु कि उनीहरूको पनि आत्मसम्मान हुन्छ, अधिकार हुन्छ समानता महसुस गर्न पाउने । यस्तो बुझेर उनीहरूसँग राम्रो व्यवहार गर्नु । ताकी उनीहरूको चेतना विस्तार भएर ह्यारेसमेन्ट बारे ज्ञान बटुले भने उनीहरूले महसुस गरुन्ँ, संसारमा असल व्यक्ति तपाई हुनुहुन्छ र हुनुहुनेछ ।
‘ओई केटी ! तिमीले लेखिसक्यौ ?’ उसले म्यासेन्जरमा म्यासेज पठायो । ‘म के लेख्ने भनेर अलमलिराछु ।’ ‘लौ, कपाल काटेको अनुभव लेख न । कपालबारे छापिएको थियो नि सम्पदा रिजालको आर्टिकल । त्यसबारे कति प्रशंसा गरिराथे यहाँ केटाहरु । तिमी लेख्न प्रयास गर न । सक्छ्यौ । ल केटी, लेख है ।’
मलाई झनन्न पारा छुटिहाल्यो । मैले त्यस दिन प्रतिकार गरिनँ । के अरु विषयमा महिलाले लेख्नै हुन्न ? एकाध महिलालाई छाडेर धेरैजसो महिलाको लेख गनगनले भरिएको हुन्छ । महिला भएकै कारण भोग्नुपरेको विभेदबारे । महिलामा हुने शारीरिक परिवर्तनबारे, महिला सशक्तिकरणबारे यस्तै..... । यो बारेमा सरीता तिवारी, सीमा आभास, सावित्री गौतम लगायत धेरैले निरन्तर आवाज उठाइरहनुभएको छ । मैले यसरी भन्न सक्नु पनि उहाँहरूकै कारणले हो । हामी आवाज उठाउन मात्रै सक्छौँ । यस्तो आवाज बन्द गराउन तपाईँले सक्नुहुन्छ । अब मेरा बहिनीहरूलाई सेक्सुअल ह्यारेसमेन्ट हुन्थ्यो भन्दा एकादेशको कथा लागोस् । कथा टुङ्ग्याउने की नटुङ्ग्याउने तपाईकै हातमा छ । नत्र गनगन फेरि सुरु भइहाल्छ ।
No comments:
Post a Comment